विद्यालयमा दुई लाखको कोष स्थापना
![विद्यालयमा दुई लाखको कोष स्थापना](https://annapurnapost.prixacdn.net/media/albums/syangja_20220728193246_j5ngJS7wOp.jpg)
स्याङ्जा : जिल्लाको पुतलीबजार नगरपालिका-३ मा रहेको काजिमान हरिटिका माध्यमिक विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको छ। स्वर्गीय पुष्पमान श्रेष्ठको ९४ औ स्मृति दिवसको अवसरमा पुष्पचन्द्र ट्रष्टले विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो।
विद्यालयमा अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै कोषको स्थापना गरेर रकमसमेत हस्तान्तरण गरिएको छ। सोही अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले राणाहरूका एकतन्त्रिय शासन व्यवस्था बिरुद्ध आम नागरिकका पक्षमा वकालत गर्नुहुने पुष्पमान श्रेष्ठ स्याङ्जाबासीले युगौंसम्म सम्झिरहने बताए।
एकतन्त्रीय जहानिया शासन व्यवस्थाका बिरुद्ध आमनागरिकलाई संगठित गर्दे गरिब निमुखा व्यक्तिका सारथी बन्दै उनले सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएको स्मरण गरे।
पुष्पचन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रधानाध्यापक ओमप्रकाश शर्माले गरेका थिए। ट्रष्टबाट आर्जित ब्याजबाट अध्ययरत गरिब तथा जेहेन्दार बालबालिकालाई सहयोग पुग्ने उनीहरूको भनाइ छ।
ट्रष्टका सदस्य योगेन्द्रमान श्रेष्ठले आफना बुवा स्वर्गीय पुष्पमान श्रेष्ठका जीवनीका बारेमा जानकारी गराए। उनका अनुसार, 'आफूले अध्ययन गरेको विद्यालयमा स्थापित, आफना बुबा पुष्पमान र आमा चन्द्रलक्ष्मीको नामको ट्रष्टले गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्नेछ।'
१९८५ साल साउनमा सिन्धुपाल्चोकमा जन्मेका श्रेष्ठको निधन २०५० बैशाख ८ गते स्याङ्जामा भएको हो। राणाको शासन ब्यवस्थाको बिरोध गरेको आरोपमा राणाहरूले श्रेष्ठ परिवारलाई देशद्रोह अपराधमा सर्वश्वसहित लेखेटेपछि मावली गाउँ पुतलीखेत स्याङ्जामा आएको उनको छोरा योगेन्द्रमान श्रेष्ठले जनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)