रुट फेरेर मानव तस्करी
काठमाडौं : सरकारले भिजिट भिसामा कडाइ गरेपछि रुट परिवर्तन गरेर भारतको बाटो हुँदै मानव तस्करी गरेको पाइएको छ। भारतको बाटो हुँदै खाडी मुलुकमा तस्करी भइरहेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।
‘भिजिट भिसामा कडाइ गरेपछि भारत जाने नेपालीको संख्या ह्वात्तै बढेको छ’, उनले भने, ‘तस्करले भारतको बाटो रोज्न थालेका छन्।’ सेटिङ मिलाएर भिजिट भिसामा खाडीलगायत मुलुक जाने र उतै काम गर्ने गरेको पाइएको छ। आकर्षक रोजगारीको प्रलोभनले तीन/चार लाख रुपैयाँसम्म तिरेर भिजिट भिसामा जाने गरेको अध्ययनका क्रममा भेटिएको छ। अध्यागमन कार्यालयले एक महिनायता १ सय ५० बढीलाई फिर्ता गरेको छ। शंकास्पद देखिएकालाई फिर्ता गरिएको विभागका महानिर्देशक भट्टराईले बताए। ‘मापदण्डभित्र परेका बाहेक अरूलाई जान प्रतिबन्ध लगाइएको छ’उनले भने।
भिजिट भिसाका नाममा हुने मानव तस्करी रोक्न सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ। गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ। ‘कार्यदलले अध्ययन गरिरहेको छ,’ संयोजक पोखरेलले भने । श्रम मन्त्रालयले पनि भिजिट भिसामा गएर अलपत्र परेकालाई उद्धार गर्न चासो देखाएको छ। संस्थागत भिजिटमा गएका २२ जना र व्यक्तिगत गएका ४३ जनाको उद्धार गरेको मन्त्रालयले जनाएको छ। त्रिपलस्टार इम्पोइमेन्टबाट गएका १२ मध्ये ८ जना स्वदेश फर्काइएको छ। अन्य चार जना स्वच्छाले उतै बसेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव विष्णु लामिछानेले मानव तस्करी तथा ठगी नै भएकाले कडाइ गरिएको बताए। ‘पीडितलाई फसाउने म्यानपावर, एजेन्ट मात्र नभई नातेदार पनि छन्’ उनले भने। भिजिट भिसामा गत वर्ष ८१ हजार यूएई गएका छन्। त्यसमध्ये अधिकांश कामकै लागि गएको सरकारी अनुमान छ। ‘उनीहरूलाई उतै व्यवस्थापन गर्ने कि फर्काउने चुनौतीको विषय बनेको छ’ श्रम प्रवक्ता डण्डुराज घिमिरेले भने।
युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरिएको छ। यसमा तस्कर, म्यानपावर व्यवसायी, प्रहरी तथा अध्यागमन विभागलगायतको मिलेमतो हुने गरेको खुलेको छ। श्रमस्वीकृति नलिई पठाउँदा सहज हुने भएकाले तस्करले यो विधी रोजेका हुन् । वैदेशिक रोजगार ऐन आकर्षित नहुने हुँदा भिजिटमा गएकालाई राहत दिन कठिन हुने श्रम मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !