कञ्चनपुर-२ मा हारको बदला लिने साउदको दाउ, विरासत जोगाउने संघर्षमा धामी

कञ्चनपुर-२ मा  हारको बदला लिने साउदको दाउ, विरासत जोगाउने संघर्षमा धामी

काठमाडौं: आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर-२ मा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसका नारायणप्रकाश(एनपी) साउद र एमालेका नरबहादुर धामीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छैनन् ।

२०७४ सालको निर्वाचनमा ८९ हजार ७९१ मतदाता रहेको यो क्षेत्रमा यस पटक एक लाख ५ हजार ५७७  मतदाता छन् । यो पटक गत निर्वाचनको तुलनामा १५ हजार ७८६ मतदाता थपिएका छन् । महिला मतदाता ५४ हजार ७४६ र पुरुष मतदाता ५० हजार ८३० छन् । थपिएका मतदातामध्ये अधिकांश २१ देखि ४५ वर्ष समूहका छन् ।

निर्वाचनमा प्रतिस्पर्धा गर्ने कांग्रेसका साउद, एमालेका धामीसहित राप्रपाका ३७ वर्षीय अशोकबहादुर सिंह, लोसपाका ३६ वर्षीय लोकराज भट्ट, जनमत पार्टीका ६० वर्षीय प्रेमसिंह बडाललगायतको प्रतिस्पर्धा हुनेछ ।

२०७४ सालको निर्वाचनमा एमालेका धामी ३३ हजार २२० मत ल्याइ विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका एनपी साउदले २४ हजार ८९३ मत ल्याएका थिए । धामी र साउदको मतान्तर ८ हजार ३३७ थियो ।  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका चन्द्रबहादुर डगौरा ४५९ मत प्राप्त गरी तेस्रो भएका थिए ।

साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री साउदको केन्द्रीय राजनीतिमा बलियो पकड छ ।  साउद प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन् । साउद ०७४ को हारको बदला लिँदै संसद पुग्ने प्रयासमा छन् । उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए ।

 ०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै सांसद बनेका थिए । ०६४ मा साउद क्षेत्र २ मा माओवादीका नेता देवीलाल चौधरीसँग पराजित भए  । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरका तत्कालीन चार वटै क्षेत्र कांग्रेसले जितेको थियो ।

धामी एमाले भातृ संगठन अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष रहिसकेका नेता हुन् । विद्यार्थी राजनीतिका समयमा कञ्चनपुरमा छवि बनाएका नेता धामी चर्चित जनज्योती गोलीकाण्डमा घाइते भएका थिए । कञ्चनपुरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसको सभापति भएका थिए । धामी केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । धामी कञ्चनपुरमा तेस्रो पटक संसदीय चुनाव लड्दैछन् । 

अहिलेसम्मका दुई चुनावमध्ये धामीले एकपटक  जित निकालेका छन् । पहिलो पटक ०७० मा संसदीय चुनाव फेस गरेका धामी तत्कालीन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुरसिंह थापासँग पराजित भएका थिए ।  धामी ०७४ को विरासत कायम राख्दै फेरि संसद पस्ने दाउमा छन् ।

यस्तो छ तथ्याङक
यो निर्वाचन क्षेत्रमा बेदकोट नगरपालिका(८ बाहेक), कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सबै वडा पर्छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत आँकलन गर्दा पहिलो दल कांग्रेस देखिन्छ । कांग्रेसले २२ हजार ७१४ मत प्राप्त गर्दा एमालेले १८ हजार ३६५ मत प्राप्त गरेको थियो । यस्तै माओवादी केन्द्रले ११ हजार ९३६, नेकपा एकीकृत समाजवादीले ४ हजार ६२५, राप्रपाले ४ हजार १५७ मत ल्याएको थियो । 

यो निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३९ हजार दुई सय ७५ हुन आउँछ ।

गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा कृष्णपुर नगरपालीकाको मेयरमा १० हजार ३३४ मत ल्याउँदै कांग्रेसका हेमराज ओझा विजयी भएका थिए । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याएका थिए ।

यस्तै, बेदकोट नगरपालिकाको मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत ल्याउँदै विजयी भएका थिए । उनका प्रतिद्वन्दी एमालेकी सुशीला सिंहले ४ हजार ७४० मत ल्याएकी थिइन् ।

यस्तै, शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले विजयी भएको थियो । यो नगरपालिकामा कांग्रेसका रणबहादुर महराले ६ हजार ७७३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्दी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत ल्याएका थिए ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत आँकलन गर्दा बेदकोटको वडा १, ३,४,५,७, कृष्णपुरको १,५,८, ९ र शुक्लाफाँटाको ४ र ५ नम्बर वडामा कांग्रेस विजयी भएको थियो ।

यस्तै, बेदकोटको वडा २, ९ कृष्णपुरको ७ र शुक्लाफाँटाको १ र २ नम्बर वडामा एमाले विजयी भएको थियो ।

बेदकोटको वडा ६ कृष्णपुरको २,३,४,६ र शुक्लाफाँटाको ३  नम्बर वडामा माओवादी केन्द्र विजयी भएको थियो । बेदकोट ८ मा भने नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष जितेको छ । 

स्थानीय तहको निर्वाचनलाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार साउद अगाडि देखिन्छ । धामी पनि जित्ने दावीसहित चुनावी प्रचारमा रहेकाले विजयी को हुने भन्ने अन्तिम परिणामले देखाउनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.