नेपालबाट ४ वर्षपछि प्रधानमन्त्री भारत भ्रमणमा

नेपालबाट ४ वर्षपछि प्रधानमन्त्री भारत भ्रमणमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदै छन्। पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरी नयाँ दिल्ली जान लागेका हुन्। नेपालबाट प्रधानमन्त्रीस्तरको भारत भ्रमण यो चार वर्षपछि हो। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारत गएका थिए। भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल आएका थिए। 

पूर्वराजदूत नीलाम्बर आचार्य यो भ्रमण उच्चस्तरको भएकाले नेपाल र भारतबीचका समस्या समाधान खोज्न महत्वपूर्ण हुने बताउँछन्। ‘यो भ्रमण महत्वपूर्ण छ’, पूर्वराजदूत आचार्य भन्छन्, ‘भारत हाम्रो विकासको साझेदार पनि हो। भारतसँग विकास समृद्धिका लागि थप लगानी बढाउनुपर्छ।’

पूर्वराजदूत डा. दिनेश भट्टराई नेपाल र भारतबीच व्यापक, गहिरो, विशाल र बहुआयामिक सम्बन्ध रहेको बताउँछन्। एउटै भ्रमणमा सबै विषय उठान हुन नसक्ने भएकाले प्राथमिकताको आधार बनाएर वार्ता गर्नुपर्ने डा. भट्टराई सुझाउँछन्। ‘नेपाल–भारत सम्बन्ध लामो छ। व्यापक छ। गहिरो छ। विशाल बहुआयामिक छ र आफ्नै किसिमको छ’, पूर्वराजदूत डा. भट्टराई भन्छन्, ‘त्यो सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजानुपर्छ।’

यो भ्रमण आपसी विश्वास र सहमतिको वातावरण बनाउन केन्द्रित हुने उनको अनुमान छ। एउटै भ्रमणमा सबै कुरा खोज्न पनि नहुने उनी बताउँछन्। उनका अनुसार विगतका सम्झौता अघि बढाउने विषयमा पनि ध्यान जानुपर्छ। ‘प्रधानमन्त्रीको एउटै भ्रमणबाट सबै कुरा खोज्नु हुँदैन। प्राथमिकता बनाएर जानुपर्छ’, उनी भन्छन्। 

भारत नेपालको असल छिमेकी र दुःख–सुखको मित्र भएको उनको भनाइ छ। नेपालले मात्रै एजेन्डा बनाएर नहुने भएकाले त्यसमा भारतको सहमति र चासो हुनुपर्ने उनी बताउँछन्। ‘सरकारले पनि यही कुरा गर्छु भनेको छैन। विषय त धेरै छन्’, उनी भन्छन्, ‘तर वार्ता, सहमति त भारतसँग गर्ने हो। एकोहोरो गरेर मात्रै पनि हँुदैन। कुनै पनि विषयमा छलफल र वार्ता गर्न दुवै देश इच्छुक हुनुपर्छ।’ 
पूर्वराजदूत लोकराज बराल भने प्रधानमन्त्रीको यो भ्रमण सद्भाव यात्रा मात्रै भएको बताउँछन्। जसकारण ठूला अपेक्षा राख्नु उचित नहुने पूर्वराजदूत बरालको भनाइ छ। एजेन्डा धेरै भए पनि सद्भाव यात्रामा ती समस्या सुल्झने सम्भावना नरहेको बरालको ठम्याइ छ। 

‘यो भ्रमण सद्भाव यात्रा हो। यसले वातावरण बनाउन सक्ला। त्योभन्दा ठूला विषयमा केही हुन्छ भन्ने मलाई लाग्दैन’, उनी भन्छन्, ‘एक दिन गरेर हुन्छ। फेरि प्रधानमन्त्री त वातावरण मात्रै त हो नि बनाउने।’ कुनै पनि प्रक्रियामै नहालिएका विषयमा छलफल र वार्ता होला वा सम्झौता नै होला भनेर सोच्नु उपयुक्त नहुने उनी बताउँछन्। 

ईपीजी प्रतिवेदनमा विज्ञको चासो 

नेपाल र भारतबीच लामो समयदेखि थाती रहेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषय उठान गर्नुपर्ने विज्ञको सुझाव छ। पूर्वराजदूत आचार्य उक्त प्रतिवेदन थन्किरहेको सुनाउँछन्। ईपीजी सदस्यसमेत रहेका आचार्य मित्रराष्ट्रबीच अप्ठ्याराहरू राखिरहनु नहुने बताउँछन्। ‘ईपीजी प्रतिवेदन थन्किएको छ। सीमा समस्या छन्। यी विषय एकैचोटी समाधान हुन्छ भन्ने छैन। तर, समाधानको खोज्नुपर्छ’, उनी भन्छन्। 

पूर्वराजदूत दीपकुमार उपाध्याय यो प्रतिवेदन बुझ्नै आनाकानी हुनु ठीक नभएको बताउँछन्। ‘यति दुःख गरेर दुवै देशका विज्ञले तयार पारेको प्रतिवेदन त बुझ्नु पर्‍यो नि’, पूर्वराजदूत उपाध्याय भन्छन्, ‘कार्यान्वयन गर्ने/नगर्ने भन्ने विषय त बुझेपछि पनि त होला नि !’

नेपालका अपेक्षाहरू भ्रमणका क्रममा स्पष्ट राख्नुपर्ने उनी बताउँछन्। ‘समयको सदुपयोग गर्नुपर्‍यो। यो समय देउवाका लागि भोलि नआउन सक्छ। मोदीका लागि पनि’, उनी भन्छन्, ‘दुबै पक्षले यो भ्रमण उपलब्धि मुलुक बनाउन पहल गर्नुपर्छ। हामीले उठान गर्नुपर्‍यो।’  

पानी उपयोग र सीमा समस्याको विषयलाई गम्भीर रूपमा लिएर समाधान गर्नुपर्ने उनको भनाइ छ। ‘अरू विषय सहज रूपमा नै समाधान गर्न सकिन्छ’, उनी भन्छन्, ‘पानी उपयोग र सीमा समस्या नै प्रमुख विषय हो।’ नेपालसँगको सम्बन्ध बिगारेर भारतलाई फाइदा नहुने उनको टिप्पणी छ। सुस्ता र कालापानीमा सीमा समस्या रहेको दुबै देशले स्वीकारिसकेकाले त्यो समस्या समाधान गर्न पनि दुवै देश अग्रसर हुनुपर्ने उनको भनाइ छ। 

भारत र बंगलादेशबीचको सम्बन्धमा आपसमा बसेर समाधान गरेको उदाहरण दिँदै पूर्व राजदूत उपाध्याय भन्छन्, ‘समस्या राखेर होइन, समाधान गरेर भारतलाई फाइदा हुन्छ, उसको उचाइ बढ्छ। भारत र बंगलादेशबीच पनि सीमा समस्या थियो तर दुवै मिलेर समाधान गरे, हाम्रो सीमा पनि समस्या समाधान गर्नुपर्छ।’ 

भारतले सीमामा सडक, तटबन्ध बनाएर पानीको प्राकृतिक बहावलाई छेक्ने कामलगायत समस्या समाधानमा जोड दिनुपर्ने उनी बताउँछन्। पानीको उपयोग गर्न सके भारत र नेपाल दुवैलाई फाइदा हुनेतर्फ ध्यान जानुपर्ने उनको भनाइ छ। 

पूर्वाधार विकास, जलस्रोत, पर्यटनलगायत विषयमा लगानी बढाउन ध्यान दिनुपर्ने पूर्वराजदूत आचार्य बताउँछन्। भारतमा लामो समय राजदूत भएर बसेका आचार्य नेपालले नयाँ ढंगबाट भ्रमणको सुरुवात गर्नुपर्ने बताउँछन्। ‘पुरानो शैली दोहोर्‍याउने होइन। विकासका निम्ति अन्य देशसँग सम्बन्ध राख्दा, नेपालको विकास हुँदा त्यसबाट भारतलाई नै फाइदा हुन्छ। भाषा, भूगोललगायत कारण भारतसँग नेपालको सहज पहुँच रहेको अवस्थामा भारतले नेपाल–भारत सम्बन्धमा अन्य सम्बन्धका कारण नराम्रो प्रभाव पार्छ कि भनेर सोच्ने कुरा हुँदैन।’ 

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएर आइतबार बेङजिङ फर्किएका थिए। भारतलाई नेपालमा चीनको गतिविधिप्रति बढी चासो हुन्छ। यो विषय पनि भेटका क्रममा उठ्न सक्ने जानकार बताउँछन्। आचार्य भन्छन्, ‘छिमेकी राष्ट्रहरूसँग सम्बन्ध सुधारका विषयवस्तुले प्राथमिकता पाउने र गत साता चिनियाँ विदेशमन्त्रीको भ्रमण र देउवाको भारत भ्रमण दुवैलाई त्यही सिलसिलाको निरन्तरताका रूपमा हेरिनुपर्छ।’

सीमासम्बन्धी विवादको चर्चा पनि प्रधानमन्त्रीले राख्ने कुरा भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउँछिन्। भन्छिन्, ‘त्यस्तो ठोस एजेन्डा छैनन्। प्रधानमन्त्रीले भेटघाटकै क्रममा के विषय निकाल्नुहुन्छ त्यसले प्रभाव पार्ने हो। यद्यपि सीमासम्बन्धी समस्याले प्राथमिकता पाउन सक्छ भन्ने हो।’ 

ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक चुच्चे नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको थियो। त्यसपछि नेपाल–भारत सम्बन्धमा केही चिसोपन देखिएको थियो।

