वीरगन्ज महानगरको कांग्रेस सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा
वीरगन्ज : मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको कांग्रेस नगरसभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । जारी कांग्रेस वीरगन्ज महानगर अधिवेशनमा नगरसभापतिका लागि राधेश्याम चौरसीया , दिपेन्द्र चौहान र मणिन्द्रलाल नेपाली गरि ३ जनाको उम्मेदवारी परेको छ ।
चौरसीया , नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य , चौहान नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव र नेपाली, नेविसंघ पर्साका पूर्वसभापति हुन् । चौरसीया र नेपालीले आ-आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका हुन् भने चौहानले एक्लै सभापतिमा उम्मेदवारी दिएका हुन् ।
चाौरसीया, संस्थापन पक्षका कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल र अजय चौरसीया निकट छन् । सभापतिका अर्का उम्मेदवार नेपाली भने संस्थापन इतर पक्षका जिल्ला सभापति अजय द्धिवेदी र पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्य निकटका हुन् ।
चौरसीयाको प्यानलबाट दुई पदको उपसभापतिमा विजय सिंह र सरजुग महत्तो, दुई पदको सचिवमा धिरज गुप्ता र श्यामकुमार प्रसाद कुर्मी तथा दुई सहसचिवमा दिपककुमार साह र सज्जाद हुसेनको उम्मेदवारी परेको छ । यसैगरी नेपालीको प्यानलबाट उपसभापतिमा सन्तोष गुप्ता र वीर भुषण पटेल, सचिवमा सन्जय श्रीवास्तव र शीवचन्द्र प्रसाद यादव तथा सहसचिवमा जइन्द्र पटेल र शम्शाद अलीको उम्मेदवारी परेको छ ।
मतदान , वीरगन्जको आदर्शनगरस्थित बालमन्दिर परिसरमा शनिबार बिहान ९ बजेदेखि सुरु हुनेछ । कांग्रेस वीरगन्ज महानगरको अधिवेशनमा ५ सय २६ जना मतदाता रहेको कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !