कसैले सपना देख्दैमा एमाले एक्लिंदैन : पोखरेल

कसैले सपना देख्दैमा एमाले एक्लिंदैन : पोखरेल

विराटनगर : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने दाबी गरेका छन्। प्रेस चौतारी प्रदेश १ ले मंगलबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गरेका हुन्। 

‘एमालेलाई एक्ल्याउने सपना कसैले पनि नदेखे हुन्छ। कोसिस त गर्न पाइयो। तर पार लाग्दैन, असर पर्दैन,’ उनले भने, ‘एमाले स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी हो। सपना देखेका भरमा एमालेलाई एक्ल्याउन सम्भव छैन।’

आगामी निर्वाचनमा अरु दलले गठबन्धन गरेर आए पनि एमाले सामना गर्न तयार रहेको पोखरेलले बताए। ‘निर्वाचन प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरिने एउटा अभ्यास हो। सक्छौ भने एक्लाएक्लै आउ, सक्दैनौ भने गठबन्धन गरेर आउ भनेको हो,’ गठबन्धन दलप्रति लक्षित गर्दै उनले भने, ‘जे भए पनि एमाले सामना गर्न तयार छ। स्थानीय निर्वाचनमा पनि हामीले यही कुरा भनेको हो।’ अहिले मुलुकमा बाम तालमेलको सम्भावना नरहेको उनले बताए। 

‘पहिले बामपन्थीको सरकार हुँदा ढालेर विपक्षीसँग साँठगाँठ गर्ने। अनि अहिले बाम तालमेलका कुरा गरेर हुन्छ ?’ उनले भने, ‘बाम तालमेल प्रिय लाग्ने शब्द मात्रै हो। राजनीतिमा सम्भावनाहरु जीवितै रहे पनि अहिल्यै भने बाम तालमेल सम्भव छैन।’

पोखरेलले गठबन्धन सरकार नालायक सावित भएको टिप्पणीसमेत गरेका छन्। सरकार नालायक र गैरजिम्मेवार बनेको आरोप उनले लगाए। ‘राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिसहित मुलुकलाई सदृढ बनाउने विषयमा केही गरेन।’ 

पोखरेलले सरकार मूल्यवृद्धितर्फ केन्द्रित भएको र जनताप्रति जिम्मेवार नबनेको आरोप पनि लगाए। ‘इन्धनको मूल्य कहिले घटाउने र कहिले हप्तामै दुई पटकसम्म बढाउनेजस्ता नौटंकी सरकारले गरिरहेको छ,’ उनले भने। प्रचण्डको भारत भ्रमणको उदेश्य तथा एजेन्डा के थियो र भम्रणका क्रममा उनले कति कुरा गरे एवं गरेका कुरा कति लुकाए भन्नेतर्फ आफू जान नचाहने पोखरेलको भनाइ छ। प्रदेश खारेजीको कुरा एमालेले नउठाएको उनले स्पष्ट पारेका छन्। सहमतिका साथ बनाइएको संविधानमा स्पष्ट उल्लेख गरेर ल्याइएको व्यवस्थामा आफ्ना राजनीतिक कोणबाट कसले के भन्ला भन्ने कुराले अर्थ नराख्ने उनको तर्क छ। 

‘हामीले संविधानलाई अपरिवर्तनीय र अशंसोधनीय भन्दैनौँ। सबै दलको सहमतिमा बनेको राष्ट्रिय दस्तावेज संविधान हो। केटाकेटीको खेल हैन,’ उनले भने, ‘कुनै विषय छ भने दलहरुले एजेन्डा बनाएर छलफलमा ल्याउनुपर्छ। सहमतिका आधारमा केही कुरा हुन सक्छन्। तर एमालेबाट प्रदेश खारेजीको कुरा आएको छैन।’ 

पोखरेलले प्रदेश १ को नामकरणको विषयमा केन्द्रको धारणा आवश्यक नभएको पनि बताए। ‘प्रदेश आफै अधिकार सम्पन्न छ। तर साझा र सबैलाई मान्य हुने नाम आउनुपर्छ,’ उनले भने, ‘नामको विषयमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ। केन्द्रले हस्तक्षेप गर्यो भन्नु लुते कुरा मात्रै हो।’ 

नेपालले अरु मुलुकसँग मित्रतापूर्ण सम्बन्ध चाहेको पनि उनको भनाइ छ। ‘नेपाल भ्रमणमा कुनै मुलुकका प्रतिनिधि आउनुलाई स्वभाविक लिनुपर्छ,’ उनले भने, ‘भ्रमणका सवालमा भने राष्ट्रिय स्वाभिमान, अखण्डता र मुलुकको इज्जतलाई ख्याल गर्नुपर्छ।’ पोखरेलले अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन भइरहेकाले संसदीय समितिले प्रतिवेदन बुझाएपछि त्यसका बारेमा थप छलफल अघि बढाइने पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.