गठबन्धन बैठकमा भारत भ्रमणको चर्चा

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा बिहीबार बसेको गठबन्धन दलको बैठकमा चर्चा भएको थियो। बैठकमा सहभागी भएका एक नेताका अनुसार ‘बैठकमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र झलनाथ खनालले भारत भ्रमणमा के–के एजेन्डा पेस हुन्छन् ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले प्रतिक्रिया दिँदै भने, ‘अहिले त्यस्तो एजेन्डा बोकेर जान लागेको भ्रमण होइन। सबैभन्दा नजिकको छिमेकी देशसँग सौहार्दता र सद्भावका साथ भेटघाट हुन्छ। भेटका क्रममा  विभिन्न विषय उठ्न सक्छन्। यद्यपि कुनै पनि छिमेकी देशलाई चिड्याउने उद्देश्य हामीले बोक्न हुँदैन।’


यस्तो छ भ्रमण तालिका 

प्रधानमन्त्री देउवा नेपाली समयअनुसार शुक्रबार अपराह्न २ः३५ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ। त्यहाँ मन्त्रीस्तरका नेताले स्वागत गर्नेछन्। शुक्रबारै ४ः१५ मा भारतका विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्ने तालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ। मोदीसँग प्रधानमन्त्री देउवा र प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार बिहान १०ः५५ मा तय गरिएको छ। वार्ता हैदराबाद हाउसमा हुने जनाइएको छ। 

प्रधानमन्त्रीसँग ३÷३ जना रहेको ‘रेस्ट्रिक्टेड’ बैठक हुनेछ। प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका मन्त्री र सचिवस्तरीय टोली हुनेछ। देउवा र मोदीले मध्याह्न १२ बजे जनकपुर–जयनगर रेलवे शुभारम्भ गर्नेछन्। नेपालमा भूकम्पपछि भारतको सहयोगमा निर्माण गरिएका स्वास्थ्य चौकीको उद्घाटन गर्ने पनि कार्यक्रम छ। लगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। 

शनिबार साढे ४ मा प्रधानमन्त्री देउवा र भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट हुनेछ। देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस वाराणसी पुग्नेछन्। त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री देउवा लगायतको विशिष्ट टोलीलाई दिवा भोजको कार्यक्रम आयोजना गर्नेछन्। देउवाले काशी विश्वनाथ मन्दिर र पशुपतिनाथ मन्दिर दर्शनसँगै नेपाली धर्मशाला भ्रमण गर्नेछन्। प्रधानमन्त्री देउवा बनारसबाट सवा ४ बजे दिल्ली पुगेर स्वदेश फर्किने कार्यक्रम बनेको छ।  

देउवासँग भारतका सुरक्षा सल्लाहकारले पनि भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोत बताउँछ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुन प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन्।

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमणमा जाने प्रचलन देखिन्छ। प्रधानमन्त्रीको पहिलो विदेश यात्रा नै भारत हुन्छ। यो प्रचलन २००७ सालमा सुरु भएको देखिन्छ। त्यति बेला प्रधानमन्त्री मोहनशमशेर भारत गएका थिए। 

२०६२/६३ को आन्दोलनपछि भने चलन ‘ब्रेक’ भयो। गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए। यद्यपि दाहालले चीनबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भने भारतमै हुने बताएका थिए। उनी ओलम्पिक समारोहमा सहभागी हुन चीन पुगेका थिए। झलनाथ खनालले प्रधानमन्त्री भएका बेला विदेश भ्रमण कम्बोडियाबाट सुरु गरेका थिए। भारतबाट विदेश भ्रमण सुरु नभए सरकार प्रमुखको भारतसँग सम्बन्ध राम्रो नहुने रूपमा पनि विश्लेषण गर्ने गरिन्छ। 


यो भ्रमण उच्चस्तरको भएकाले नेपाल र भारतबीचका समस्याको समाधान खोज्न महत्वपूर्ण हुनेछ। भारत हाम्रो विकास साझेदार पनि हो। भारतसँग विकास समृद्धिका लागि थप लगानी बढाउनुपर्छ।
– नीलाम्बर आचार्य, पूर्वराजदूत

नेपाल–भारत सम्बन्ध लामो छ। व्यापक छ। गहिरो छ। विशाल बहुआयामिक छ र आफ्नै किसिमको छ। त्यो सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजानुपर्छ।
– डा. दिनेश भट्टराई, पूर्वराजदूत

यो भ्रमण सद्भाव यात्रा हो। यसले वातावरण बनाउन सक्ला। त्योभन्दा ठूला विषयमा केही हुन्छ भन्ने मलाई लाग्दैन। 
– लोकराज बराल, पूर्वराजदूत

नेपालका अपेक्षाहरू भ्रमणका क्रममा स्पष्ट राख्नुपर्छ। समयको सदुपयोग गर्नुपर्‍यो। दुवै देशले यो भ्रमण उपलब्धिमूलक बनाउन पहल गर्नुपर्छ। 
– दीपकुमार उपाध्याय,  पूर्वराजदूत

त्यस्तो ठोस एजेन्डा छैनन्। प्रधानमन्त्रीले भेटघाटकै क्रममा के विषय निकाल्नुहुन्छ, त्यसले प्रभाव पार्ने हो। यद्यपि, सीमासम्बन्धी समस्याले प्राथमिकता पाउन सक्छ भन्ने हो। 
– सेवा लम्साल, प्रवक्ता, परराष्ट्र मन्त्रालय


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.