हाम्रो राजनीतिक संस्कार

हाम्रो राजनीतिक संस्कार

आजकल सामाजिक सञ्जाल, भेटघाट, समारोह, चिया पसल, चौतारी जहाँसुकै एउटै भनाइ सुनिन्छ, देश खत्तम पारे, बर्वादै पारे। त्यो पनि नेता र कर्मचारीहरूले। आफूमात्रै इमान्दार, देशभक्त, राष्ट्रप्रेमी र राष्ट्रसेवक। के देश नेता र कर्मचारीहरूले मात्रै बिगारेका छन् त ? यसमा आमजनताको कुनै भूमिका छैन ? सन्दर्भ विगतदेखि नै अनुत्तरित छ। अझ कहिलेसम्म रहिरहने हो थाहा छैन। सामाजिक सञ्जाल हेर्ने हो भने यस्तो देखिन्छ कि मुलुक खत्तमै हुँदैछ अथवा भइसकेको छ। यसलाई बचाउन कि त उनीहरू वा उनीहरूले समर्थन गरेको दल र त्यसकै नेता आउनु पर्छ भन्ने देखिन्छ। कि त भएका नेता र कर्मचारी सबै सखापै हुनुपर्छ भन्ने धारणा प्रत्यक्ष/परोक्ष रूपमा व्यक्त गरेको पाइन्छ।

हाम्रो पुस्ता नै होला थोरै समयमा धेरै राजनीतिक व्यवस्था अनुभव गर्न पाएको। विडम्बना, राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेता र नेतृत्व भने कहिल्यै परिवर्तन भएको छैन। पञ्चायत, प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पनि खासमा कुन शासन व्यवस्था चाहिएको हो भन्ने यकिन हुन सकेको छैन। अर्कोतर्फ हाम्रो राजनीतिक संस्कार र विचार पनि परिवर्तन हुन सकेको छैन। हामीले बनाएको नेतृत्व परिवर्तन हुन नसके झैं हाम्रो संस्कार र विचारमा पनि परिवर्तन नआएको कुरा स्वीकार्न सकेका छैनौं। बरु अरूलाई दोषारोपण गर्न लालायित देखिन्छौं। अरूका कमजोरी कोट्याउन अग्रसर हुन्छौं। आन्दोलन गरेर फ्याँकेका राजा अहिले फेरि चाहिएको देखिन्छ। कतिपय त गणतन्त्रभन्दा राजतन्त्र प्यारो भन्ने अभिव्यक्ति प्रत्यक्ष/परोक्ष रूपमा भन्न थालेका छन्। कतिपयले यी सबैभन्दा एकदलीय पञ्चायत नै ठीकसम्म भन्न पछि परेका छैनन्।

आफू समर्पित दल र नेतृत्वमा सरकारमा जाँदा मात्र सबै सही हुन्छ होइन भने केही राम्रो हुँदैन। अनुकूलको राज्य व्यवस्था भए सबै काम यसले नै गर्‍यो त्यो पनि भव्य। अर्को जानेबित्तिकै यसले केही गर्दैन भनेर माहोल नै बिगार्ने परिपाटी पनि छ। अथवा गइहाले त्यसले गरेका काम गतिलै भएन भन्ने हुइम फैलाइन्छ। त्यति मात्रै नभएर अन्य मुलुकका तमाम उदाहरण र नेतृत्वको बखान पनि गर्न भ्याएकै हुन्छौं। तर, त्यहाँका जनतासँग हाम्रो तुलना भने कदापि गरेका छैनौं। हाम्रो राजनीतिक संस्कार कस्तो छ त ? यसैमा निर्भर भएको छ हाम्रो राजनीतिक व्यवस्था र नेतृत्व। अहिलेका पर्यटनमन्त्री प्रेम आलेको चर्चा परिचर्चा छताछुल्ल भएको छ। त्यस्तै, उहाँसँगै पूर्व पर्यटनमन्त्री योगेश भट्टराई पनि चर्चामै हुनुहुन्छ। यसैगरी रेणु यादव, सीके राउत, विप्लवका कार्यकर्ता र उनीहरूको कार्बाही केही सञ्चारमाध्यमको उदाहरण मात्रै लिँदा पनि हाम्रो राजनीतिक संस्कार प्रष्ट हुन्छ।

सन्दर्भ केलाउनु मात्र पर्छ, अचम्म लाग्छ। कहिले फलानो त कहिले फलानो मन पर्छ। कहिले राजा ज्ञानेन्द्र, कहिले डा. गोविन्द केसी अनि कहिले रञ्जु दर्शना ! तिनको दिगोपन वा तिनले खेलेका भूमिका कति र कस्ता छन् ? समयले न निष्पक्ष जवाफ दिइसकेकै छ। केही समयपछि फेरि यीलगायत उल्लेख्यनीय पात्रहरू मन पर्दैन। मन किन पर्दैन ? यसको छोटो उत्तर हुन सक्ला, आफ्नो अनुकूलको समर्थन नगरेको, आफ्नो दल निकट नेतृत्वको विपक्षमा बोलेको वा होहल्लाको पछि लागेर नबुझी समर्थन गरिएको आदि। अहिलेसम्म खोट्ट्याएका छैनौं कि उनीहरू कति ठिक हुन्, कस्तो पृष्ठभूमिबाट आएका हुन्, बोल्ने मात्रै हुन् कि गर्ने पनि हुन् वा सत्य बोल्ने र असत्यको विरोध गर्ने हुन्/होइनन् ? केही थाहा छैन।

हामीले कहिल्यै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकेनौं। वर्तमान समाज जे देखिन्छ, यसका पछाडि हाम्रा यिनै प्रवृत्ति कारक छन्। यसलाई हामी आत्मसात् गर्न भने असमर्थ छौं। राजनीतिक समर्थन यसरी आँखै देख्न नसक्ने भयो कि आफूले समर्थन गरेको बाहेक कुनै पनि ठीक छैन। अरूले गरेका राम्रा कुरासमेतलाई नराम्रो भन्ने र नराम्रोलाई होइन वा ढाकछोप गर्नेतर्फ सधैं अग्रसर रहने नियतले समस्या छ। हामीले न चाहेजस्तो नेतृत्व परिवर्तन गर्न सकेका छौं न त शासन व्यवस्थामा सुधार नै गर्न सकेका छौं। राजनीतिक समर्थन नै बुझेर वा पढेर भएको छैन। अर्कोतर्फ, नेता र नेतृत्वले पनि आम जनतालाई राजनीति, शासनव्यवस्था वा कार्यशैली बुझाउन सकेका छैनन्। कारण उनीहरू पनि अनभिज्ञ भएर हो वा जनता हुँदाहुँदै नेता भएर हो ? त्यो उनीहरूलाई मात्रै थाहा होला।

पछिल्लो पुस्तालाई कांग्रेस, कम्युनिस्ट, माओवादी, मधेसवादी, राप्रपालगायत कुनै पनि दल कसरी भए ? यिनमा के छ ? यी बीच तात्विक अन्तर के छ ? विगतमा के गरे अनि वर्तमानमा के गर्दैछन् ? केही थाहा छैन। हजुरबुवा, हजुरआमा, बुवा, आमा, काका, काकी, मामा, माइजू जुन पार्टीमा लागे, पछिल्लो पुस्ता उतै लाग्यो। अर्को कुनै आधार र प्रमाण देखिँदैन। अर्कोतिर नेपाली जनतामा बढी नै विचार अभिव्यक्तिको स्वतन्त्रता प्राप्त गरेको भान हुन्छ। विचार अभिव्यक्तिको स्वतन्त्रता छ भन्दैमा सधैं नेता र नेतृत्वलाई मात्रै गाली गर्ने कि हामी जनता पनि सुध्रने ? अब यसमा खासगरी युवा पुस्ता अग्रसर हुनैपर्छ। होइन भने अवस्था भयावह हुँदै जानेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.