चर्चमा कोरियन स्वास्थ्यकर्मीको शिविर, उपचार अघिपछि ५ मिनेट प्रार्थना

चर्चमा कोरियन स्वास्थ्यकर्मीको शिविर, उपचार अघिपछि ५ मिनेट प्रार्थना

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीको क्रिश्चियन चर्चमा आइतबारदेखि दुईदिने चौथो स्वास्थ्य अकुपञ्चर शिविर सुरु भएको छ। 

नयाँ आशा मण्डली जोमसोमको आयोजनामा करिब १२ जना कोरियन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा प्राकृतिक चिकित्सा पद्धतिको स्वास्थ्य अकुपञ्चर शिविर सञ्चालन गरिएको हो।

नसा सम्बन्धी, हाड जोर्नी, माइग्रेन, स्ट्रोक, नसाको कारण पिसाबमा हुने समस्या, अनिन्द्रा, बाथ, महिनावारीको बेला लाग्ने रोग र मोटोपना लगायत रोग निको पार्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना भएको नयाँ आशा मण्डली चर्चका पास्टर मंगल विकले जानकारी दिए।

उनका अनुसार प्राकृतिक अकुपञ्चर रोग हेर्ने कोरियन चिकित्सक किमयुङ ओकेसहित १२ जना कोरियन टोली स्वास्थ्य शिविरका लागि शुक्रबार मुस्ताङ आएका हुन्।

उनीहरूसँग केही नेपाली स्वास्थ्य स्वंयसेवक टोली समेत छन्। नयाँ आशा मण्डली चर्चको आयोजनामा भएको स्वास्थ्य शिविरमा कोरियन स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग र निःशुल्क औषधि वितरण गरिएको बताइएको छ।

यसमा सबै खर्च कोरियन टोली नै गर्नेछ। चर्चमा उपचार गर्न आउने बिरामीलाई खाजा र खानाको व्यवस्था समेत गरिएको पास्टर विकले बताए।

यसअघि आयोजक टोलीले घरपझोङ गाउँपालिकासँग शिविर सञ्चालनका लागि लिखित अनुमति लिएको थियो। शिविरको ब्यानरमा चौथो अकुपञ्चर स्वास्थ्य शिविर लेखिएको छ भने त्यसपछि ब्यानरको तल भागमा क्रिश्चियन धर्मको श्लोगन उल्लेख गरिएको छ।

कोरियन स्वास्थ्यकर्मी तथा चिकित्सक सम्मिलित चौथो अकुपञ्चर शिविरमा झन्डै ५ सय भन्दा बढी बिरामी लाभान्वित भएको पास्टर विकले बताए।

शिविरमा बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म उपचार हुने छ। शिविरमा विभिन्न समस्याले आएका बिरामीको उपचार गर्नुअघि र उपचार सकिने बेलामा कोरियन चिकित्सक तथा स्वास्थ्यकर्मीले क्रिश्चियन धर्मको ५ मिनेट प्रार्थना गर्ने गरेको पाइएको छ।


चिनियाँ पद्धतिको रूपमा चिनिने अकुपञ्चर पछिल्लो समय नेपालमा पनि भित्रिएको हो। अकु भनेको सियो र पञ्चर भनेको सियोले खोपेर रोग निदान गर्ने भन्ने बुझिन्छ।

यसप्रकारको विधिबाट उपचार गर्दा कुनै एन्टिवायोटिक औषधि प्रयोग गर्न पर्दैन। जसले गर्दा बिरामीलाई एकदमै कम साइड इफेक्ट गर्छ। यस पद्धतिबाट उपचार गर्दा एकजना व्यक्तिलाई आधा घण्टादेखि ४५ मिनेटको समय लाग्छ।

नयाँ आशा मण्डली चर्चका पास्टर विकले चर्चमा स्वास्थ्य शिविर सञ्चालन भएपनि यो विशुद्ध स्वास्थ्य शिविर भएको दावी गरे। 

'हामीले विरामीलाई नशा र हाडजोर्नी सम्वन्धि समस्या भएकालाई उपचार गरेका छौं,' उनले भने, 'यो कुनै धर्म प्रचार गर्न बाहाना होइन।'

'हामीले दिएको स्वास्थ्य सेवामा ५ वटै तहका विभिन्न रोगका बिरामी आएर सेवा लिएका छन्। उनीहरूले उपयुक्त स्वास्थ्य परामर्श पनि दिने गरिएको छ', उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.