भरतपुर महानगरकी मेयर रेनु दाहालसहित वडा अध्यक्ष र सदस्यले दिए राजीनामा
भरतपुर :भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् । मेयर दाहालले राजीनामा दिएको उपप्रमुख शाहले अन्नपूर्णलाई जानकारी दिइन्।
'मेयरले राजीनामा बुझाउनु भएको छ । आजै स्वीकृत भइसकेको छ,' उपप्रमुख शाहाले भनिन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दाहालले राजीनामा दिएकी हुन्। सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । 'महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु,' राजीनामा पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !