लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी पूरा

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी पूरा

लुम्बिनी : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ। २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदीको लुम्बिनी भ्रमण हुन लागेको हो।

मोदी भारतीय शहर कुशीनगरबाट हेलिकोप्टरमार्फत सोमबार मध्याह्न लुम्बिनी अवतरण गर्ने तालिका छ। मोदीले लुम्बिनीमा बुद्धजयन्तीको मुल समारोहमा सम्बोधन गर्नेछन्। त्यस्तै भारतले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। 

लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुनेछ। त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट हुनेछ। भेटघाट लुम्बिनीस्थित एक होटलमा हुने बताइएको छ। 

मोदी आउने तयारी पूरा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले सजावटसहितका कामहरु सकिएको बताए। मोदीले मायादेवी मन्दिरमा पुजाआजा गर्ने छन्। त्यसका लाग मायादेवी मन्दिर, बुद्धजयन्तीको मुल समारोह हुने ५ हजार क्षमताका ध्यान केन्द्रलाई झकिझकाउ पारिएको छ। लुम्बिनीको २ नम्बरदेखि ९ नम्बर गेटतर्फको बटोलाई दुई देश र बौद्ध झण्डा राखेर सजाइएको छ। प्रवेशद्वारहरु निर्माण गरिएको छ।

मोदीसहित ४ वटा हेलिकप्टर भारतबाट नेपाल आउनेछन्। भारतीय सेनाले लुम्बिनीमा परीक्षण अवतरण गरिसकेको छ। ध्यान केन्द्र अगाडि ४ वटा नयाँ हेलिप्याड निर्माण भएका छन्।

ध्यानकेन्द्रको उद्घाटन भने सोमबार विहान ९ बजे प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम छ। त्यसअघि देउवाले भैरहवास्थित अन्र्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बिहानै प्रधानमन्त्रीसहितको विशिष्ट पाहुनाको आवागन हुने विकास कोषले जनाएको छ।

मोदी भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री खड्का र पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रेम आले आज नै लुम्बिनी आउँदैछन्।

लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संयन्त्रले आइतबार विहान भिभिआईपी भ्रमणको डेमोस्ट्रसन गरेका छन्। लुम्बिनीमा सुरक्षाका लागि भारतीयसहित आर्मी, शसस्त्र र नेपाली प्रहरी परिचालन गरिएको छ। भैरहवा विमानस्थलदेखि लुम्बिनीसम्म नै सुरक्षाकर्मी राखिएका छन्।

बुद्धजयन्तीमा छोटो कार्यक्रम

लुम्बिनीमा यसअघिका बुद्धजयन्ती धुमधाम हुने गरेका थिए। अहिले भने आम नागरिकले मुल समारोहमा पहुँच पाउने छैनन्। विकास कोषले बढीमा २ हजार जना सहभागि हुने तयारी गरेको छ। त्यसका लागि पास प्राप्त व्यक्तिहरुमात्रै सहभागी हुन पाउनेछन्।

मुल समारोह संस्कृति मन्त्री तथा विकास कोषका अध्यक्ष आलेको अध्यक्षतामा हुनेछ। कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ। मुल समारोहमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले विशेष सम्बोधन गर्नेछन्। बोल्ने तालिकामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई समय दिइएको छ। संस्कृति मन्त्री आलेले धन्यवाद ज्ञापन गरेपछि मुल समारोह सकिनेछ।

दुई प्रधानमन्त्रीबीच पत्रकार भेटघाट

बुद्ध जयन्तीको मुल समारोह सकिएपछि मोदी जर्मन विहारको छेउमा ३ अर्ब लागतमा बन्न लागेको भारतीय बौद्ध विहारको शिलान्यास गर्नेछन्। त्यो कार्यक्रम सकिएपछि दुई प्रधानमन्त्रीबीच भेटघाट हुने बताइएको छ। कार्यक्रम तालिका फेरबदल नभएमा दुई प्रधानमन्त्रीबीच पत्रकार भेटघाट हुनेछ। जुन होटल पवनमा हुने बताइएको छ। मोदीले स्वागत भोजन पनि पवन मै गर्ने तयारी छ।

सर्वसाधारणका लागि मायादेवी बन्द

विशिष्ट पाहुनाहरुको भ्रमण हुने भएपछि विहान ८ बजेदेखि दिउसो १ बजेसम्म मायादेवी मन्दीरमा सर्बसाधारणलाई प्रवेश निषेध गरिएको छ। विकास कोषले सूचना जारी गरेर विहान ८ बजेअघि र १ बजेपछि मात्रै मायादेवी भ्रमणमा आउने कोषले आग्रह गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.