ऋषिमुनिको तपोभूमि सुर्मासरोवर [फोटोफिचर]

ऋषिमुनिको तपोभूमि सुर्मासरोवर [फोटोफिचर]

सधैंभरि बादल र कुहिरोको घुम्टो। थरीथरीका फूलले ढकमक्क। एकान्त र छङछङ पानीको आवाज। स्निग्ध र निर्मल सुर्माताल। बेलाबखत घाम झुल्किँदा टल्किने सुवर्णमयी शिमशृंखला। यार्सागुम्बालगायतका जडीबुटीको सुगन्ध। स्वर्ग भनेकै यही होइन र ? नहोस् पनि किन, स्कन्दपुराणको मानसखण्डको १४५ अध्यायको ४२ श्लोकदेखि ४४ श्लोकमा वर्णन गरिएको पवित्रस्थल। जहाँ  अत्रि ऋषिले ४८ वर्ष तपस्या गरे। ब्रह्मा प्रसन्न भई सरोवर (ताल)को सृष्टि गरिदिए। सरोवरको  बीचमा चतुर्भुज शूल र मुद्गर धारण गरेकी गायत्री रूपकी सुवणर्मयी कान्तियुक्त सुर्मादेवीको मूर्ति प्रतिष्ठापित गरिदिए। पछि, त्यही सरोवरको नाम रह्यो– सुर्मादेवी ताल।

चन्दन पर्वतको १४ हजार एक सय फिट उचो हिमालको काखमा छ, सुर्मादेवी ताल। बझाङको  साबिकको सुर्मा गाविसको हिमाली वन क्षेत्रमा निर्जन, शान्त र रमणीय क्षेत्रमा छ। एकान्तप्रिय छिपिली, शिखरवासिनी वैष्णवी सुर्मादेवीको बासस्थान हो। यो क्षेत्र ऋषिमुनिहरूको सघन पुण्य तपोभूमि हो। सुन्दर चन्द्रनाद्री जंगलमा सयकडौं तपसाधना गर्ने ठूलाठूला ढुंगाले बनेका गुफा छन्। त्यहाँ सयकडौं ऋषिमुनि तपस्या गर्थे भन्ने जनविश्वास छ। त्यसैकारण पुण्य तपोभूमि भनिन्छ। विभिन्न पुण्य तिथिमा यहाँ वाद्यवादनका धुनहरू आफैं बजेको अनुभव र अनुभूति हुने गरेको भक्तजनहरू सुनाउँछन्। त्यसैकारण सुर्मादेवी यहाँको ठूलो र प्रसिद्ध तीर्थस्थल मानिन्छ। जस्तो वर माग्यो, त्यस्तै प्राप्ति हुने जनविश्वास छ। सुर्मादेवीलाई शक्ति, सम्पत्ति, सामथ्र्य, विद्या र बुद्धिकी देवी भनेर पूजाआजा गरिन्छ।

यस्तो छ जनविश्वास 

दुर्गाथली गाउँपालिकास्थित साबिकको लेकगाउँ गाविसमा पर्ने थली जिउलोमा सुर्मा र दुर्गा नामका दिदीबहिनी बस्ने गरेको किंवदन्ती छ। लसुनको निहुँमा एक दिन दिदीबहिनीबीच झगडा भयो। अंशबन्डा गरे। थलीका खेतहरू बग्न थाले। तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडियो र थकुन्नाडातिर पर्‍यो। देवी सुर्मा त्यतै बसिन्। केही समयपछि त्यहाँ पनि बस्न उपयुक्त नठानेर माथि उक्लिँदै चाँदेशिखर हिमालको काखस्थित कुण्डतिरै बस्न पुगेकी हुन् रे ! त्यो रुख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रुख थलीमै रहेको एकथरीको जनविश्वास छ। 

