न्युजिल्यान्डसँग अस्ट्रेलिया स्तब्ध
सिड्नी : घरेलु टोली अस्ट्रेलिया टीट्वेन्टी विश्वकपको पहिलो खेलमै स्तब्ध बनेको छ। शनिबार भएको सुपर १२ को खेलमा अस्ट्रेलियालाई न्युजिल्यान्डले पराजित गरेको हो।
सिड्नी क्रिकेटमा मैदानमा साविक विजेता घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डसँग ८९ रनको फराकिलो हार बेहोरेको हो। दुई सय एक रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा एक सय ११ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए। उनले २० बलमा एक छक्का र तीन चौका हिर्काए। यस्तै प्याट कमिन्सले २१, मिचेल मार्सले १६, कप्तान एरोन फिन्चले १३ र टिम डेविडले ११ रन बनाए। अस्ट्रेलियालाई कम योगफलमा रोक्न न्युजिल्यान्डका मिचेल स्यान्टनर र टिम साउथीले तीन/तीन विकेट लिए। यस्तै ट्रेन्ट बोल्डले दुई तथा लकी फगुर्सन र इस सोधीले एक/एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय रनको योगफल खडा गरेको थियो। न्युजिल्यान्डका लागि ओपनर डेविड कन्वेले अविजित ९२ रनको अर्धशतकीय पालि खेले। उनले ५८ बलमा दुई छक्का र सात चौका हिर्काए। यस्तै फिना एलेनले ४२, जेम्स निसमले २६, कप्तान केन विलियम्सनले २३ र ग्लेन फिलिप्सले १२ रन बनाए। अस्ट्रेलियाका जोस हेजलउडले दुई विकेट लिए। यस्तै एडम जाम्पाले एक विकेट हात पारे।
पहिलो खेलमै प्रभावशाली जित हात पारेको न्युजिल्यान्ड दुई अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। यस समूहमा न्युजिल्यान्ड र अस्ट्रेलियासँगै इङ्ल्यान्ड, श्रीलंका, आयरल्यान्ड र अफगानिस्तान छन्। विश्वकप क्रिकेटकै अर्को खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्यो।
अफगानिस्तानले दिएको एक सय १३ रनको मध्यम लक्ष्य इङ्ल्यान्डले १८.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो। इङ्ल्यान्डको जितमा लियम लिभङस्टानले सर्वाधिक २९ रन बनाए। यस्तै एलेक्स हल्सले १९, जस बटलर र डाविड मालनले समान १८ रन बनाए। अफगानिस्तानका फजलहक फारुकी, मुजिमउर रहमान, रासिद खान, फरिद अहमद मलिक र कप्तान मोहमद नाबीले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले १९.४ ओभरमा अलआउट हुँदै एक सय १२ रनको मध्यम योगफल खडा गरेको थियो।
अफगानिस्तानका इब्राहिम जार्डनले ३२, उस्मान घानीले ३० र नजिबुल्लाहले १३ रन बनाए। इङ्ल्यान्डका साम कुरानले पाँच विकेट लिए। यस्तै बेन स्टोक र मार्क उडले दुई/दुई तथा क्रिस वक्सले एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस !