अतिक्रमणको चपेटामा धनगढीका खोलानाला

अतिक्रमणको चपेटामा धनगढीका खोलानाला

धनगढी : धनगढीका खोलानाला अतिक्रमण हटाउने विषयलाई दलहरूले अघिल्लो स्थानीय निर्वाचनमा मूल मुद्दा बनाए। त्यति बेला एमालेबाट दुर्गाप्रसाद जोशी, कांग्रेसबाट नृपबहादुर ओड, माओवादी केन्द्रबाट रामसमझ राना र स्वतन्त्र उम्मेदवार गोपाल हमाल चुनावी मैदानमा उत्रिएका थिए। चार जनाकै चुनावी नारा अतिक्रमण हटाएर खोलानालाको बहाव साबिककै गतिमा लैजाने, हरेक बर्खामा धनगढीलाई डुबाउनबाट जोगाउने भन्ने थियो। ओडले चुनाव जिते। ओडको कार्यकाल सकिन लागेको छ। अर्को चुनाव नै वैशाखमा तोकिएको छ। तर, अतिक्रमणको यकिन तथ्यांक नै उप–महानगरपालिकाले संकलन गर्न सकेको छैन।

धनगढीको मुख्य बजार पूर्वमा मनेहराबाट पश्चिममा ट्राफिक चोकसम्म झन्डै चार किलोमिटर छ। त्यसमा कैलाली, जिप्रका र सेतोपुल नाला गरी तीनवटा खोला बगेका छन्। पहिलेको नक्साले यी खोलाको क्षेत्र फराकिलो देखाउँछ। पछिल्लो नक्सामा जताततै कित्ताकाँट भएको देखिन्छ। जहाँ दायाँ–बायाँ घरैघर बनेका छन्। जसकारण खोलानाला खुम्चिएर वर्षायाममा डुबानको समस्या बढेको छ। 

धनगढीका मुख्य आवासीय क्षेत्र उत्तरबेहडी, हसनपुर, तारानगर र शिवनगर हुन्। उत्तरबेहडी र तारानगरको बीच भएर कैलाली बग्छ। तारानगर र हसनपुरको बीच भएर कैलाली नै बग्छ। यसको नाममा उत्तरमा सुकुटी नाला हो। हसनपुर छिचोल्नेबित्तिकै कैलाली नाला पनि भनिन्छ। सबैभन्दा बढी अतिक्रमणमा परेको सुकुटी नाला हो। कैलाली र सेतो नालाका पनि अधिकांश स्थानमा चार–पाँच तलाका पक्की घर बनेका छन्। 

नापी कार्यालय कैलालीका अनुसार साविकका खोलानालाको क्षेत्रफल अहिलेको नापीमा बढेको देखिन्छ। ‘त्यति बेला खोलाहरूको चौडाइ कम थियो। त्यसपछि बाढी आएर पनि होला, खोलानालाको चौडाइ बढेको छ’, नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत सुदर्शन धामी भन्छन्, ‘तर, हामीसँग नागरिकको नाममा भएको सम्पत्तिको मात्रै तथ्यांक हुने हुन्छ। त्यसैले कुन खोलामा कति अतिक्रमण भएको छ भन्ने एकिन गर्न सकिँदैन।’ 

तीनवटा खोलानाला भएको सहरमा ढल निकास र आकासे पानीको निकासमा समस्या नहुने विज्ञ बताउँछन्। तर, स्थानीय तहले साँधुरिएका खोलानाला खोल्ने प्रयास गरेको छैन।
यहाँ २०२१ सालपछि २०५१ मा नापी भएको थियो। त्यो नापी अझै सकिएको छैन। ‘बीचमा सशस्त्र द्वन्द्वका कारणले नापीको काम नियमित भएन’, प्रमुख नापी अधिकृत धामी भन्छन्, ‘तर, अब धेरै स्थानको सकिएको छ। अहिले सबै नापनक्सा डिजिटल प्रणालीमा ल्याएका छौं।’

धनगढीको मुख्य बजारको साविक (२०२१)

