चार किलो हेरोइनसहित अफ्रिकन र भारतीय नागरिक पक्राउ
काठमाडौं : चार किलो हेरोइनसहित अफ्रिकन र भारतीय नागरिक पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्युरोबाट गरिएको निरन्तर निगरानीबाट दुई विदेशीसहित ३ जनालाई शनिबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा दक्षिण अफ्रिकाको जोहोनेसवर्गबाट दुबही हुँदै असार ३१ गते काठमाडौं आएका ए०९८७९५७२ नम्बरको राहदानीबाहाक ६१ वर्षीय ज्याक्युज एन्टोन एन्जलब्रेच्टलाई ४ किलो हेरोइनसहित पक्राउ गरिएको हो।
उनले लुकाएर ल्याएको सुटकेसको पिँधको भागमा रहेको फल्सबटमबाट हेरोइन फेला परेपछि काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो। यसैगरी भारतको दिल्लीबाट लागु औषध लिन काठमाडौं आएको अवस्थामा काठमाडौं महानगरपालिका-८ बाट ३२ वर्षीय जोथान्टल्वाङ्गी पक्राउ परेकी हुन् ।
यसैगरी लागुऔषध भारत लैजाने सहयोगीको रूपमा देखिएका नुवाकोटको गोर्स्याङ गाउँपालिका-७ ३र भइ काठमाडौं महानगरपालिका -८ तिलगंगा बस्दै आएका ५० वर्षीय सुकेश तामाङलाई पक्राउ गरिएको हो। उनले बा २ ज ५६५५ नम्बरको ट्याक्सी सञ्चालन गर्दै आएका थिए।
उनीहरूविरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कार्वाही गरिने प्रहरीले जनाएको छ।