लमजुङको घलेगाउँ ‘सुखीगाउँ’ घोषणा

लमजुङको घलेगाउँ ‘सुखीगाउँ’ घोषणा

बेंसीसहर : सार्क राष्ट्रकै नमुना पर्यटकिय गाउँकोरुपमा विख्यात लमजुङको घलेगाउँ पुग्दा मुग्ध नहुने को होला र? लमजुङको क्होँलासोँथर गाउँपालिकामा पर्ने स्मार्ट घलेगाउँ पुग्दा लमजुङ, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको चित्ताकर्षक दृश्य, गुरुङ संस्कृति र परम्परा अनि स्थानीय उत्पादनका आर्गनिक खानपानका साथै गाउँलेहरुको न्यानो आथित्यले पर्यटकलाई लट्ठै पार्दछ। 

करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँकारुपमा प्रख्यात बनायो भने घलेगाउँको त्यो पर्यटकिय ज्वरोले लमजुङका अन्य गुरुङ गाउँहरुलाई पनि छोयो। त्यसपछि त लमजुङका धेरैजसो गाउँहरुमा होमस्टे सुरु गरियो।

२०५६ सालबाट घलेगाउँमा होमस्टे सुरु भएको हो। स्याङ्जाको सिरुवारीको सिको गर्दै घलेगाउँले होमस्टे सुरु गरेपछि लमजुङमा होमस्टेको लहर चल्न थाल्यो। २०६५ मा पहिलोपटक घलेगाउँ दक्षिण एसियाली मुलुकको नमुना पर्यटकीय गाउँ ‘सार्क भिलेज’ घोषित भयो। यो गाउँ दुईपटक सार्क राष्ट्रको नमुना गाउँ घोषणा भइसकेको छ। सुरुमा १० घरबाट घरबास कार्यक्रमको अवधारणा अनुरुप होमस्टे सञ्चालन गरिएको गाउँमा अहिले दलित समुदायका दुई घरसहित घले र गुरुङका गरी ४२ घरमा होमस्टे सञ्चालनमा छन्। 

क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेका अनुसार हरेक होमस्टेको आम्दानी मासिक सरदर ५० हजार रुपैयाँ भन्दा बढी छ। ‘घलेगाउँका होमस्टेले मात्रै वर्षमा करिब २ करोड रुपैयाँ बढी भित्राउँछन,’ घलेले भने, ‘पर्यटनबाटै आर्थिक समृद्धि सम्भव भन्ने कुरा घलेगाउँबासीले देखाइरहेका छन्।’

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाए। उनले गाउँमा पाहुना बोलाउन थाले। काठमाडौं, पोखराका सरकारी कर्मचारी घलेगाउँ आउन थाले। २०५७ वैशाख २३ मा प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर होमस्टे स्थापना ग । गाउँको प्रचारप्रसार गर्न २०५८ वैशाखमा घलेगाउँ कला महोत्सव आयोजना भयो। 

समुद्री सतहदेखि २१ सय मिटर उचाइको घलेगाउँमा प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले। घलेगाउँबारे देशविदेशमा प्रचार हुँदै गयो। तत्कालीन विद्रोही माओवादी १२ बुँदे सम्झौता गर्दै खुला राजनीतिमामा आएपछि बनेको अन्तरिम सरकारमा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। उनको पहलमा २०६४ फागुनमा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो। घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो।

सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेकोरुपमा पुरस्कृत गर्यो। आधारभूत मापदण्ड पूरा भएकाले शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन्। घोषणासभा कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको उपस्थिती थियो। सो अबसरमा पूर्वप्रधानमन्त्री ओलीले घलेगाउँ स्मृति स्तम्भको उद्घाटन गरे।

क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा १ सय ३० घर छन्। विदेश गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन्। घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले अवलोकन गरेका छन्। पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य होमस्टे सञ्चालन नगरेकाहरुले हस्तकलाका सामग्री तयार पार्छन्। घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै गएको छ।

घलेगाउँमा गुरुङ जातिको कर्मकाण्डीय वेद तथा शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ निर्माण गरिएको छ। गोर्खा पार्क, भ्युटावर, स्वर्गभूमि रंगशाला, बास्केटबल कोर्ट, उत्तरकन्या मन्दिर, चियाबारीलगायतका फराकिलो ठाउँले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। घलेगाउँमा परम्परागत संस्कृति घाँटु, सोरठी, सेर्गालगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन्। पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ यस ठाउँकै मौलिकता बोकेको प्राचीन गीत हो।

लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनास्लु, गणेश हिमालले घलेगाउँलाई रमणीय तुल्याएको छ। २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ परम्परागत गुरुङ संग्रहालय उद्घाटन गरेकी थिइन। 

लमजुङ सदरमुकाम बेंसीसहरबाट ६ घण्टा हिँड्नुपर्ने घलेगाउँ अहिले डेढ घण्टामै मोटरमा पुगिन्छ। काठमाडौंबाट तनहुँको डुम्रे हुँदै बेंसीसहरसम्मको १७२ किलोमिटर छ। प्रदेश राजधानी पोखरादेखि बेंसीसहर ११० किलोमिटरको दूरीमा पर्छ। बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ।

पछिल्लो समय लमजुङ होमस्टेको हव बन्दै गएको छ। लमजुङका सबैजसो स्थानीय तहमा होमस्टे सञ्चालनमा आएका छन्। बेसीशहर–चामे सडक निर्माणले अन्नपूर्ण पदमार्ग संकटमा परिरहेका बेला वरीपरीका गाउँहरुले होमस्टे सञ्चालन गरी पर्यटक तानिरहेका छन्। यहाँका दर्जनभन्दा बढी गाउँ घुम्न पर्यटक आउँछन। 

वर्षमा एक लाख हाराहारी संख्यामा पुग्ने पर्यटक लमजुङको ग्रामीण क्षेत्र घुम्छन्। गाउँ–गाउँमा रहेका होमस्टेमा स्वदेशी देखि विदेशी पर्यटकहरु पुग्ने गरेका छन्। सहरको कोलाहल छल्न गाउँ छिर्ने आन्तरिक तथा बाह्य पर्यटकले नै ग्रामीण पर्यटन धानेको छ। संघीय संरचनापछिको ४ नगरपालिका र ४ गाउँपालिकाको स्थानीय तह सबैमा ग्रामीण पर्यटकीय गाउँ छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.