हिमाल–तराई जोड्दै रिसोर्ट
चितवन : मनास्लु हिमाल आधार शिविर क्षेत्रमा खुलेको रिसोर्टमा गर्मी छल्न पुगेका पर्यटकको चहलपहल छ। त्यहाँ उनीहरू चिसो मौसममा रमाउँछन्।
तीनै पर्यटक वन्यजन्तु अवलोकनमा रमाउन चितवन झर्छन्। अलग विशेषता भएका यी दुई पर्यटकीय गन्तव्यलाई पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाले जोडेका हुन्। हिमालको मुनाल र तराईको मयूरको नाम जोडेर रिसोर्टको नाम दिइएको छ। उनले तराईबाट हेलिकप्टरमा पर्यटकलाई मनास्लु घुमाउन थालेका छन्।
‘यहाँका व्यवसायी पैसा भएपछि विदेश घुम्न जान्छन्। तर, २५ मिनेटमा हेलिकप्टरमा त्योभन्दा सुन्दर ठाउँ हिमाल पुगिन्छ’, लामाले भने, ‘विदेश घुम्न जाने पैसा नेपालमै उपयोग होस् भन्ने हो।’ मनास्लु पदमार्गअन्र्तगत नामरुङमा नुब्रीफोर सिजन रिसोर्ट छ। उनैले चितवनको पदमपुरमा ‘मुनाल एन्ड मयूर’ रिसोर्ट बनाएका छन्। जाडोयाममा गोरखाको हिमाली भेग पुग्न पर्यटकलाई कठिनाइ हुन्छ। हेलिकप्टर चढेर दुवै ठाउँ घुम्न प्याकेज बनाएका हुन्।
‘हिमालको मान्छे तल चितवन गर्मी भनेर डराउनुहुन्छ। चितवनको मान्छे हिमाल जान डराउनु हुन्छ। त्यस कारण हिमाल र तराई जोड्ने पुल थाप्ने कन्सेप्ट हो मेरो’, होटलका सञ्चालक लाक्पा ढुण्डुप लामाले भने, ‘हामी चार दिनको प्याकेज बनाएर हिमालमा लान्छौं। हिमालको मान्छे तल ल्याउँछौ।’ वन्यजन्तुमा ख्याति कमाएको चितवनमा घुमेर मनास्लुको नामरुङसम्म हेलिकप्टरमा ओहोरदोहोर गराइनेछ। हिमाली जनजीवन, भोटे संस्कृतिलाई चितवनको आदिवासी थारूलगायतका जनजातिको संस्कृति जोडिएको छ।
‘हिमाल र तराईको हरेक चिजलाई पर्यटनसँग जोड्न खोजिएको हो’, सञ्चालक राजेन्द्र चौधरीले भने, ‘चिसो र गर्मीमा अलगअलग विशेषता हो। यसमा पर्यटक मौसमअनुसार जहाँ पनि रमाउँछन्।’ मुनालको आकारमा रिसोर्टका कोठाहरू बनेका छन्। रिसोर्टमा जडीबुटी गार्डेन छ। होटलमा अर्गानिक खानामात्रै खुवाउने योजना छ। रिसोर्टमै अस्पतालसमेत बनाउने योजना छ। रिसोर्टमा बसेर अस्पतालमा उपचार गराउन सक्नेछन्।
‘यहाँ आउने पाहुनाका लागि क्लिनिक खोल्छौं। हिमालको जडीबुटी ल्याएर उपचार गर्ने व्यवस्था गर्छौ’, लामाले भने।होटलमा ५० वटा कोठा छन्। २२ वटा भिल्ला बनेको तयार छन्। भिल्लाको नामकरण वन्यजन्तु र पन्छीको नामबाट गरिएको छ। तीन वटा भीआईपी ‘मुनाल’ भिल्ला तीन वटा छन्। यसको छतलाई मुनालको आकार दिन लागेका छन्। यसमा अलगै स्विमिङ छ। १४ वटा कोठामा सायना, ज्याकुजी, मसाजको सुविधा छ। दुई वटा मयूर, तीन वटा राइनो, ६ वटा कस्तुरी भिल्ला, आठ वटा पाण्डा, भिल्ला छ।
प्रतिक्रिया दिनुहोस !