सुर्मादेवी शत्रुसंहारिणी, महिषासुरमर्दिनी, तेजोमयी, विजयादेवीका रूपमा पूजिन्छिन्। यहाँ सुर्मा सरोवरको गर्भागृहमा सुर्मादेवी रहेको जनविश्वास छ। ठाकु नामको बाजा बजाउँदै देवी र धलदेउका धामीहरू सरोवरमै स्नान र पूजा गर्छन्। यसको नजिक त्रिकोणात्मक कालिन्दिनी दह छ। यहाँ श्रावण शुक्ल एकादशीको दिन पापनाशिनी कालिका देवीको पूजा हुन्छ। यो दहबाट पवित्र बाहुली गाडको उत्पति हुन्छ। सुर्मा सरोवरबाट सुनी गाड पूर्वतिर र कालंगा कलावती नदी पश्चिमतिर बहन्छन्। यी दुईटै नदीबीचको भूभागलाई पुराणमा चन्दन पर्वत भनिएको छ।

स्कन्दपुराणको मानसखण्डको १४५ अध्यायको ४२ श्लोकदेखि ४४ श्लोकमा यो पवित्रस्थलको वर्णन गरिएको छ।  

हरेक साल श्रावण अमावास्या (बाधा औंसी) देखि नवौं तथा कहिलेकाहीँ दशौं दिनमा सुर्मा सरोवरको मेला लाग्छ। ठूलठूला टाँगामा ध्वजा लिएर देवी र धउल्देउका धामी पुजारी यात्रुसहित बाटाभरि शंखघण्ट बजाउँदै यस यात्रामा निस्किन्छन्। आशागुर्जा बोकेर चाँचाँ गर्दै ‘सुषमा सुषमा’ नाम जप्दै बझाङ–चैनपुर सुर्मादेवी–शिलदेवी थानबाट प्रस्थान गर्छन्। 

यस्तै हालको छबिसपाथिभेरा गाउँपालिकाका घट्याल, बुड्खोर्‍याल नौरा हुँदै सुर्मा सरोवर प्रस्थान गर्ने पनि चलन छ। थपाली, घोगाडा, दौलीचौर, थगुन्नाडाका देउपाँड हुँदै पडछो गर्दै (नाच्दै) जाँने आउने गरिन्छ। ठाके भन्ने बाजा बजाउँदै वीरपानी, नाचनी, मधुखर्क, बूढा विनायक, जलजला, ठेलठेलो आदि सुर्मादेवी हिमशिखर यात्रा गर्दाका क्रीडास्थल हुँदै तीन दिनमा सुर्मा सरोवर पुगिन्छ। यहाँ पुगेपछि श्रावण एकादशीदेखि त्रयोदशी (तीनदेखि पाँच दिनसम्म) मेला लाग्छ। स्मितहासिनी देवीको पूजा हुन्छ। यहाँ हजारौं स्वदेशी–विदेशी भक्तजन मेला भर्न आउँछन्। सरोवर स्नान गरेर पितृतर्पण गर्छन्। सुर्मादेवी शुद्ध निष्ठाप्रिय भएकीले यहाँका यात्रीहरू एक हप्ताअगाडिदेखि नै शारीरिक, मानसिक र व्यावहारिक रूपमा शुद्ध संकल्पित भई सात्विक भोजन सेवन गर्छन। थकुन्नाडामा जुत्ता खोली नांगैै खुट्टा हिँडेर ‘सुषमा सुषमा’ जप्दै भक्तजन यात्रा गर्छन्। यहाँ आगो बाल्न, छाता ओढ्न र त्रिपाल हाल्न नपाइने परम्परागत चलन छ। 

कुनै बेला बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले मेला भर्न आउँदा यहाँ त्रिपाल टांगेका थिए।  राति नै देवीको ‘छल’ भएर हुरी बतासले हैरान गरेको थियो। भोलिपल्ट बिहान राजाले सरोवरमा गएर सुर्मादेवीसँग क्षमायाचना गर्दै आफ्नो हातको सुनको औंठी सरोवरमाा चढाएको जनश्रुति छ। राजा  फर्की आउँदा थगुन्नाडा देउपाडमा बास बसे र पागरजडी रुखको धारामा स्नान गरेका थिए। स्नान गर्ने क्रममा सुर्मादेवी प्रसन्न भई त्यो औंठी राजाको औंलामा नै परेको आश्चर्यजनक भनाइ बझाङमा अझै चर्चित छ।

त्यहाँ सयकडौं ऋषिमुनि तपस्या गर्थे भन्ने जनविश्वास छ। विभिन्न पुण्य तिथिमा यहाँ वाद्यवादनका धुनहरू आफैं बजेको अनुभव र अनुभूति हुन्छ। 

यहाँ यात्रा गरी स्नान र पूजा गर्नाले कैलाश मानसरोवर यात्रातुल्य पुण्य प्राप्त हुने भनाइ छ। मनुष्य मात्र होइन, सबै प्राणीहरूको यस लोकमा राज्यको सुख भोग गरेपछि बैकुण्ठबास हुन्छ र पितृको मोक्ष हुन्छ भन्ने पुरोणोक्ति छ। सुर्मादेवीको धामी लेक, सेलान खेत, थगुन्नाडा, घट्या, डोगडी, बारिल गाउँलगायतका ठाउँमा गुठी जग्गा छ। यो मेलामा पहिले पहिले बझाङ्गी राजाले हरेक वर्ष धामीलाई चाँदीका बाला, सुनका मुन्द्रा, भिटुली (पगरी), भगुलो (सेतो घाँघर) र ओढ्ने खास्टो दिएर पठाउने चलन थियो। अब श्रद्धालु भक्तजनले मात्र दिने गर्छन्। 

१६ बहिनीमध्येकी सुर्मादेवी 

आध्यात्मिक पर्यटन विकास र प्रवद्र्धनका दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सम्भावना रहेको छ। सतीको अंगबाट पतन भएका १०८ शक्तिपीठमध्ये मानसखण्ड–सुदूरपश्चिम क्षेत्रमा अनेक शक्तिपीठ रहेका छन्। मानसखण्ड क्षेत्रका १६ भगवती बहिनी (षोड्स मात्रिका) र पौराणिक रूपमा रहेका सप्त मात्रिकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौवटा भगवती बहिनीका रूपमा पुज्ने परम्परा छ। भगवतीको पूजा हुने स्थानमा भूमिराज (भूमे देवता) को पनि अनिवार्य रूपमा पूजा गरिन्छ। भूमिराजलाई भगवतीका भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ।

मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरातिर पुज्ने चलन रहेको छ। सुदूरपश्चिममा सातवटा, नौवटा र १६ वटा भगवतीको चर्चा हुने गरेको छ। भगवतीका बारेमा चर्चा गर्दा वैदिक, पौराणिक, ऐतिहासिक र लौकिक गरी चार प्रकारले तथ्यांकका आधारमा भगवतीका बारेमा व्याख्या हुनुपर्ने मानसखण्डका लेखक मध्येका एक विष्णुभक्त जोशी (शास्त्री) बताउँछन्।

शास्त्रीका अनुसार सुदूरपश्चिम देवभूमिका रूपमा चिनिन्छ। यहाँ जहाँ–जहाँ देवता छन्, त्यहाँ देवी पनि बसेकी छन्। १६ बहिनी देवीहरू सुदूरका हरेक जिल्लामा रहेका छन्। बैतडीमा निंगलासैनी, रणसैनी (त्रिपुरासुन्दरी), मेलौली भगवती, डिलासैनी, फालङ्गासैनी, पोटलासैनी, कलफलासैनी, बिजासैनी, डोटीमा शैलेश्वरी, डँडेलधुरामा उग्रतारा, बाजुरामा बडीमालिका, कञ्चनपुरमा मणिद्वीप भगवती, दार्चुलामा दार्चुला भगवती, बझाङमा सुर्मादेवी, अछाममा वरदादेवी, कैलालीमा नयनेश्वरी भगवती देवीको बास रहेको मानसखण्डमा उल्लेख छ। 

धार्मिक तथा सांस्कृतिक महत्त्व

यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। बझाङ्गीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओढारमा बसेर स्नान गर्छन्। त्यहाँ जलदेवीको बासस्थान छ भन्ने भनाइ छ। यसको छेउमा रहेको मन्दिरमा दर्शन गरेपछि मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्राकृतिक सौन्दर्य

