वडाध्यक्ष स्कुल भर्ना

वडाध्यक्ष स्कुल भर्ना

हेटौंडा : ५१ वर्षीय शिवप्रसाद खनाल मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष छन्। बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो। तर, उनै खनाल पढाइ छाडेको ३१ वर्षपछि गाउँकै बाल जीवनज्योति माविमा भर्ना भएका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनालले पहिलो पटक सञ्चालित कक्षा ११ को शिक्षा संकाय अध्ययन गर्न थालेका हुन्। शैक्षिक योग्यता नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनुपरेको खनालको भनाइ छ। क्षमता अभिवृद्धि गर्न र अधुरा सपनालाई अघि बढाउन कक्षा ११ मा भर्ना भएको उनले बताए। 

‘आर्थिक अवस्था कमजोर थियो। गाडीमा काम गर्न पाए पढ्न सजिलो हुन्थ्यो भनेर केही वर्ष काम गरें। एसएलसीसम्म त जसोतसो पास गरें। तर, अगाडि जान सकिनँ’, उनले भने, ‘बालबालिकाले मैले जस्तै आर्थिक अभावकै कारण अध्ययन छाड्नुपर्ने अवस्था नआओस् भनेर आफ्नै पहलमा गाउँमै कक्षा १२ सम्मको अध्यापन हुने प्रबन्ध मिलायौं।’ उनी सकेसम्म नियमित विद्यालय जान्छन्। बिहान १० बजे पोसाकमा विद्यालयमा हाजिर हुन्छन्। नयाँ विद्यार्थीलाई अध्ययनमा जाँगर बढोस् भनेर पनि आफु भर्ना भएको उनको भनाइ छ। ‘त्यस बेला आर्थिक समस्याका कारण पढाइ रोक्नुप¥यो। पहिले र अहिलेको शिक्षामा धेरै भिन्नता भइसक्यो। अहिले शिक्षाबिना कुनै काम अघि बढाउन नसकिने महसुस गर्दै छु’, उनले भने, ‘शिक्षा अत्यावश्यक र महत्वपूर्ण छ। समाज परिवर्तनका लागि म उत्प्रेरकका रूपमा शिक्षालाई अघि बढाउन चाहन्छु।’ विद्यालय परिसरसँगै वडा कार्यालय छ। त्यसैले पनि उनलाई पढ्न र वडाको काम गर्न सजिलो भएको छ। 

उनी बिहानै वडा कार्यालय पुग्छन्। ‘कक्षा सकिनासाथ वडा कार्यालयमै बस्छु। आपत्कालीन अवस्थामा वडा कार्यालयनजिकै छ। मेरो अध्ययनले वडावासीलाई प्रवाह हुने सेवामा कुनै पनि कमी हुन दिएको छैन’, उनले भने, ‘बरु अझै पढेर गाउँमा शिक्षाको ज्योति छर्नेछु।’

आफू २०७४ सालमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भएपछि गाउँमा उच्च शिक्षा सञ्चालन गर्ने तयारी गरेको र अहिले योजना पूरा भएको उनले सुनाए। ‘हामीले २०७३ चैतमा क्याम्पस सञ्चालनको उद्देश्य लिएर महायज्ञ लगाएका थियौं। त्यसबाट ९ लाख रुपैयाँ संकलन भएको थियो। सो पैसा बैंकमा मुद्धती खातामा राखेका थियौं’, उनले भने, ‘अहिले सबै प्रक्रिया पूरा गरेर हामीले गाउँमै उच्चशिक्षा पढ्न मिल्ने वातावरण बनाएका छौं।’ 

उनका दुवै जना छोराले भने कक्षा १२ पास गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन्। ‘प्लस टु पास गर्ने इच्छा छ। शिक्षा संकाय लिएर कक्षा ११ मा भर्खर भर्ना भएको छु’, उनले भने, ‘अब हेर्दै जाऊँ नतिजा कस्तो आउँछ त्यसको आधारमा पनि अघि बढ्नेछु।’

एसईईपछि गाउँबाट हेटौंडा बजार आएर पढ्नुपर्ने, आर्थिक अवस्था कमजोर हुँदा पढाइ छाड्नुपर्ने समस्याको अन्त्य भएको उनले बताए। विद्यालय भवन निर्माण, आईसीटी ल्याब, साइन्स ल्याब, पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। भौतिक संरचना स्तरोन्नतिका लागि ६० लाख बजेट स्वीकृत भइसकेको उनले बताए।

१३ समाजसेवीले दान गरेको १ बिघा सात कट्ठा जग्गामा २०१९ सालमा बाल जीवनज्योति स्कुल स्थापना भएको थियो। उक्त विद्यालयमा कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकाकोय पढाइ प्रारम्भ भएको प्रधानाध्यापक एकराज गौतमले बताए। करिब साढे ५ सय विद्यार्थी संख्या रहेकोमा कक्षा ११ सञ्चालनसँग ६ सयभन्दा बढी विद्यार्थी पुग्ने प्रधानाध्यापक गौतमको भनाइ छ। विद्यालयमा शिक्षक दरबन्दी थप गर्न सके शिक्षणलाई अझै गुणस्तरीय बनाउन सकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.