चार्वाक दर्शनमा सुखवाद
मानिसले जगतको सृष्टि, स्थिति र विनाशलाई बाहिरी आँखा (चर्म चक्षु) र भित्री (आँखा ज्ञान चक्षु) ले हेर्ने प्रक्रिया र प्रयत्न नै दर्शन हो। दर्शन भनेको जीवन र जगत््प्रतिको सम्यक दृष्टिकोण पनि हो। जीवन र जगत्लाई हेर्ने दार्शनिक मत नै दर्शन हो। दर्शनशास्त्र विश्वलाई हेर्ने एक विशिष्ट पद्धति हो। विश्व के हो र यो कसरी चल्दछ ? विश्व सञ्चालित या स्वचालित छ भनेर यसबारे अध्ययन गर्ने भएकाले दर्शन मानिसको विश्व दृष्टिकोण पनि हो। दर्शन असाध्यै गहन र सूक्ष्म संज्ञान हो। दर्शन भनेको कुनै पनि विषयको दृष्टिबोध हो, जो आफ्नो विशिष्ट सिद्धान्त र विधियुक्त हुन्छ। दर्शन आश्चर्यमा सुरु हुन्छ। दर्शनको विशेषता प्रश्निल बन्नु हो भन्ने अर्थ विद्वान् र दार्शनिकहरूले दिएका छन्।
दर्शन शब्दको प्रथम प्रयोक्ता पाइथागोरस हुन् भने आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन्। ईश्वरलाई हेर्ने दृष्टिकोणको आधारमा दर्शनको कित्ताकाट भएको पाइन्छ। ईश्वर नै दर्शनको केन्द्र हो। ईश्वरको अस्तित्व छ र छैन यही दुई परिधिमा दर्शनको व्याख्या र पुनव्र्याख्या भएको छ। दर्शनले धार तय गरेको हुन्छ। आध्यात्मिक र भौतिक दर्शनका दुई पक्ष छन्। पूर्वीय दर्शनमा अनुभूतिलाई ऐन्द्रिय र अनैन्द्रिय दुई किसिममा बुझिन्छ। यीमध्ये अनैन्द्रिय अनुभूतिलाई आध्यात्मिक मानिएको छ भने ऐन्द्रिय अनुभव प्रत्यक्ष प्रमाणिक ज्ञानलाई भौतिकवादी भनिन्छ। प्रकृति सृष्टि स्थिति र लयको रचनाकार ईश्वर हुन् या होइनन् यही विषयबाट दर्शनको आआफ्नो स्थान निर्धारित छ।
दर्शनलाई भौगोलिक आधारमा पनि पूर्वीय र पश्चिमी दर्शन भनेर साँध छुट्ट्याइएको छ। तथापि दर्शनको विषयमा सबैभन्दा ठूलो मतान्तर यो जगत््को सृष्टि सञ्चालक ईश्वर हो या पदार्थ नै प्राथमिक, अनादि र अनन्त हुनुको साथै यसैबाट चेतनाको जन्म हुने सच्चाइबीच छ। आदर्शवादी र आध्यात्मवादीहरू विश्व ब्रह्माण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको, चेतना वा आत्मासृष्टिको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्वीकार गर्ने र संसारलाई बुझ्न नसकिने र अपरम्पार ठान्ने गर्दछन्। यसैगरी भौतिकवादीहरू पदार्थलाई सृष्टिको आदितत्त्व तथा चेतनालाई पदार्थसँग रहने विशिष्ट गुण मान्ने अनि संसारलाई बुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने विज्ञानसम्मत तर्क राख्छन्।
पूर्वीय र पाश्चात्य जगत्मा दर्शनका अनेकौं प्रकार र भेद उपभेदहरू छन्। पूर्वीय षडदर्शनमा उल्लेखित वैदिक दर्शनहरूमा सांख्य, योग, न्याय, वैशेषिक, मीमांस र वेदान्त हुन्। पूर्वीय दर्शनको अवैदिक तीन दर्शनहरू बौद्ध, जैन, चार्वाकमध्ये चार्वाक दर्शनको संक्षिप्त परिचय र विवेचना यस आलेखको सीमा हो। दक्षिण एसियाको प्राचीन र एक मात्र पूर्ण भौतिकवादी दर्शन चार्वाक विचारधारा भनेर चिनिन्छ। चार्वाक अनिश्वरवादी दर्शन भएको हुनाले यसले ईश्वरको अस्तित्वलाई नकार्छ। ‘चार्वाक विचारधारा भौतिकवादी विचारको आदि प्रवर्तक हो’ भन्ने धारणा प्रमोद ढकालले पूर्वीय दर्शनको पुनव्र्याख्या भन्ने आफ्नो किताबमा प्रकट गरेका छन्। यो लोकभन्दा पर अर्को लोक र यो जुनीभन्दा अर्को जुनी न हिजो थियो न भोलि रहन्छ। आज जे छ जीवन त्यो मात्रै हो त्यसैले यसै जुनीमा कर्म गरेर सुखको जीवन जिउनुपर्छ।
मृत्युपछिको तथाकथित स्वर्गको एक चिम्टी लोभ माया र मोहबाट टाढा रहेको वाद र विचार हो चार्वाक अर्थात् दर्शन।
भ्रमको पछि लागेर अर्को दुनियाँ अर्को लोकको लोभमा यो जीवन बर्बाद गर्नु हुन्न भन्ने मान्यता छ। सोही मान्यता राख्दै प्रमाणसिद्ध तथ्यमा विश्वास गरेर अलौकिकताको विरोध गर्नु ईश्वरको भ्रम छुटाएर वास्तविक जीवनमा भौतिक सुख भोग नै चार्वाक दर्शनको मूल स्थापना छ। अझैसम्म वेदको निन्दालाई, ईश्वरको अनादर गर्ने व्यक्तिलाई, अत्यन्त आपत्तिजनक मान्दै पापको भारी बोकेको दुष्ट मनुष्यको रूपमा अथ्र्याइन्छ। हैतुक भनेर गालीगलौज गरिन्छ। वेदको बद्ख्वाई गर्नेको भलो नहुने सोचिन्छ। ईशापूर्व करिब ६०० को समयमा वेद निन्दक हुनु कति जोखिम र चुनौतीपूर्ण कार्य थियो होला ? वेद निन्दकहरू दण्डको भागीदार हुने अपराधी कहलिने समयमा यसको अनुयायी हुनु कति सहज थिएन ?
चार्वाक दर्शनको यकिन समय र कृति प्राप्त नभए पनि यो दर्शनको प्राचीनता उल्लेख गर्ने प्रसंग यसको निन्दा बौद्ध र जैन धर्मको कृतिमा पनि पाइनु अनि उपनिषद्, महाभारत रामायणजस्ता ग्रन्थमा चार्वाकको निन्दा गरिनुले यो दर्शन अन्य दर्शनभन्दा जेठो हो भन्न सकिन्छ। जुन तर्कलाई अस्वीकार गर्न हम्मे पर्छ। महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिरले आयोजना गरेको ब्राह्मण सभामा राजा दुर्योधनका परम मित्र चार्वाकले युधिष्ठिरको आलोचना गर्दा राक्षसको सन्तान भनेर ब्राह्मणहरूद्वारा बर्बर ढंगले जलाएर मारिनु परेको कथा सुन्दा चार्वाक मत र दर्शन निषेधित थियो भन्ने बुझिन्छ। तसर्थ निषेधित भएको कारण यस सम्बद्ध दस्तावेज नहुनु सामान्य भयो। यद्यपि लोकले संरक्षण गरेको हुनाले चार्वाक दर्शनलाई लोकायतको उपमा पनि मिलेको दर्शनशास्त्रका ज्ञाताहरूको मत रहेको छ।
महाभारतको शान्ति पर्वमा उल्लेखित प्रसंगले पनि बन्देज र निषेधको कुराको संकेत गर्दछ। चार्वाक दर्शन वेदलाई निन्दा गरेर ईश्वरको अस्तित्वलाई नकार गरेर उदाएको तत्कालीन समाजको विद्रोही चेतनाको स्वरूपमा चिनिन्छ। पुराण साहित्यहरूमा आचार्य वृहस्पतिलाई देवताहरूको गुरु भनिन्छ। जसले देवतालाई सहयोग गर्न र असुर गणलाई पराजित गरी निस्तेज पार्न ईश्वर र वेद विद्या विरोधी विचारको प्रचारप्रसार गरेर नास्तिक मतको प्रतिपादन गरे। सोही शिक्षा पछि गएर वृहस्पतिको नास्तिक मत बन्न पुगेको कुरा किंवदन्तीको रूपमा रहेको दर्शनशास्त्रका विद्वान्हरूको उल्लेख गरेका छन्। आफ्ना गुरुको नास्तिक मत र विचारबाट प्रभावित भए चार्वाक। उनले वेद र ईश्वरको विरोध गर्दै नास्तिक मत बोकेर हिँडे। सोही कारण उनकै नाम र भूमिकालाई स्वीकार गर्दै नास्तिक विचार चार्वाक दर्शनको नामबाट आज पनि अस्तित्वमा छ। लोकले विश्वास गरेको छ। लोकले बचाएर राखेको छ। यस्तै तर्कहरू दर्शन शास्त्रको इतिहासमा पढ्न पाइन्छ।
तत्कालीन युगमा निषेधित विचार रहिरहनु र समृद्ध बन्दै जानुमा यसमा रहेको सिद्ध कुरालाई मात्र मान्ने खास विशेषता र कारणले सम्भव भएको हो। चार्वाक दर्शनका अरू अनेकौं नाम र प्रसंग पढ्न पाइन्छन्। वस्तुतः यो दर्शन अनिश्वरवादी, भौतिकवादी दर्शन भएकाले यसले भौतिकवादी आलोकबाट जीवन र जगत्लाई नियाल्छ। नास्तिक दर्शन भएकाले आस्तिक दर्शनसँग यसको ठूलो भेद छ। जुन मृत्युपछि र मृत्युअघिको जन्म मरणको चक्र हुन्छ या हुन्न भन्ने कुरामा आधारित छ। भौतिकवादी दर्शनका केही विशिष्ट अभिलक्षणहरू हुन्छन्। निरिश्वरवाद भौतिकवादी दर्शनको प्रमुख लक्षण हो। वेद प्रमाण नमान्नुलाई अर्को लक्षणको रूपमा मानिन्छ। कुनै पनि ग्रन्थ स्वतः प्रमाण होइनन्। वेद भगवतवाणी हो, अपौरुषेय हो, शाश्वत हो भन्ने मान्यतासँग विमति राख्छ।
आत्मालाई देहबाट स्वतन्त्र र पृथक्, नित्य तत्त्व मान्ने विचारलाई पूर्णरूपले खण्डन गर्छ। ईश्वरको सार्वभौमिकताको विरोध गरेर कार्यकारण सम्बन्धलाई काल्पनिक भन्छ। संसार बोधगम्य छ। समाज वस्तुगत जगत्को विकासको परिणाम हो। पूर्वापर र परवर्ती सम्बन्धको व्याख्या मान्छेको जन्म र मृत्युमा खोज्नु मूर्खता भन्छ। भौतिक सत्यभन्दा टाढा पुगेर गरिने पूर्वजन्म, जन्म र पुनर्जन्मको तर्कलाई अयथार्थको संज्ञा दिन्छ। कर्मकाण्ड पूजा पाठ ईश्वर भक्तिलाई चार्वाक दर्शनले समयको बर्बादीको रूपमा चित्रण गर्छ। चार्वाक दर्शनको एउटा आधारभूत विषय नै प्रमाण विज्ञान हो।
‘ईश्वर भनेको प्रत्यक्ष प्रमाणबिनाको अनुमान मात्र हो। कुनै पनि प्रत्यक्ष प्रमाणद्वारा ईश्वरको अनुभव वा बोध गर्न सकिँदैन। न स्वर्ग छ, न मुक्ति वा मोक्ष न त परलोकमा रहने कुनै आत्मा नै छ, ईश्वर भनेको काल्पनिक शक्ति हो’ (भुसाल, घनश्याम २०६८, नेपालमा प्रचलित दर्शनहरू)। जसले चार भौतिक तत्त्व पृथ्वी, जल, तेज र वायु नै सृष्टिको निमित्त र उपदान कारण मानेको छ। सृष्टि हुन् यिनै चार तत्त्वको संयोजन र वियोजन भए पुग्छ। पदार्थ अर्थात् जड तत्त्व नै परम् तत्त्व हो परमाणुको संघातको परिणाम नै सृष्टि हो। योभन्दा पर सृष्टिको नियामक कुनै परलौकिक सत्ता र अदृश्य शक्ति छैन। जगत्ले आफ्नो व्यवस्था स्वयं प्रतिपादन गरेको छ। त्यसैले जगत्् सत्य ब्रम्ह मिथ्या हो। स्वर्ग, नरक, मोक्ष, पूर्वजन्म, पुनर्जन्म, भाग्य, अवतार कर्मफल सबै झुट र कल्पना मात्रै हुन्।
नास्तिक दर्शन भएकाले आस्तिक दर्शनसँग यसको ठूलो भेद छ। जुन मृत्युपछि र मृत्युअघिको जन्म मरणको चक्र हुन्छ या हुन्न भन्ने कुरामा आधारित छ।
वैदिक दर्शनले भनेको ब्रह्म सत्य जगत्् मिथ्या भ्रमको खेती र ब्राह्मणवादी सोच, अवैज्ञानिक र अप्रमाणिक सत्य हो। यदि परलोक हुन्छ भने मानिस मरिसकेपछि आजसम्म कोही न कोही मान्छे कतै न कतै देखिनु पर्ने होइन र ? स्वर्ग नरकबारे चार्वाक दर्शनको प्रश्न पाइन्छ। अज्ञात कल्पनाको उडान भरेर वास्तविक धरातल छोड्ने र पलायन हुने प्रवृत्ति उन्मुख चिन्तनको विकल्पमा भौतिक सुख र प्रत्यक्ष प्रमाणिक ज्ञान र सत्य नै ठिक भनेर ईश्वरको अनस्तित्वलाई स्थापित गर्ने दृष्टिकोण चार्वकले प्रतिपादन गरेको विश्व दृष्टि हो। आत्मिक सुख, मोक्षबाट प्राप्त हुने आनन्द अनि अन्तः प्रज्ञा र रहस्यानुभूतिलाई पूर्णतया अस्वीकार गर्दै भौतिक सुख, इन्द्रिय तृप्ति, लौकिक आनन्द, वस्तुवादी, सुखवादी लोक व्यवहार, वैध ज्ञान र प्रकृतिवादी नास्तिक मतलाई आफ्नो दार्शनिक आधार मानेको देखिन्छ।
केवल प्रत्यक्ष अनुभवद्वारा प्रमाणित गर्न नसकिने हठधर्मिताको काल्पनिक ईश्वर लोकायातले निषेध गर्दछ। नास्तिकता प्रमुख दार्शनिक अवधारणा मानेको कारण चार्वाक दर्शनलाई केवल भोगवादी, अनैतिक, अराजक, सुखवादी, वासनावादी र खञ्चुवा दर्शन भनेर पनि आलोचना गरिएको पाइन्छ। तर यसको खण्डनमा गर्न सकिने सामाजिक आधारहरू छन्। कुनै पनि समाज आफ्नो ऐन कानुन र नियमले परिबन्धित हुन्छ, तसर्थ नियम र कानुनको परिधिबाहिर जाँदा दण्डित हुने व्यवस्था हुन्छ। भौतिकवादी हुनु भनेको अनैतिक र अराजक हुनु होइन। अनुशासन मर्यादा जुनसुकै मानव समाजमा पनि हुन्छ। त्यसैले चार्वाक दर्शनले ईश्वरीय कल्पनाको अनुशासन र विश्वासमा अविश्वास गरेर समाज निर्देशित कानुनको परिपालनामा जोड दिन्छ।
काम गर सुख भोग गर। कर्तव्य र अधिकार दुवैमा यसको प्राथमिकता रहेको छ। कामलाई पुरुषार्थ र मरण मोक्ष भन्छ तर मोक्षलाई सुख भनेर परिभाषित गर्दैन। मरणपछिको कुनै अरू काल्पनिक सम्भावनामा यसको विश्वास छैन। इहलौकिक अर्थात् भौतिकवादी दर्शन र मान्यता भएको पुरानो र वैज्ञानिक दर्शनको रूपमा चित्रण गर्छन्, सबैजसो नेपाली दर्शनशास्त्रका विद्वान। यसको स्थापना सम्बन्धमा तिथिमितिमा तलमाथि देखिए पनि प्राचीनतामा शंका गर्ने ठाउँ नभएको र आजको भौतिकवादको जग यही दर्शन भएको निक्र्योल निकाल्न सकिन्छ। दुःख छ भनेर यो लोकको जीवन यस्तै भयो परलोक सपार्छु भनेर दुखसँग भाग्ने छलिने र जीवन उसै त्याग्ने होइन। दुःखसँग सामना गर्दै दुःख घटाउदै सुख बढाउँदै जीवन भोग गर्नुपर्छ। दुःखबाट छुटकारा पाउन मुक्ति खोज्न, चुनौतीपूर्ण परिस्थितिको सामु आत्मसमर्पण गर्ने कि संघर्ष गर्दै अघि बढेर वर्तमान (जो फेरि कहिल्यै पाइँदैन) जीवनलाई सुखी बनाउन प्रयत्न गर्ने ? चार्वाक दर्शनले विकल्प देखाउँछ।
निष्कर्षमा भन्दा मृत्युपछिको तथाकथित स्वर्गको एक चिम्टी लोभ माया र मोहबाट टाढा रहेको वाद र विचार हो चार्वाक अर्थात् दर्शन। प्रत्यक्ष अनुभव मात्र ज्ञानको माध्यम हो। चार्वाक दर्शनको ज्ञान मीमांसाले प्रत्यक्षवादलाई मात्र अवलम्बन गर्छ। मानिसलाई साँचो कुरा बुझ्न सही दृष्टिकोण वा धारणा निर्माण गर्न मानव समाज रूपान्तरणको लागि मार्गनिर्देशन गर्न चिन्तनमनन्का आमनियम लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न समाजको वास्तविकता बोध गर्न, एकबारको मानव जुनीको मूल्यबोध गर्न दर्शनको भूमिका अपरिहार्य र महत्त्वपूर्ण रहन्छ। समष्टिमा समता, स्वतन्त्रता, खुसी र सुखीहरूको समाज बनाउने अवधारणा बोकेको दर्शनको रूपमा चार्वाक दर्शनलाई लिन सकिन्छ। ज्ञान मीमांसा प्रत्यक्षवादी, तत्त्व मीमांसा भौतिकवादी र आचार मीमांसा, खुसी र सुखवादी चार्वाक दर्शनको दर्शनशास्त्रीय मान्यता हो। पूर्वको प्राचीन भौतिकवादी दर्शनको रूपमा चार्वाक दर्शन परिचित छ।