बर्खाभर छुट्छ पढाइ
गोरखा : हरेक रातजसो झरी पर्छ। बिहानसम्म चुक्ती खोला वारका पार भएर बढ्छ। अनि, पालुङटार–९ को त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने हन्ना तामाङलाई छुट्टी हुन्छ। धादिङ दार्खाको भीर, पहरा, बाढी र पहिरोबाट मुक्त हुन यसैवर्ष गोरखाको पालुङटारको आफन्तको शरणमा आएकी उनी यहाँ पनि सधंै बाढीको चपेटामा छिन्।
‘बाढी पहिरोले स्कुल जान नसक्ने भएर राम्रोसँग पढ्न यहाँ आएको थिएँ। यहाँ पनि बर्खाभरि स्कुल जान नपाइने रहेछ’, उनले भनिन्, ‘पानी परिरहन्छ। खोला बढिरहन्छ। स्कुलमा पढाइ भइरहन्छ। हामी जान पाउँदैनौं।’ दार्खामा दुःख भोगेर आएको, यहाँ पनि उस्तै भएको उनले बताइन्।
चुक्ती खोलामा पुल नहुँदा उनीमात्र होइन, सँगै पढ्ने उनकै गाउँका १ सयभन्दा धेरै साथीहरू पनि खोला तर्न सक्दैनन्। त्यसदिन कि खोला किनारमा खेलेरै बिताउँन्, कि असारे मेलोमा बिताउने गरेका त्रिवेणी माविका प्रधानाध्यापक गणेशराज सेढाईं बताउँछन्। ‘पानी परेर खोला बढेपछि साविक वडा नं. ९ को भोर्ले, रिपथोक, छापथोक क्षेत्रका १ सय जनाभन्दा धेरै विद्यार्थी पढ्न आउन सक्दैनन्’, उनी भन्छन्, ‘साविक वडा नं. ८ सिस्नेरी, भुसाल गाउँ, फेदीका ५० जनाभन्दा धेरै विद्यार्थी पनि आउन सक्दैनन्।’ 
पुल नहुँदा बालबालिकालाई बोकेर खोला तार्दै पालुङटार ९ का अभिभावक। तस्बिर : शिव उप्रेती
चुक्ती खोला र खारखोलामा पुल नहुँदा पालुङटार–९ धर्मोदय माविका १ सय ५० जनाभन्दा धेरै विद्यार्थीहरू पनि समस्यामा छन्। खोलामा बाढी नआउँदा पनि बालबच्चालाई बोकेर तार्नुपर्ने अवस्था छ। बाढी आएपछि बोकेर पनि सम्भावना नभएको सो विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपाने बताउँछन् । ‘आज त सरहरू र प्रहरी मिलेर सबैलाई बोकेर तारियो। अब भोलिपर्सि के गर्ने हो, अन्योलमा छौं’, प्रअ न्यौपाने भन्छन्, ‘नगरपालिकामा मेयरसाबलाई पनि ध्यानाकर्षण गराएका छौं, वडाअध्यक्षलाई पनि भनेका छौं। पाँच÷सात दिन जसोतसो गरौं, त्यसपछि बर्खेबिदा गरौंला भन्ने योजना छ। अभिभावक जुटाएर बाँसको घनो टाँगेर काम चलाउँथ्यौँ, तर आज बनायो, भोलि बगाइदिन्छ। कुनै उपायै छैन।’
चुक्ती खोलाको बाढीले ढुंगेटारीको पुलमा क्षति पुर्याएपछि पालुङटार ९ को मदनेडाँडा माविका विद्यार्थी पनि समस्यामा छन्। बिर्दीबाट मदनेडाँडा पढ्न जाने बालबालिका खोला बढेका बेला पढाइबाट बञ्चित हुने गरेका प्रधानाध्यापक रुद्र उप्रेती बताउँछन्।
प्रतिक्रिया दिनुहोस !