प्रधानमन्त्रीको गृहजिल्लामा चुनावभन्दा गठबन्धनको चर्चा धेरै
डडेल्धुरा : मनोनयन दर्ता गर्ने समय तीन दिनमात्रै बाँकी रहँदा पनि डडेल्धुरामा उम्मेदवारको टुंगो लागेको छैन। दलभित्रको विवाद र स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समस्या भएको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोलभन्दा पनि गठबन्धनको विषय बढी चर्चामा छ। गठबन्धनसँगै दलहरुलाई उम्मेदवारको टुंगो लगाउन पनि सकस परेको देखिन्छ।
गठबन्धनमा नहुने संकेत देखिएपछि दलहरु उम्मेदवारको टुंगो लगाउन लागि परेका छन्। नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ। माओवादीले अजयमेरु, भागेश्वर र परशुराममा उमेदवारको टुंगो लागेको जनाए पनि अन्य स्थानमा भने टुंग्याउने तयारीमा रहेको जिल्ला सयोजक उमेशप्रसाद भट्टले बताए।
त्यसैगरी नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन छलफल जारी रहेको जनाएको छ। 'धेरै जना आकांक्षी छन्, जित्ने सम्भावना भएका र जनमत देखिएका नेतालाई उमेदवारी दर्ताका लागि टिकट दिइन्छ,' कांग्रेस सभापति भिमबहादुर साउदले भने।
वडा र पालिकाबाट सिफारिस भई आएका उम्मेदवार छान्न समस्या भइरहेको उनले बताए। भरसक उमेदवारका आकांक्षीबाट नै एक जनालाई सर्वसम्मत बनाउने प्रयासमा जिल्ला कार्यसिमिति लागि परको सभापति साउदको भनाइ छ।
नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकास साउदका अनुसार पालिका उम्मेदवारका बारेमा प्रदेश कमिटीले टुंगो लगाउने जनाए। प्रदेशले उम्मेदवारको नाम अन्तिम निर्णय गरेको भए पनि अहिलेसम्म सार्वजनिक नगरेका कारण उम्मेदवार छनौट नै भएको भन्न नसकिने अध्यक्ष साउदले जानकारी दिए।
डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह छन्। कांग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा एउटा नगरपालिका र ३ गाउँपालिका गरी ४ वटा पालिकामा जितेको हो। माओवादीले एक स्थानीय तह अजयमेरु जितेको थियो। एमालेले एक नगरपालिकासहित दुई स्थानीय तह जितेको भए पनि नवदुर्गा गाउपालिका समाजवादीसँगं रहेको छ। त्यसमा पनि उपाध्यक्ष कांग्रेसले जितेको थियो।
कूल ५२ वटा वडा रहेको जिल्लामा ७४ सालको चुनावमा नेकपा एमालेले सबैभन्दा बढी १९ वडा जिते हासिल गरेको थियो। त्यसपछि नेपाली कांग्रेस १७ र माओवादी केन्द्र १६ वडामा विजयी भएको थियो। वडादेखि पालिकासम्म उम्मेदवारमा लागेका दलहरु अहिले व्यस्त देखिन्छन्। पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरु उम्मेदवार टुंगग्याउन लागि परेका छन्।
प्रतिक्रिया दिनुहोस !