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सुर्मा सरोवर हेर्दा मानव आँखा आकृतिको छ। ताल आसपासमा पाइने रंगी–बिरंगी जंगली फूलहरूले यस तालको सौन्दर्यतालाई झनै मनमोहक बनाएका हुन्छन्। सुर्मा सरोवर क्षेत्र धार्मिक–पौराणिक किंवदन्ती र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। पाटनका रंगीविरंगी फूल, दूधझै सेताम्य झरना, लेकाली सल्ला, गुराँस, चिमालो र चाननका लहराले शोभायमान बनाएको सुर्मा सरोवर क्षेत्र पुग्दा संसार भुलेर सधैं यहीं बसिरहुँ झै लाग्ने गर्छ।

यहाँ यात्रा गरी स्नान र पूजा गर्नाले कैलाश मानसरोवर यात्रातुल्य पुण्य प्राप्त हुने भनाइ छ। 

ठूलो धार्मिक तथा पर्यटकीय महत्त्व भए पनि यातायात सुविधा नहुँदा संसारको आँखामा नपरेको सुर्मा सरोवर तालमा पुग्ने सकेको छैन। यो स्थल बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट उत्तर दिशामा पर्दछ। चैनपुरबाट ३० किलोमिटर टाढा छ। जिल्ला सदरमुकामबाट गाडीमा चार घण्टामा सुर्मा गाउँ पुगिन्छ। त्यहाँबाट एक दिनको पैदल यात्रापछि सुर्मा ताल पुगिन्छ।

पूजा प्रक्रिया र यात्रा कसरी गर्ने ?  

सुर्मासरोवर चार हजार  मिटरको उचाइमा अवस्थित छ। यो ताल हिमालको फेदमा अवस्थित छ। यहाँको मौसम धेरै जाडो छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा आएर मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल एक सयभन्दा बढी मानिस खान सुत्न मिल्ने विशाल विरु ओढार छ।

सुर्मासरोवर ताल छेउमा प्रसिद्ध धार्मिकस्थल सुर्मा देवीको मन्दिर छ। सुर्मा देवीको भक्तिभावको लागि मानिस यहाँ आउँछन्। यो स्थानमा साउन एकादशी मेला लाग्छ। यस तीर्थस्थलमा जानेले, सफा, शाकाहारी भोजन र अनिवार्य ब्रह्मचारी नियम पालन गर्नुपर्दछ। खानामा लसुन, प्याज र भात खानु हुँदैन भन्ने चलन छ। सुर्मा मन्दिर र सुर्मा तालमा खाली खुट्टा हिँड्नुपर्छ। यात्रा गर्दा छाता बोक्न पाइन्छ। तर रेनकोट पाइँदैन। कुनै पनि टर्च र लाइटरबाट दियो बाल्न नपाउने अर्थात् नहुने मान्यता छ। यसपश्चात् चैनपुरबाट यात्रा सुरु हुने दिन घोगाडा भन्ने ठाउँ पुग्नुपर्ने र त्यही बसेर पूजा आजा गर्नुपर्ने नियम छ। 

दोस्रो दिन नुहाइधुवाइ गरेर पटयुरी, लुमण्ड, दौलीचौर हुँदै पाङड जडो पुग्नु पर्छ। यहाँ सुर्मा देवी मन्दिरमा पूजाआजा गर्ने र तेस्रो दिन फेरि नुवाइधुवाइ गरेर सुर्माताल जाने उत्तरतर्फ ठाडो उकालो बाटो र त्यहाँ पुगेर तालमा पूजा गर्ने गरिन्छ। चौथो दिन बिहान फर्कने र पाङडजडो पुगेर मात्र जुत्ता, चप्पल लगाएर फर्किने चलन छ। सुर्माको थकुन्नाडाबाट नाङ्गै खुट्टा हिँडेका श्रद्धालु भक्तजनहरू नाच्नीबाट मधुखर्क, बूढी विनायक, जलजला हिमखेत, चाँदेशिखर हिमाल हुँदै साँझ पवित्र मानिने सुर्मासरोवर तालमा पुग्दछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.