स्याङ्जामा निर्वाचन आचारसंहिता : उल्लंघन गर्नेलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने, मदिरा पिएर होहल्ला गर्न नपाउने
स्याङ्जा :नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा आचारसंहिता उल्लंघन गर्नेलाई २४ घण्टाभित्र नियन्त्रणमा लिइ सुधारको मौका दिने भएको छ। राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त बैठकले आचार संहिता उल्लंघनकर्ताले अटेरी गरेमा निर्वाचन अधिकृत एवं सुरक्षा निकायले सुधारको मौका दिने निर्णय गरेको हो।
साथै बैठकले साँझ ८ बजेपछि मदिरा पिएर होहल्ला गर्न नपाउने निर्णय समेत गरेको छ। आचारसंहितालाई मर्यादित बनाउन यस्तो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले जानकारी दिए। उनका अनुसार वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका बेला निर्वाचन आयोगबाट जारी निर्वाचन आचार संहितामा उल्लेखित व्यवस्थाहरु सबै पक्षबाट पूर्णरुपमा पालना गर्ने जनाउँदै कही कतैबाट उल्लंघन भएमा २४ घण्टा भित्र त्यस्ता गतिविधिलाई नियन्त्रणमा ल्याउने र आचार संहिता विपरितका प्रचारप्रसार सामग्रीहरु हटाउने निर्णय भएको हो। साथै सो समयभित्र परिपालना नभएमा निर्वाचन अधिकृत एवं सुरक्षा निकायमार्फत सुधार गरिने निर्णय भएको उनले बताए।
मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन आचार संहिताका बारेमा जानकारी गराउँदै सबै राजनीतिक दलहरु सबैले आ/आफ्ना कार्यकर्तालाई संयमतापूर्वक प्रचार प्रसार र निर्वाचनका कार्यक्रममा सहभागी हुन र आचारसंहिताका बारेमा जानकार राख्न समेत सुझाव दिए।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रहरी उपरीक्षक राजीव बस्नेतले जिल्लाको सुरक्षा अवस्था र निर्वाचनको अघि र पछि हुनसक्ने गतिविधिलाई सुक्ष्मरुपमा अध्धयन गरिरहेको जनाउँदै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैले आ-आफना स्थानबाट सहयोग गर्न अनुरोध गरे।
छलफलमा नेकपा एमालेमा सहसचिव तारा शर्मा र नगर अध्यक्ष भरत गोदार, नेपाली कांग्रेसका जिल्ला नवराज सुवेदी, नेकपा माओवादी केन्द्रका दुर्गानारायण ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष भूमिजंग केसी, नेकपा एकिकृत समाजवादीका लोकराज शर्मा, जनता समाजवादी पार्टीका पमनारायण अर्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रै, मंगोल नेशनल अर्गनाईजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मालगायतले निर्वाचनका बेला आयोगद्वारा जारी आचार संहिता कार्यान्वयनमा जोड दिइ स्वस्थ्य प्रतिस्प्रधाबाट निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
जिल्ला आचारसंहिता अनुगमन समितिमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित निर्वाचन अधिकृतहरु, जिल्ला प्रहरी कार्यालय प्रमुख, निर्वाचन कार्यालय प्रमुख रहने र सो समितिले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिलाई पनि आमन्त्रण गर्न सकिने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस !