सोलुखुम्बुमा सात पत्रकार स्थानीय तहको चुनावी मैदानमा
सोलुखुम्बु : आसन्न स्थानीय तह निर्वाचनमा सोलुखुम्बुमा ७ जना पत्रकारहरु चुनावी मैदानमा होमिएका छन् । जिल्लामा रहेर दशक भन्दा बढि पत्रकारिता गरेका व्यक्तिहरु समेत यस पटकको चुनावमा उम्मेद्वार बनेका छन् ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष विना राई नेपाली कांग्रेसको तर्फबाट नेचासल्यान गाउँपालिका उपाध्यक्षको उम्मेद्वार बनेका छन्। एक दशकभन्दा लामो समय पत्रकारितामा व्यतित गरेका राई समाजको विकास र परिवर्तन राजनितिबाट सम्भव हुने भएकाले राजनीतिमा होमिएको बताउँछन्।
पत्रकार प्रकाश खालिङ पनि सक्रिय राजनीतिमा लागेका छन् । यसअघि नै नेकपा माओवादीको फुलटाइम राजनीतिमा लागेका खालिङ यो पटक माओवादी केन्द्रको तर्फबाट माप्यदुधकोशी गाउँपालिका २ को वडाध्यक्षका उम्मेदवार बनेका छन्। पत्रकारिता गर्दा औल्याइएका कुरालाई पूरा गर्न र समाज रुपान्तरण निम्ति राजनीतिक बाटो रोजेको खालिङको भनाइ छ ।
पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष भोजराज कार्की पनि माओवादी केन्द्रको तर्फबाट थुलुङ दुधकोशी ७ देउसामा वडाअध्यक्षको उम्मेदवार बनेका छन्। कार्की राजनितिज्ञहरुले जनसेवामा गरेका भुलहरुलाई सुधार गर्न पनि आफू राजनितिमा प्रवेश गरेको बताउँछन्।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका पुर्वअध्यक्ष मनोजकुमार श्रेष्ठ नेकपा एमालेको तर्फबाट सोलुदुधकुण्ड नगरपालिका ६ को वडाअध्यक्ष, विविसी संबाददाता सुजता तामाङ सोही वडाको महिला सदस्य, पत्रकार भक्त राई नेकपा एमालेबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार र पत्रकार डिल्ली शर्मा एमालेबाट नेचासल्यान ३ मा वडा सदस्यको उम्मेदवार बनेका छन् । ७ पत्रकारमध्ये ४ एमाले, २ माओवादी केन्द्र र एक कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस !