साँफेबगर र पञ्चदेवल बिनायक नगरपालिकामा मतगणना अन्यौल
अछाम : साँफेबगर नगरपालिकामा मतगणना हुने नहुने अन्यौल भएको छ। १४ वटै वडाका मतपेटिका सुरक्षित तरिकाले रित पुर्वक नगरपालिका पुर्याइएका छन्। मतगणना सुरु नगरेको भन्दै शनिबार दिनभरि साँफेबगर नगरपालिका तनावग्रस्त बन्यो।
मतगणना गर्न ढिलाइ गरेको भन्दै नाराबाजी र ढुंगामुडा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। शनिबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो २ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो। २ बजेपछि पनि मतगणना नगरेको भन्दै नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेता कार्यकर्ता आक्रोशित बनेपछि ढुंगामुडा प्रहार भएको थियो।
मतगणना हुने नहुनेबारे निर्वाचन अधिकृत कुनै पनि जानकारी नदिएको र अन्यौलमा राखेको भन्दै नगरपालिकामा नाराबाजी र ढुंगा प्रहार गरेका हुन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रु ग्यास प्रहार गरेको हो। साँफेबगर नगरपालिका १३ बाब्लाको विषयलाई लिएर अहिलेसम्म पनि मतगणना हुन नसकेको हो।
बाब्लामा मतदानका क्रममा झडप भएको थियो। एक जना महिलाको मत अर्को व्यक्तिले हाल्ने विषयलाई लिएर विवाद सिर्जना भएपछि कांग्रेस—समाजवादी गठबन्धन र एमालेबीच झडप भएको थियो। झडपपश्चात् करिब साढे ९ बजेतिर मतदान प्रकृया रोकिएको थियो। दिनभर रोकिएको मतदान सुचारुका लागि सहायक प्रजिअ दिपेश रिजालको टोली बाब्ला पुगेको थियो।
झडप हुनुपूर्व बाब्लाको राष्ट्रिय माविमा २०६ मत खसेको थियो। सहायक प्रजिअको उपस्थितिमा बसेको सर्वदलीय बैठकमा मतदान सुचारु गर्ने सहमति भएपछि साढे ४ बजे पुन मतदान सुरु भएको थियो। त्यसपछि १३८ मत खसेको हो। बाब्लामा जम्मा ३४४ मत खसेको छ। मतदान सम्पन्न भएपछि सबै मतपेटिका सिलबन्दी गरी मुचुल्का उठाएर नगरपालिका निर्वाचन अधिकृतले बुझिसकेपछि मतगणना नगर्नु नियत नै शंकास्पद रहेको गठबन्धनका संयोजक लालबहादुर कुँवरले बताए।
उनले भने,‘जति बेला विवाद भएको हो त्यति बेला नै मतदान रद्ध गरिदिनुपर्ने हो। फेरि मतदान सुरु गरी मतदान सम्पन्न गरेर नियमपूर्वक सबै दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सबै मतपेटिका सिलबन्दी गरेर मुचुल्का उठाएर राती नै साँफेबगर नगरपालिकाको निर्वाचन अधिकृतलाई बुझाएको छ। उनले मतपेटिका बुझेका पनि छन्। मतपेटिका बुझिसकेपछि मतगणना नहुनु यो कस्तो नियत हो।’ निर्वाचन आयोगलाई बाब्लामा पुन निर्वाचन नगर्ने भन्दै जानकारी पत्र पठाएको संयोजक कुँवरले बताए।
बाब्लामा गठबन्धनले एकलौटी गरेको आरोप एमालेको छ। एमालले पुनः मतदान गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी गरेको छ। नेकपा एमालेका साँफेबगर नगरपालिकाका प्रमुख पदका उम्मेदवार पशुपति कुँवरले बाब्लामा झडप भइसकेपछि रद्ध भइसकेको निर्वाचनमा फेरि एकलौटी तरिकाले मतदान भएको भन्दै पुन निर्वाचन हुनुपर्ने बताइन्। पञ्चदेवल बिनायक नगरपालिकामा पनि मतगणना हुन सकेको छैन।
वडा नं ५ लयाटीमा निर्वाचनका दिन विवाद भएपछि त्यहाँ पनि मतगणना हुने नहुने अन्यौल छ। निर्वाचन आयोगले भने दुवै स्थानीय तहको दुई वडामा पुन निर्वाचन हुने निर्देशन पत्र सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतलाई पठाएको छ। बाँकी ८ पालिकामा भने मतगणना जारी छ।