पूर्वसहकर्मी बीच प्रतिस्पर्धा
![पूर्वसहकर्मी बीच प्रतिस्पर्धा](https://annapurnapost.prixacdn.net/media/albums/pradeep_20221010113042_VKBxVOPzxs.jpg)
बुटवल : लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभामा एउटै दलमा सँगसँगै केही पुराना र अधिकांश नयाँ अनुहारको उम्मेदवारी परेको छ। खसगरी सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीचको प्रतिस्पर्धामा नयाँ अनुहारहरू देखिएका हुन्। ती नयाँ प्रतिस्पर्धी केही समयअघिसम्म एउटै पार्टीमा सहकार्य गरेका नेताहरू छन्।
रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्माले घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्दैछन्। मनोनयनको अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका यी दुई नेताको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेमा टिकट नपाएपछि भुसाल गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका हुन्। यो क्षेत्र गठबन्धनमा माओवादीको भागमा परेको थियो।
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्टले नेकपा एसकी रामकुमारी झाक्रीसँग प्रतिस्पर्धा गर्दैछन्। विष्ट र झाक्री अघिल्लो निर्वाचनमा सँगसँगै सूर्य चिह्नमा मत माग्दै गाउँ डुलेका थिए। यसपटक यी दुई पूर्वसहकर्मीबीच नै प्रतिस्पर्धा हुन लागेको हो। यो क्षेत्रमा गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेसका डा. दामोदर भुसालले उम्मेदवारी दर्ता गरेका छन्। उनी प्रदेश योजना आयोगका सदस्य समेत हुन्।
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एसका सोमप्रसाद पाण्डेले एमालेका नेता ठाकुर गैरेसँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। पाण्डेले निरन्तर टिकट पाएकै कारण गैरेको संसद् यात्रा अवरुद्ध भइरहेको नेताहरू बताउँछन्। अघिल्लो निर्वाचनमा पाण्डेलाई जिताउने चुनावी कमाण्डर गैरे यसपटक आफू जित्नेगरी चुनावमा होमिएका हुन्। रुपन्देही क्षेत्र नम्बर २ मा पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेकपा एसका राजु गुरुङसँग प्रतिस्पर्धा गर्दैछन्। पौडेलले यही निर्वाचन क्षेत्रबाट कांग्रेसका सूर्य प्रधान, युवराज गिरी, माओवादीका डा. बाबुराम भट्टराईलाई हराउदै तीनपटक जित हासिल गरेका छन्। गुरुङको उम्मेदवारीले पौडेललाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ।
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका दीपक बोहोराबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो निर्वाचनमा खाँण समानुपातिकमा बसेर बोहोरालाई गठबन्धनबाट उम्मेदवार बनाएका थिए। बोहोरा एमालेका घनश्याम भुसालसँग पराजित बनेका थिए। अहिले खाँणसँग बोहोराको प्रतिस्पर्धा हुने भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका दुई जनाको मनोनयन दर्ता भएको छ। राष्ट्रियसभा संसदीय दलको नेता त्यागेर खिमलाल भट्टराई यो क्षेत्रमा चुनाव लड्न आएका छन्। उनले आइतबार दिउँसो मात्रै टिकट पाएका थिए। त्यसअघि टिकट पाएका तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृत चिन्तामणि शर्माले प्रमाणका आधारमा उम्मेदवार टुंगो लाग्ने बताए। यो क्षेत्रमा कांग्रेसका भरत शाहले गठबन्धनकातर्फबाट मनोनयन दर्ता गराएका छन्।
एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन्। माओवादीका कृष्णबहादुर महरा समानुपातिकमा समेटिएपछि रेखा शर्मासँग पोखरेलको प्रतिस्पर्धा हुनेछ। गएको निर्वाचनमा पोखरेल महरालाई प्रतिनिधिसभा छाडेर प्रदेशसभामा आई मुख्यमन्त्री बनेका थिए। रोल्पामा गठबन्धनबाट माओवादीका वर्षमान पुनले वारेसनामार्फत उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश निर्वाचन क्षेत्र ख मा भने कांग्रेसविरुद्ध माओवादीका नेता दीपेन्द्र पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले माओवादी पार्टी परित्याग गर्दै उम्मेदवारी दर्ता गराएका हुन्। पुनः निवर्तमान प्रदेश सांसद हुन्।
नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा उद्योगति विनोद चौधरी र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपाठीले यसअघि सूर्य चिह्नबाट चुनाव जितेका थिए। यो क्षेत्रमा एमालेले सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ। जेलमा रहेका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उनी कैलालीबाट चुनाव जितेका थिए। लुम्बिनी प्रदेशमा प्रभावशाली नेताहरू एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर १, कांग्रेसकी पुष्पा भुसाल र एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट चुनावमा भिड्दैछन्।
गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी
दलीय गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन्। गुल्मी क्षेत्र नम्बर २ मा रामकुमारी झाक्रीविरुद्ध कांग्रेसका दामोदार भुसालले उम्मेदवारी दर्ता गराएका छन्। गुल्मीकै क्षेत्र नम्बर १ क मा माओावादीका सुदर्शन बरालविरुद्ध कांग्रेसका किरणप्रताप शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गरेका छन्।
(ख) मा कांग्रेसका धनेन्द्र कार्कीका विरुद्ध माओवादीका रामचन्द्र कँडेलको स्वतन्त्र उम्मेदारी परेको छ। अर्घाखाँचीमा जनमोर्चाले प्रदेशका दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। बाँकेमा जसपाले गठबन्धन छाडेर संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)