चुनावपछि माधब र बाबुरामसँग पार्टी एकता हुन्छ : प्रचण्ड
गोरखा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसँग पार्टी एकता हुने बताएका छन्।
नेपाल जेसिजको क्षेत्र 'ख' सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा आएका उनले नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसँग पार्टी एकता गर्ने तयारी भएको बताएका हुन्।
'बाबुरामजी र हामी फेरि एकै ठाउँमा उभिने भइयो। यो गोरखाका लागि पनि विशेष महत्वको कुरा हो', उनले भने, 'चुनावपछि पार्टी एकता हुनै नै स्थिति छ। नेकपा एससँग पार्टी एकता संयोजन समिति बन्छ, किनकि माओवादीले पहिल्यै निर्णय गरेको छ। समाजवादीले पनि अस्ति निर्णय गरेको हुनाले पार्टी एकता हुन्छ। संयोजन समिति चाहिँ चुनावअघि नै बन्छ।'
गठबन्धन बच्ने र चुनाव जित्नेलाई मुख्य आधार बनाएर सिट बाँडफाँट हुने भन्दै उनले गठबन्धन बचाउने ढंगले सिटबाडफाँट हुने उनले बताए।
'सिट बाँडफाँटको विषय सहज ढंगले नै गइराखेको छ', उनले भने, 'केही दिनभित्र बाँडफाँटको विषय टुंगिन्छ। हामीले मुख्य आधार गठबन्धनलाई नै बनाउँछौँ। अरूलाई भन्दा विशेष गठबन्धन बचाउने र चुनाव जित्नेलाई मुख्य आधार बनाइन्छ। तर अब हेर्दाखेरि त २०७४ को मत परिणाम र स्थानीय चुनावको मत परिणामलाई पनि हेर्ने कुरा हुन्छ। जे जे भए पनि गठबन्धन बचाउने ढंगले हुन्छ।'
यसअघि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सिट बाँडफाँटका लागि कार्य दलले गरिरहेको काम सकारात्मक दिशातिर रहेको उनको भनाइ छ।
'हामी गठबन्धन गरेरै जान्छौँ। तपाईंहरूलाई थाहा छ, कार्यदल बनाएका छौँ। कार्यदलले लगातार काम गरिरहेको छ। त्यो सकारात्मक दिशातिर छ, मिल्ने दिशातिर नै छ', उनले भने, 'सम्भवतः केही दिनभित्र कुन पार्टीले कति सिट प्राप्त गर्न उचित हुन्छ भनेर सिटसंख्या निर्धारण गर्छौँ। त्यसपछि कुन-कुन संघीय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्र कुन-कुन पार्टीलाई भनेर टुंग्याउँछौँ।'
स्थानीय चुनावमा जस्तो हतारो र चटारो गरी अन्तिम समयसम्म नटुंगिने र टुंगिएपछि मान्छेलाई सम्झाउन पनि नभ्याइने गरी काम नगर्ने उनले बताए।
आफू दुई पटकसम्म प्रधानमन्त्री भएको हिसाबले हालै सम्पन्न भएको स्थानीय चुनावमा सबै ठाउँमा आफैंले चुनाव जिते जस्तो लागेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !