पहिरोले बारपाक थलीडाँडाको दुई घरमा क्षति
गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ थलीडाँडामा पहिरोले दुई घरमा क्षति पुगेको छ।
बुधबारदेखि सुरु भएको अविरल वर्षा पछिको पहिरोले स्थानीय विनोद गुरुङ र लालबहादुर गुरुङको घरमा क्षति पुगेको हो।
'पहिरोले हाम्रो घर र हाम्रोभन्दा तल्लो लालबहादुरको घरमा क्षति पुगेको छ', स्थानीय विनोद गुरुङले भने, 'अहिले हामी भत्केका घर र आँगन मर्मत गर्दैछौँ। दिनदिनै पानी परिरहेकाले अझै खतरा छ।'
वर्षैपिच्छे पहिरो जाने गरेको र जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सरकारले आवश्यक सहयोग नगर्दा समस्या परेको उनले बताए।
बस्ती नजिकको साँखर खोलामा पानीको बहाव बढेपछि बस्ती क्षेत्र कटान भएको र जोखिममा परेको उनले बताए।
निरन्तरको वर्षाका कारण घरमा बस्न डर लागेर दुई दिनदेखि छिमेकीको घरमा बसेको रमेश गुरुङले बताए। निरन्तर वर्षा भएको र बारपाकको ठूलो गाउँबाट आउने पानीको भलले बस्ती नै जोखिममा रहेको उनले बताए।
भूकम्पअघि नौ घर रहेको थलीडाँडामा बसाइँसराइका कारण अहिले तीन घर मात्र बाँकी रहेकामा ती घरहरू पनि भत्किएर समस्या भएको उनले बताए। माथिबाट आएको भलले सबै माटो बगाएर लगेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !