हात गुमाएका केसीलाई सहयोग
साउदी अरेबिया : साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परि १ हात गुमाएका दाङका हेमराज केसीलाई सहयोग प्राप्त भएको छ। भदौ १६ मा अन्नपूर्ण पोस्टबाट प्रकाशित भएको समाचारका आधारमा सहयोग गर्ने क्रममा साउदीमा रहेको सामाजिक संस्था नेपाली साझा मञ्चले ६९ हजार १ सय ९९ रूपैयाँ सहयोग गरेको छ भने
स्याङ्जा सहयोग समाज तथा कास्की आदर्श समाज साउदीले २ महिनाका लागि खाद्यान्न सहयोग गरेका छन्। वैदेशिक रोजगारका क्रममा दाङ–५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ म्यानपावरबाट २२ मार्च २०२२ का दिन साउदी पुगेका थिए। २५ अप्रिलमा कम्पनीको गाडीमा कोठा फर्कने क्रममा सडक दुर्घटना परी एक हात गुमाएका थिए भने उनीसँगै रहेका झापाका एक नेपालीको मृत्यु भएको थियो भने रमेश रम्तेलले एउटा हातको ३ औंला गुमाएका थिए।
प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रममा कम्पनीले साधारण उपचार पछि वेवास्ता गरेको र आवश्यक उपचार नगरेको, खान तथा उपचार गर्न कठिनाइ रहेको भन्दै पिडीतले गुनासो व्यक्त गरेलगत्तै एनआरएन महिला केन्द्रीय सदस्य यास्मिन वेगम, अमर सापकोटा, पारस काफ्ले, बिष्णु घिमिरे, अमर श्रेष्ठ, मनिस थापा, यम दमुलगायतले छलफल गरी आवश्यक खाद्यान्न सहयोगका लागि पहल गरेका थिए।
राईका अनुसार सम्झौता अनुसारको सेवा सुविधा नपाएको, सडक दुर्घटनामा आफ्नो गल्ती पुलिस केसमा देखाएको र केश तनफिज कोर्टमा रहेकाले हालसम्म पनि कुनै सुनुवाई नभएको जानकारी दिए। हात गुमाएका पीडित केसी दुतावासमा जानकारी दिएलगत्तै रियादस्थित नेपाली दूतावासले सम्बन्धित कम्पनी, म्यानपावर र पीडितसँग छलफल गरी आवश्यक सहयोगका लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पीडितले पाउनुपर्ने सेवा सुविधामा जोड दिएको छ । केसीले पाउनुपर्ने इन्सुरेन्स रकम लगायत अन्य कुराको सहयोग गराउने जानकारी दिएको छ। केसीको विना उपचार र सेवा सुविधा नदिइ कम्पनीले स्वदेश फिर्ता गर्ने क्रममा दुतावासले उडान रद्द गराएको थियो। साउदी जाँदा केसीले नासिर हाउजिङ म्यानपावरलाई १ लाख ८५ हजार बुझाएका थिए। अर्का एक हात गुमाएका मोरङका किशोर राईलाई सीडीसी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियाल सहयोग प्राप्त भएको थियो।