ललाइफकाइ गाउँ ल्याएका मतदाता भोट हालेर फर्किदा बिचल्लीमा
गोरख : ग्रामीण भेगबाट काठमाडौं जाने यात्रुहरु यतिबेला सदरमुकामको सडकमा अलपत्र छन् ।
काठमाडौं, पोखरा, चितवन जान सदरमुकाम आएका यात्रुहरु गाडी नपाएर सडक छेउमा अस्तव्यस्त देखिन्छन् ।
बुढाबूढी सडक पेटिमा थकित भएर थुचुक्क बसेका छन्। गर्भवती तथा बालबच्चा बोकेका महिला बस खोज्दै यताउता भौतारिरहेका छन् । गाडीवालाहरु आजित भएका यात्रुसित बढाबढमा बार्गेनिङ गरिरहेका छन् । सडक छेउमा यात्रुको चाप र हतास देखेर यातायात व्यवसायीहरु लुट मच्चाइरहेका छन् ।
वरिपरि ड्युटीका प्रहरी तथा ट्राफिक प्रहरीहरु कतै पनि देखिँदैनन् । 
चुनावमा मतदान गर्न गाउँ आएका मतदाताहरु फर्कने उचित व्यवस्था नहुँदा उनीहरु अपठ्यराोमा परेका छन्। अनेक प्रलोभन देखाएर गाउँ ल्याएर नेताहरुले अलपत्र पारेर छाडिदिएको यात्रुहरुको गुनासो छ ।
काठमाडौं फर्कन साबिकको भन्दा दोब्बर गाडीभाडा तिर्नुपरेको ताकुकोटका पवन देवकोटाको भनाइ छ । 'फ्रीमा लगिदिन्छौं, फ्रीमै फर्कने व्यवस्था मिलाउँछौँ भनेर अनेकभाँती भनेर ल्याए । अहिले फर्किने बेला कसैको अत्तोपत्तो छैन,'उनले भने, 'सित्तै जान पाइयो भनेर आइयो । फर्कने बेला उल्टै दोब्बर भाडा तिर्नुपर् यो ।'
एकहजार रुपैयाँ भाडा तिरेर माइक्रो बसमा काठमाडौं फर्कन लागेको उनले बताए ।

हाल गोरखा–काठमाडौंको माइक्रोबस भाडा ५३० हो । मिनिबस भाडा ४४५ छ । तर गाडीवालाहरु अहिले यात्रुसित मिनिबसले आठसय र माइक्रोबसले एकहजारसम्म उठाइरहेका छन् । 'अहिले काठमाडौं जाने मात्र हो, फर्कने यात्रु पाइँदैन त्यसैले दोब्बर भाडा असुलेको हो,' एक गाडीवाला यात्रुसितको बार्गेनिङमा भन्दै थिए, ‘जाने भए, आउनुस्, नजाने भए यस्ता यात्रु कति पो पाइन्छन।'
नेताको लहैलहैमा लागेर चुनावमा गाउँ आएकी बुंकोटकी शिला तामाङ पनि अहिले काठमाडौं फर्कन नसकेर सडकमा अस्तव्यस्त छिन् । 'गाउँबाट गोरखा बजारसम्म आउने गाडीमा पनि उभिने ठाउँ पनि थिएन । जसोतसो गरेर आएँ । अहिले काठमाडौं जाने गाडी छैन,' उनी भन्छिन्, 'ल्याउने बेला ल्याए, अहिले यस्तो हालत पारेर छाडिदिए ।’
काठमाडौं जाने गाडी नपाएर सडकमा तड्पिरहेका कोखे आहालेका वीरबहादुर मग्रातीलाई माइक्रोबसका मजदुरले १६ जना यात्रु खोज्न र भाडासमेत उठाइदिन आदेश गरे । ‘१६ जना यात्रु पनि मैले खोजिदिनु पर्ने अरे, अनि भाडा पनि एकहजारका दरले मैले नै उठाइदिनु पर्ने भनेर ड्राइभर–कन्डक्टर आएर बार्गेनिङ गरिरहेका छन्,' उनी भन्छन्, ‘जसरी पनि जानुपर्ने छ । गाडी नपाएर होटलमा बस्नु पर्यो भने त्योभन्दा धेरै खर्च हुन्छ । त्यसैले महंगो भाडा तिरेर भए पनि जानै पर्यो ।'
आफूहरुलाई अप्ठ्यारो परेको मौका छोपेर गाडीवालाले ठगेको यात्रुहरुको गुनासो छ । 'मौकामा चौका हानेका छन्,'' बुंकोटबाट आएकी अर्की नानुमाया श्रेष्ठ भन्छिन्, ‘नेताले गर्दा दु:ख पाइयो । दिनदहाडै रोडमा सयौँ यात्रु ठगिएका छन् । प्रहरी प्रशासनको ध्यानै छैन ।’
यत्तिका यात्रु सडकमा अप्ठ्यारोमा परेका बेला प्रहरी प्रशासनले कुनै चासो नदिएको यात्रुहरुको गुनासो छ ।

गाडीवालाले निर्मम ढंगले यात्रु ठग्दा पनि स्थानीय प्रशासन मौन रहेको सडक आसपासका व्यापारीहरुको आरोप छ । ‘सडकमा यात्रुहरु पसारो परेका छन् । हाम्रै आँखा अघि लुट मच्चिएको छ । हामी पनि व्यापारी हौँ । हामीले हस्ताक्षेप गर्न मिल्दैन,' यात्रु ठगिएको देख्ने एक व्यापारी भन्छन्, 'काठमाडौंबाट रिजर्भ यात्रु लिएर आएको एउटा जीपले चलनचल्तीको भन्दा कम भाडामा यात्रु खोज्दा यहाँका गाडीवालाहरुले झन्डै कुटेनन् ।’
स्थानीय प्रशासनको बेवास्ताका कारण यस्तो स्थिति आएको उनको बुझाइ छ। ।चुनावका कारण ट्राफिक प्रहरीहरु ग्रामीण रुटतिर खटिनु परेकाले सदरमुकामको सडकको सवारी व्यवस्थापनमा ध्यान दिन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम पोखरेल बताउँछन् ।'चुनावमा ग्रामीण सडकमा खटिएका ट्राफिकहरु फर्किरहेका छन् । भोलिदेखि व्यवस्थित हुन्छ,' उनले भने ।
प्रतिक्रिया दिनुहोस !