भैरहवा सेजमा उद्योगीको आकर्षण
भैरहवा : भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि उद्योगी व्यवसायीको आकर्षण देखिएको छ। सेज संचालनमा आएपनि विभिन्न विषयमा उद्योगी व्यवसायीले असन्तुष्टि जनाउँदै त्यसप्रति आकर्षित हुन सकेका थिएनन्।
पछिल्लो समयमा सेजले उद्योग स्थापनका लागि आह्वान गरेको प्रस्तावमा उद्योगी व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ। उद्योग स्थापनाका लागि आंकलनभन्दा बढी आवेदन परेपछि उद्योगी व्यवसायीको आकर्षण बढेको देखिएको हो। उद्योग स्थापनाका लागि व्यवसायी असन्तुष्ट रहेको विषयमा सरकार लचिलो हुने भएपछि आंकलनभन्दा बढी आवेदन परेको सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए। यसअघि सम्झौता गरेर पनि उद्योगीले उद्योग स्थापना नगरेपछि सेज प्राधिकरणले केही उद्योगीसँगको सम्झौता रद्ध गरेको थियो। त्यसपछि उद्योग स्थापनाका लागि प्लट लिन पुनः आह्वान गरिएको थियो।
सेजमा कुल ६८ वटा प्लट छन्। जसमध्य २२ वटा प्लटमा केही उद्योगहरू सञ्चालनमा छन्। एउटा प्लट विद्युत् सबस्टेशनका लागि हो भने अन्य ४५ वटा खाली प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको थियो। प्रस्ताव आह्वानपश्चात् ५८ वटा प्लटमा २३ वटा उद्योग संचालनका लागि आवेदन आएको उनले बताए।
‘प्लटको भाडादर, निर्यातलगायत विषयमा हामीले उद्योगी व्यवसायीसँग छलफल गरेका थियौं’, उनले भने, ‘सोही छलफलको परिणामस्वरुप सेजमा उद्योग स्थापनाका लागि उद्योगी व्यवसायीको आकर्षण देखिएको हो।’
निर्यात बढाइ व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको भैरहवा सेज मुलुककै पहिलो हो।
प्रतिक्रिया दिनुहोस !