झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस
झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
मंसिर ४ हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत सिफारिस गरिएको एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए । दमक पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका ओली सातौं पटक झापा ५ बाट उठ्न लागेका हुन्।
२०४८ सालको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गर्दै संसद्मा पुगेका थिए ।
२०५१ सालको संसदीय निर्वाचनमा ओली फेरि निर्वाचित भए । उनले कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए ।
२०५६ सालको संसदीय निर्वाचनमा ओली तेस्रो पटक निर्वाचित भए । उनले कांग्रेसका काशीलाल ताजपुरियालाई पराजित गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओली पहिलो पटक पराजित भए । उनलाई नेकपा माओवादीका विश्वदिप लिङदेनले पराजित गरे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओली फेरि निर्वाचित भए ।
उनले कांग्रेसका सुरेशकुमार योङगयालाई पराजित गरे । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओली पाँचौँ पटक निर्वाचित भए । उनले कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । २०७४ सालमा एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेका थिए । आसन्न मंसीर ४ गते हुने निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्ने बारेमा अहिले दुवै पार्टीबीच छलफल जारी रहेको बताइएको छ।