सबै बालबालिकालाई जन्मदर्ताको पहुँचमा पुर्याइने
जाजरकोट : जिल्लाको शिवालय गाउँपालिकाले जन्मदर्ताको पहुँच बाहिर रहेका बालबालिकाको संख्या शून्यमा झार्ने प्रतिवद्धता गरेको छ।
गाउँपालिकामा गरिएको एक सर्वेक्षणबाट पाँच वर्षमुनिका ५७ जना बालबालिका जन्मदर्ताको पहुँचबाहिर रहेको तथ्यांक देखिएपछि गाउँपालिकाले यसै आर्थिक वर्षभित्र सबै बालबालिकालाई जन्मदर्ताको पहुँचमा पुर्याउने प्रतिवद्धता जनाएको हो।
व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी स्थानीय सरकार, जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि क्षमता अभिवृद्धिमूलक अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख दलबहादुर बाँठाले जन्मदर्ताको पहुँचबाहिर रहने बालबालिकाको संख्या शून्यमा झार्न आवश्यक पहल गर्ने बताएका छन्।
विभिन्न कारणले जन्मदर्ताको गाउँमा आउन नसक्दा ती बालबालिका सामाजिक सुरक्षा अन्तर्गत बालपोषण भत्ता पाउनबाट समेत बञ्चित भएका छन्।
सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा सञ्चालित पहुँच परियोजनाले गरेको घरधुरी सर्वेक्षणबाट ५७ जना बालबालिकाले जन्मदर्ता नगराएको पाइएको हो।
पहुँच परियोजनाकी कार्यक्रम संयोजक अस्मिता राजभण्डारीका अनुसार जन्मदर्ताको पहुँचमा नआएका बालबालिकामध्ये १४ जनालाई आवश्यक सहजीकरण गरेर जन्म दर्ता गराएर बालपोषण भत्ताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
अन्य बालबालिकालाई पनि जन्मदर्ता गराउन पहल भइरहेको उनले बताइन्।
आमाबाबु वैदेशिक रोजगारमा जानु, उमेर नपुग्दै विवाह गर्नु, जनचेतनाको अभाव लगायतका कारणले अझै पनि कतिपय बालबालिका जन्मदर्ताबाट बञ्चित हुन पुगेको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक कौशिला चन्दले बताइन्।
यसरी जन्मदर्ताबाट बञ्चित भएर राज्यले दिने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर आफूहरूले स्थानीय तहसँगको सहकार्यमा पैरवी गरिरहेको उनको भनाइ छ।
जाजरकोटका भेरी नगरपालिका र शिवालय गाउँपालिका तथा दैलेखका नारायण नगरपालिका र ठाटिकाध गाउँपालिकामा चार वर्षे पहुँच परियोजना लागू गरेको छ।
सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट छुटेका योग्य लाभग्राहीहरू पहिचान गरी पहुँचमा ल्याउने, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने, बाल पोषण भत्ताको उद्देश्य अनुरूप कुपोषण घटाउन सहयोग पुर्याउनका लागि दुई वर्ष मुनिका बालबालिकाहरूका प्रमुख हेरचाहकर्तालाई अभिभावक कार्यक्रम, बालसंवेदनशील नीति तथा कार्यक्रमका लागि आवश्यक सहयोग, सहकार्य र वकालत गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको संयोजक चन्दले बताइन्।
अभिमुखीकरण कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले व्यक्तिगत घटना दर्ता तथा पञ्जीकरणमा वडा कार्यालयले संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन्।
वडा सचिवको सानो गल्तीले पनि सेवाग्रहीले धेरै दुःख पाउने भएकोले संवेदशील र इमान्दार भएर काम गर्न आग्रह गरे। वडाध्यक्षले पनि अनावश्यक दवाव नदिन आग्रह गरे।
प्रजिअ शाहीले भने 'जन्मदर्ता गर्दा स्वास्थ्य संस्थाको प्रमाणपत्र माग्नुभयो भने गलत विवरण आउन सम्भावना पनि हुँदैन र संस्थागत सुत्केरी हुनेको संख्यामा पनि वृद्धि हुन्छ। कुनै कारणले पनि घटना दर्ता रोकिनु हुँदैन र रोकिदैन पनि।'
प्रतिक्रिया दिनुहोस !