गए धनको आसमा, फर्किए बाकसमा

गए धनको आसमा, फर्किए बाकसमा

काठमाडौं : कञ्चनपुर शुक्लाफाँटा–१२ तिल्कीपट्टीका राजेन्द्र चौधरी सात वर्षअघि १९ वर्षकै उमेरमा मलेसिया गएका थिए। उनको उतै माघ १६ गते सवारी दुर्घटनामा निधन भयो। सरकारले राजेन्द्रको शव बुधबार ल्याइदिएको छ।

‘घरको आर्थिक अवस्था मजबुत बनाउँछु भनेर छोरो विदेश गएको थियो। यसरी बाकसमा पो आयो। यसको क्षतिपूर्ति सरकारले देओस्’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोराको शव भएको बाकस उठाउँदै चिप्पु चौधरीले भने, ‘हामी गरिबको जीवनको कुनै टुंगो नहुने रहेछ। जहाँ गए पनि दुःखै दुःख।’

गोरखा गण्डकी गाउँपालिकाका अनिल गुरुङ एक दशकअघि मलेसिया गएका थिए। डेढ महिनाअघि उतै निधन भयो। तर, कम्पनीबाट भागेर अन्तै काम गरेका कारण शव ल्याउन समय लागेको आफन्त टकबहादुर गुरुङले बताए। त्यसका लागि परराष्ट्र मन्त्रालयलाई हारगुहार गर्नुपरेको थियो। टकबहादुर बुधबार दिउँसो अनिलको शव बुझ्न विमानस्थल पुगेका थिए।

यी दुई जनासहित मलेसियामा विभिन्न कारणले निधन भएका ९ जनाको शव बुधबार ल्याइएको छ। अन्य मृतकमा रामकुमार प्रजा, यमबहादुर कार्की, छोटन पासवान, बुद्धिराम खत्री, अकबर मियाँ, केन्द्रा राई, भीमबहादुर तामाङ छन्। कतारबाट एक जनाको शव नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले बताए। 

वैदेशिक रोजगार बोर्डले यीमध्ये आठ जनाको मात्रै तथ्यांक राखेको छ। दुई जनाको श्रमस्वीकृतिको अवधि सकिएको पाइएको बोर्डका अधिकारी बताउँछन्। अवैधानिक भएका श्रमिकको रेकर्ड बोर्डले राख्दैन। यस्ता व्यक्तिका परिवारले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्।

बोर्डका अनुसार २०७८/७९ को माघसम्म ४ सय ४० जनाको शव ल्याइएको छ। ५४ वटा ल्याउन बाँकी छ। सबैभन्दा धेरै साउदी र मलेसियामा अड्किएको छ। मलेसियाबाट १ सय ५३, साउदी अरेबियाबाट १ सय २६, कतारबाट ७३, यूएईबाट ४६, कुवेतबाट २५, बहराइनबाट ८ जनाको शव नेपाल ल्याइएको छ। जोर्डन, रोमानिया र कोरियाबाट २/२, उज्बेकिस्तान, ओमन र क्रोसियाबाट १/१ वटा शव ल्याइएको हो। 
बोर्डका अनुसार साउदीबाट शव ल्याउन प्रक्रिया सुरु गरेदेखि तीन महिनाभन्दा बढी लाग्ने गरेको छ। कानुन जटिल हुँदा अन्य देशभन्दा साउदीबाट शव ल्याउन सकस पर्ने गरेको छ। मलेसियाबाट पनि शव ल्याउन केही ढिलाइ हुने गरेको पाइएको छ।

बोर्डका अधिकृत आशिष भण्डारीका अनुसार साउदीबाट शव ल्याउन तीनदेखि १७ महिनासम्म लाग्ने गरेको छ। ‘सामान्यतः साउदीबाट तीन–चार महिनामा शव आउँछ’, भण्डारी भन्छन्, ‘हत्याको केस भए धेरै लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा समय लाग्छ।’ उनका अनुसार हत्या घटनामा पोस्टमार्टम गर्न समय लाग्छ। अरू देशबाट भने सातदेखि २० दिनभित्र शव ल्याइने गरेको छ। 

२०७७/७८ मा १ हजार २ सय ४२ नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांक छ। यस हिसाबले औसतमा दैनिक तीन जनाको मृत्यु हुने गरेको छ। श्रम स्वीकृति नभएका कामदारको निधन भए बोर्डलगायत कुनै पनि निकायले तथ्यांक राख्दैनन्। श्रमस्वीकृति नलिई गएका, ओभरस्टे भएका, कम्पनी छोडेर भागेका, अलेखबद्ध कामदारको पनि दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको 
सरोकारवाला बताउँछन्। 

श्रम स्वीकृति नलिई विदेश गएका नेपालीको उद्धार तथा मृत्यु भइहाले शव ल्याउन सरकारले पहल नगरेको बताउँछन् एनआरएनए उपाध्यक्ष डा. बद्री केसी। ‘हामीले गन्तव्य देशका राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरेर अलपत्र परेका कामदारको उद्धारका साथै पैसा उठाएर शव ल्याउन सहजीकरण गरिरहेका छौं’, डा. केसी भन्छन्। बोर्डका उपनिर्देशक दिनबन्धु सुवेदी वैदेशिक रोजगारीमा हुने निधनको तथ्य पत्ता लगाउन नसकिएको बताउँछन्। मृत्युका कारणका साथै कुन क्षेत्रका व्यक्तिको मृत्यु भइरहेको छ भन्ने विषयमा बोर्डले अध्ययन गर्ने योजना बनाए पनि सकेको छैन। 

श्रमविज्ञ डा. गणेश गुरुङ सरकारले मृत्युको पहिचान गर्न चासो नदेखाएको बताउँछन्। ‘शव पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न सकेको छैन’, डा. गुरुङ भन्छन्। पोस्टमार्टमको व्यवस्था गर्न सके मृत्युको वास्तविक तथ्य पत्ता लाग्ने उनी दाबी गर्छन्। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ वैदेशिक रोजगारीमा निधनको कारण पत्ता लगाउन मन्त्रालयमार्फत ५ वर्षे कार्ययोजना बन्दै गरेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.