एकै ठाउँमा २५ जताले गरे अतिक्रमण 

ओडले अतिक्रमण हटाई त्यसमा ग्रीन बेल्ट बनाउने, मर्निङ वाक गर्नेहरूका लागि पैदल ट्र्याक बनाउने भनेका थिए। चुनाव जितेपछि ओडले घोषणापत्रअनुसार काम नगरेको भन्दै आलोचना भयो। त्यसपछि उप–महानगरपालिकाले २०७७ साल चैत ११ गते प्राविधिक समिति गठन गर्‍यो। नापी अधिकृत भुवनबहादुर शाहीको संयोजकत्वमा गठित समितिमा सर्भेक्षकहरू रामबहादुर कुँवर, कृष्णबहादुर शाही र अमिन नरेन्द्र विक सदस्य थिए।

उक्त समितिले तारानगरको सुकुटीबाट मुख्य बजारको कैलाली पुल क्षेत्रसम्म अध्ययन गरेको छ। त्यहाँ २७ जनाले खोला अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ। पाँच जनाले खोलाकै जग्गामा पक्की घर बनाएका, दुई जनाले पक्की घरको जग हालेका छन्, एउटा मन्दिरले कब्जा गरेको र बाँकीका घरका पर्खाल, सेफ्टी ट्यांकी परेको उल्लेख छ। ‘हामीलाई उपमहानगरपालिकाले काजमा खटाएको हो। हामीलाई खटाएको जतिको कामको प्रतिवेदन बुझाइसकेका छौं’, समिति संयोजक  शाही भन्छन्। 

  •    तारानगरको सुकुटी नालाबाट मुख्य बजारको कैलाली पुलसम्म मात्रै २७ जनाले गरे अतिक्रमण
  •     तर, अतिक्रमणकारीलाई हटाएर खोलानाला जोगाउन स्थानीय सरकार उदासीन
  •     उपमहानगरका प्रवक्ता भन्छन्– ‘खोलानालाको अतिक्रमण हटाउन त्यति सजिलो छैन।’
  •     बहावअनुसार बग्न नदिँदा वर्षायाममा बर्सेनि डुबानको पीडा 

प्रतिवेदन पाए पनि उप–महानगरपालिकाले अतिक्रमणकारीलाई हटाउने तदारुकता देखाएको छैन। खोलानालाको अतिक्रमण हटाउने काम चानचुने नभएको बताउँछन् धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी। ‘कसैलाई नगरविकास समितिले उहिल्लै लालपुर्जा दिएको देखिन्छ। लालपुर्जा पाइसकेकालाई कसरी हटाउनु ?’ प्रवक्ता मुडभरी भन्छन्, ‘खोलानालाको अतिक्रमण हटाउन त्यत्ति सजिलो छैन।’
नगरविकास समितिको काम उपमहानगरपालिकाले नै गर्छ। यसअघि भएका बदमासीहरू रोक्ने, सच्याउने अधिकार पनि उसलाई छ। 

कार्यान्वयन भएन प्रतिवेदन 

उपमहानगरले बनाएको खोला नाला अतिक्रमण हटाउ अभियान धनगढीले गत असार ६ गते आठ पानाको प्रतिवेदन बुझाएको थियो। मेयर ओडले प्रमुख प्रशासकीय अधिकृतलाई २०७८ साल असोज मसान्तभित्र प्रतिवेदन कार्यान्वयन गर्ने भनेर तोक पनि लगाए। सोही दिन प्रमुख प्रशासकीय अधिकृतले प्रशासन शाखालाई निर्देशनबमोजिम कारबाहीका लागि भन्दै अर्को तोक लगाए। तर, ९ बिते पनि कार्यान्वयन भएको छैन।

प्रतिवेदनअनुसार धनगढी–५ का शिवनारायण चौधरी, हिक्मतबहादुर देउवा, शेरबहादुर बम, श्यामबहादुर खड्का, विक्रम चौधरीले पक्की घर र पर्खाल, जानकी देवी विष्ट र हेमराज विष्टले घरपर्खाल बनाएर खोला अतिक्रमण गरेका छन्। शेरबहादुर विष्टले पर्खाल निर्माण गरी पक्की घर बनाउन पिलर हालेका छन्। चम्मल चौधरीले पनि घरको जग हालेका प्रतिवेदनमा उल्लेख छ। हेमराज भट्ट र अमरराज भट्टले पर्खाल, नेपाल स्काउटले मन्दिरको पर्खाल, खेमा भट्टले पर्खाल, शर्मा नन्द ओझा, रामचन्द्र ओझा गगन सिंह रावलले पनि पर्खाल निर्माण गरेका प्रतिवेदनमा उल्लेख छ।

अमरनाथ झाले पर्खाल, मोहन कुँवरले पर्खाल र चर्पी, दीर्घराज भट्टल पर्खाल, कमलादेवी बोगटी, धनबहादुर बोहरा, दीर्घबहादुर शाह, पदमराज जोशी, विमल जोशी, हरिप्रीया जोशी, रामबहादुर थापा, चित्रबहादुर कार्कीले पनि खोला मिचेर कसैले पिलरसहित त कसैले पक्की पर्खाल निर्माण गरेका प्रतिवेदनमा उल्लेख छ। 

यस्तै ध्रुवराज जोशी, परमानन्द जोशी, पदमराज भट्ट, योगेश्वरी अवस्थी, रवि शाह, केशव भट्टले पनि खोलाको जग्गा मिचेर पर्खाल निर्माण गरेको जनाइएको छ। ‘उपमहानगरपालिकाले दिएको कार्यादेशअनुसार हामीले तोकिएको स्थानको प्रतिवेदन बुझाइसकेका छौं, त्यो कार्यान्वयन गर्ने जिम्मा नीति बनाउने स्तरका नेताहरूको हो, तर यो अतिक्रमण हटाउन भने सारै गाह्रो छ’, समिति सदस्य अमिन कृष्ण शाही भन्छन्, ‘धेरै स्थानमा नापी नै गर्न नदिने वातावरण भएको थियो।’

हाल (२०५१ पछि) को नक्सामा खोलाको क्षेत्र )। स्रोत : नापी कार्यालय कैलाली 

उप–महानगरपालिकाका प्राविधिक कर्मचारीले तीन महिनामा प्रतिवेदन बुझाएझैं मात्र गरे। सुकुटी नालादेखि कैलाली पुलसम्मको दुई÷तीन किलोमिटरको मात्रै लगत लिइयो। तर, कैलाली पुलबाट दक्षिणको क्षेत्र, सेतोपुल क्षेत्र, जिप्रका नालाको अतिक्रमणको सर्भे नै गरेनन्। स्थानीय तहका प्राविधिकले मात्रै यति धेरै काम गर्न सक्दैनन्। नापीको जिल्ला शाखा र स्थानीय तह, अझ मालपोतको पनि प्रतिनिधि राखेर यसको सर्भे हुनुपर्नेमा सरोकारवाला नै जोड दिन्छन्।

नापी कार्यालय कैलालीका प्रमुख धामी भन्छन्, ‘खोला नालाको सर्भेका लागि हाम्रो कार्यालयसँग कुनै समन्वय नै भएन। हामीसँग जनताको नाममा रहेको जग्गा र खाली जग्गा भएको तथ्यांक हुन्छ। त्यस ठाउँमा लामो समयदेखि नापनक्सामा सहभागी भइरहेका प्राविधिकहरू हुन्छन्। उनीहरूलाई खटन पटन पनि गर्न सजिलो हुन्छ।’ 
उप–महानगरपालिकाले मालपोत कार्यालय व्यवस्थापनका लागि भनेर १५ लाख बजेट दिएको तर नापीसँग कुनै समन्वय नै नगरेको उनको भनाइ छ। भन्छन्, ‘त्यो रकममा नापीले तीनवटै खोलानालाको अतिक्रमणको अवस्था निकाल्न सकिन्थ्यो, तर कसैले समन्वय नै गरेन।’ 

हरेक बर्खा डुबान

तीनवटा खोलानाला भएको सहरमा ढल निकास र आकासे पानीको निकासमा समस्या नहुने विज्ञ बताउँछन्। तर, स्थानीय तहले साँधुरिएका खोलानाला खोल्ने प्रयास गरेको छैन। हरेक बर्खामा यी तिनै खोलाको पानी मुख्य बजार र बस्तीमा आउने गरेको छ।

 खोलानाला अतिक्रमण हटाऔं अभियानले धनगढी उपमहानगरलाई बुझाएको प्रतिवेदनको अंश ।  

‘हरेक वर्ष, कैलाली नाला र सुकुटी नालाको पानी मुख्य सडकमा चढ्छ। पसलभित्र पानी पसेर बर्सेनि नोक्सान सहनु परेको छ’ एलएन चोकका ब्यवसायी राजीव गुप्ता भन्छन्, ‘खोलानालालाई प्राकृतिक बहावअनुसार बग्न दिइएन। खोलाको बहाव रोक्ने गरी पर्खाल लगाएर साँघुरो पारियो। अनि बर्खामा अचानक आएको बाढी सजिलो ठाउँबाट मुख्य बजारमा आइहाल्छ नि !’

स्मार्ट नगरको सपना

मेयर ओड स्मार्ट नगर बनाउने गुरुयोजना बनिरहेको बताउँछन्। खोलानालाको अतिक्रमण हटाउनका लागि तथ्यांक संकलन सुरु भइसकेको उनको भनाइ छ। ‘मेरो परिकल्पना सुकुटी नालाबाट कैलाली पुलसम्मको सबै अतिक्रमण हटाएर त्यसमा दुवैतिर ग्रीनपार्क बनाउने हो’, ओड भन्छन्, ‘एकातिर साइकल लेन र एकातिर तारजाली भित्र मिनि चिडियाखाना बनाउने सोच थियो। तर, अहिले गर्न सकिएन। त्यसमा म अझै काम गर्नेछु।’ 

धनगढी उपमहानगरपालिका–५ हसनपुर र तारानगर जोडने पुलछेउ अतिक्रमण गरी बनाइएको घर। तस्बिर : शिवराज भट्ट

सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेकाले यो बेला भोट बैंक चलाउन नसक्ने धनगढी–४ का वीरबहादुर महरा बताउँछन्। भन्छन्, ‘चुनाव  आएको छ, कर मात्रै बढेको छ, आफैंले गरेका बाचा कसैले पूरा गर्दैनन्।’


खोलानालालाई प्राकृतिक बहावअनुसार बग्न दिएनन्। खोलाको बहाव रोक्ने गरी पर्खाल लगाएर साँघुरो पारे। हरेक वर्ष कैलाली र सुकुटी नालाको पानी मुख्य सडकमा चढ्छ। 
– राजीव गुप्ता, स्थानीयवासी


उपमहानगरपालिकाले दिएको कार्यादेशअनुसार हामीले तोकिएको स्थानको प्रतिवेदन बुझाइसकेका छौं। तर, यो अतिक्रमण हटाउन साह्रै गाह्रो छ। 
– कृष्णबहादुर शाही, सदस्य, खोलानाला हटाऔं अभियान


हामीसँग नागरिकको नाममा भएको सम्पत्तिको मात्रै तथ्यांक हुन्छ। कुन खोलामा कति अतिक्रमण भएको छ भन्ने यकिन गर्न सकिँदैन। 
– सुदर्शन धामी, प्रमुख, नापी कार्यालय कैलाली


कसैलाई नगर विकास समितिले उहिल्यै लालपुर्जा दिएको देखिन्छ। लालपुर्जा पाइसकेकालाई कसरी हटाउनु ? खोलानालाको अतिक्रमण हटाउन त्यति सजिलो छैन।
– सन्तोष मुडभरी,प्रवक्ता, धनगढी उपमहानगरपालिका 


मेरो परिकल्पना सुकुटी नालाबाट कैलाली पुलसम्मको सबै अतिक्रमण हटाएर त्यसमा दुवैतिर ग्रिन पार्क बनाउने हो। तर, अहिले गर्न सकिएन। त्यसमा म अझै काम गर्नेछु। 
– नृपबहादुर ओड, मेयर, धनगढी उपमहानगरपालिका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.