गाउँपालिकालाई प्रश्नै प्रश्न
दैलेख : ‘सरकारले पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भन्ने सुनेका थियौं। दैलेख सुर्खेत सडकखण्डको माथिल्लो डुंगेश्वर बजारदेखि हाम्रो गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे कहिले हुन्छ ?’ बिहीबार डुंगेश्वर गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई तथा वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकालाई स्थानीय बिमला गुरुङले प्रश्न गरिन्। उनले गाउँपालिकाको कार्यालयसम्म आउने सडकको अवस्था नाजुक भएका कारण पालिकावासीले सास्ती खेप्नुपरेको गुनासो गरिन्।
उनको प्रश्नको जवाफमा गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकासम्म जोड्ने सडक स्तरोन्नतीको काम प्रदेश र संघीय सरकारले गरिरहेको बताए। ‘हामी प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय र पहल गरेर सडक कालोपत्रे गर्न प्रतिबद्ध छौं’, अध्यक्ष केसीले भने। गाउँपालिकाका इन्जिनियर विभूषणकुमार खड्काले पनि विगत केही वर्षयता प्रदेश र संघीय सरकारको बजेटबाट गाउँपालिका जोड्ने सडक स्तरोन्नतीको काम भइरहेको जवाफ दिए।
गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/७९ मा प्रवाह गरिएको वार्षिक विकास कार्यक्रम र सेवासुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले पालिकासँग विभिन्न प्रश्न गरेका छन्। उनीहरूले सडक निर्माण, रैथाने र लोपोन्मुख कृषि उपज वस्तु संरक्षण र प्रवर्द्धनन, किसानले उत्पादन गरेको कृषि उपज वस्तु बजारीकरण, गाउँपालिकाको आन्तरिक आय, खानेपानीको अभावलगायतका सवालमा प्रश्न गरेका हुन्।
स्थानीय बमबहादुर शाहीले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने र लोपोन्मुख तरकारी तथा खाद्यवस्तुको बीउ संरक्षणमा गाउँपालिकाले चासो दिनुपर्ने सुझाव दिए। स्थानीय गगन पौडेलले खानेपानीको अभाव रहेको भन्दै प्रश्न गरे। जवाफमा गाउँपालिका अध्यक्ष केसीले रैथाने र लोपोन्मुख कृषि उपज वस्तु संरक्षण र प्रवर्द्धनन गर्न आफूहरू तयार रहेको बताए। उनले किसानले उत्पादन बढाउनुपर्ने र गाउँपालिकाले बजारीकरणमा सहयोग गर्ने वचनसमेत दिए। सहभागीको प्रश्नको जवाफ दिँदै अध्यक्ष केसीले भने, ‘हामी गाउँपालिकाका सबै घरधुरीमा खानेपानीको सुविधा पुर्याउन प्रतिबद्ध छौं।’
नागरिकले उठाएको प्रश्नहरूको उपाध्यक्ष कलावती न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र खड्का, लेखा अधिकृत टंकबहादुर कार्की तथा विषयगत शाखाका प्रमुखहरूले जवाफ दिए। गाउँपालिकाको आयोजना तथा जेम मिडिया ट्रेनिङ एन्ड रिसर्च सेन्टरको सहजीकरणमा सञ्चालित कार्यक्रममा सार्वजनिक सेवा प्रवाह तथा वार्षिक प्रगति विवरण विषयगत शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाले पाँच बुँदे सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस !