वर्षासगैं महामारी आउन सक्ने भन्दै मन्थली बजारको सरसफाइ
रामेछाप : जिल्ला सदरमुकामसमेत रहेको मन्थली बजारको सरसफाइमा स्थानीय युवाहरूले सक्रियता देखाएका छन्।
युवाहरूले लामो समयदेखि नालामा जाम भएर बसेको दुर्गन्धित फोहोर सफा गर्नुका साथै सडक र पेटीमा रहेको फोहोर समेत सरसफाइ गरेका छन्। मन्थली नगरपालिकाको दमकलमा पानी ल्याएर बजार सरसफाइ गरेको स्थानीय युवा कुमार घिमिरेले जानकारी दिए। आफ्नो घर अगाडिको नाला सबैले सधैं खुल्ला र सफा राख्न पनि सन्देश दिने उद्देश्यले सरसफाइ अभियान सुरु गरिएको पनि घिमिरे बताउँछन्।
विगतमा कोरोना महामारीको बेलादेखि बजार सरसफाइमा जुटेको र स्वच्छ मन्थली स्वस्थ्य नगरबासी बनाउन पनि सरसफाइमा जुटेको युवा अगुवा रुद्रकुमार श्रेष्ठ बताउँछन्। राज्यको मात्र मुख ताकेर बस्ने हैन हरेक नागरिकको पनि आफ्नो दायित्व पूरा गर्नु पर्ने श्रेष्ठको भनाइ छ।
मन्थलीको मदन आश्रीत चोकदेखि बजार सरसफाइ सुरु गरेका युवाहरू निरन्तर सरसफाइ अभियानमा ब्यस्त रहेका छन्। अहिले एक दर्जन जति युवा र स्थानीय अग्रजहरु बजार सरसफाइ अभियानमा सक्रिय रहेका छन्।
मन्थली बजार क्षेत्रमा गर्मीको समयमा अत्यधिक गर्मी हुने हुनाले पनि विभिन्न रोगहरू फैलन सक्ने भन्दै स्थानीय युवाहरू सकृय रुपमा अभियानमा जुटेका हुन्।