धरानमा खानेपानीको हाहाकार,ट्यांकरबाट ढुवानी गरेर पानी वितरण गर्दै वडाध्यक्ष
धरान : एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरान उपमहानगरपालिकाले सुरु गरेको एक अर्ब ७१ करोड रुपैयाँको धरान खानेपानी आयोजना निर्माण अलपत्र हुँदा धरानमा खानेपानीको हाहाकार मच्चिएको छ। धरान खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणमा चरम लापरवाही गरेका कारण धरानका १६ वटा वडामा खानेपानीको हा–हाकार भएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले वडा नम्बर १,२,३,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८ र १९ मा पानी वितरण गर्दै आएको छ । यी वडाहरुमा २८ हजार नीजि धारा जडान गरिएको भएपनि बोर्डले नियमित खानेपानी वितरण नगर्दा सर्वसाधारण खानेपानी सुविधाबाट बञ्चित भएका छन् ।
नेपाल–चीन साझेदारी ठेकेदार कम्पनी तेन्जिङ तुन्दि जेभीको चरम लापरवाहीका कारण खानेपानीको आयोजनाको काम समयमा सम्पन्न नहुँदा धरानमा खानेपानीको चरम अभाव भएको हो।
सन् २०१७ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य थालिएको धरान खानेपानी आयोजनाको म्याद पटकपटक थप्दा समेत ठेकेदार कम्पनीले आयोजनाको काम सम्पन्न गर्न सकेको छैन् ।
धरानका जनप्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीको मिलेमतोका कारण आोजनाको काम लथालिङ अवस्थामा पुगेका कारण धरानमा पानीको हाहाकार भएको एमाले धरानका नेता ठाकुर कार्कीले बताएका छन् ।
उनले खानेपानी आयोजनाको काममा भष्ट्राचार भएको भन्दै छानविन गरी दोषीमाथि कारवाही गर्न र धरानवासीलाई सहजरुपमा खानेपानी वितरण गर्ने वातावरण बनाइदिन माग गरेका छन् । चौबिसैं घण्टा धरानवासीलाई खानेपानी वितरण गर्ने उदेश्यका साथ आयोजनाको काम थालिएको भएपनि ठेकेदार कम्पनीले ठेक्का वापतको रकम भुक्तानी लिएर निर्माण कार्य अलपत्र पारेको छ ।
माओवादी केन्द्रीय सुनसरीका सह-इन्चार्ज अइन्द्रविक्रम बेघाले ३५ दिनदेखि आफ्नो घरमा पानी नआएको गुनासो गरेका छन् । उनले खानेपानी आयोजनाको काम अलपत्र पार्ने ठेकेदार र समयमा काम सम्पन्न गर्न नलगाउने धरानका जनप्रतिनिधि र कर्मचारीलाई छानविनको दाहेरामा ल्याएर कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
सन् २०१७ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य थालिएको धरान खानेपानी आयोजनाको म्याद पटकपटक थप्दा समेत ठेकेदार कम्पनीले आयोजनाको काम सम्पन्न गर्न सकेको छैन् ।
उनले एक अब ७१ करोड रुपैयाँको खानेपानी आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै छानविन गर्न समेत माग गरेका छन् । ठेकेदार कम्पनीसँग विजयपुर जङ्गलमा रिजर्भ ट्यांकी बनाउने सम्झौता भएपनि उक्त स्थानमा सम्झौता अनुसारको काम नभएको धरान १४ का प्रभाव खतिवडाले बताए । उनले तत्काल विजयपुरमा सम्झौता अनुसारको रिर्जभ ट्यांकी निर्माण गर्न माग गरेका छन् ।
आयोजनाले धरानको चारकोसे जङ्गलबाट जमिनमुनिबाट टेस्ट ड्रिलिङ गरी दैनिक ३ करोड लिटर पानी उत्पादन गर्ने भनिए पनि हाल ८० लाख लिटर मात्र पानी उत्पादन गरेर आयोजनाको काममा आर्थिक अनियमितता भएको स्थानीय वासिन्दाको आरोप छ ।
सन् २०१७ मा खानेपानीको आयोजना सम्पन्न गरी धरानका सबै घरमा खानेपानी पुर्याउने भनिपनी ठेकेदार कम्पनीको चरम लापरवाही, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आयोजनाको काम लथालिंग पारिएको धरानका सामाजिक अभियन्ता हर्क साङपाङले बताए।
उनले खानेपानी आयोजनामा चरम आर्थिक अनियमितता भएको भन्दै छानविन गरी दोषीमाथि कारबाही र आयोजनाको काम तत्काल सम्पन्न गरी नगरवासीलाई सहज रुपमा पानी वितरण गर्न माग गरेका छन् ।
धरान वडा नम्बर ७ का वडाअध्यक्ष जीवन सुवेदीले खानेपानी व्यवस्थापन बोर्डले नियमित खानेपानी वितरण नगरेका कारण वडावासिहरुलाई महंगो शुल्कमा पानी किनेर वितरण गर्नुपरेको बताए । खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकालाई पटकपटक पानी वितरण गर्न माग गर्दा समेत सुनुवाई नभएको उनको गुनासो छ ।
धरान खानेपानी व्यबस्थापन बोर्डका प्रमुख राजु पोखरेलले खानेपानी आयोजनाको ठेकेदार कम्पनीले एकअर्ब ७१ करोड रुपैयाँ भुक्तानी लगेको भएपनि आयोजनाको निर्माणकार्य सम्पन्न गरी नसकेको बताए ।
उनले पुरानो खानेपानीको पाइपलाइन बिग्रिएको र पानी उत्पादन कम भएका कारण सर्बसाधारणलाई पर्याप्त पानी वितरण गर्न नसकिएको बताए । धरानका मेयर तिलक राईले पानी वितरणलाई जहज बनाउने काम भइरहेको बताए । उनले आयोजनाको काम तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको समेत जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !