हिन्दू अधिराज्यको पक्षमा रहेका उम्मेदवारलाई मतदान गर्न अपिल
हेटौंडा : विश्व हिन्दू महासंघले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाषा, धर्म र संस्कृतिको संरक्षणमा समर्पित हिन्दू अधिराज्यको पक्षधर दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ।
महासंघकी अध्यक्ष अस्मिता भन्डारीले बुधबार विज्ञप्ति जारी गर्दै स्वार्थी र विधर्मी नेताहरूलाई पटक पटक नेतृत्वमा पठाउँदा भाषा, धर्म र संस्कृति मात्र नभई सामाजिक सद्भाव, परम्परा तथा धार्मिक मूल्य मान्यता र सांस्कृतिक एकतामा दिनानुदिन विचलन पैदा भइरहेको भन्दै अब सचेत हुनुपर्ने बेला आएको उल्लेख गरिन्।
नेपाल संसारकै एकमात्र हिन्दू अधिराज्यको पहिचान भएको देश भएको भन्दै उनले विधर्मीको इसारा र आर्थिक प्रलोभनमा परी जनचाहना विपरीत धर्म निरपेक्ष गरिएको भन्दै आपत्ति जनाइन्।
उनले यो निर्वाचनमा हिन्दू अधिराज्यको पक्षमा रहेका उम्मेदवारलाई मत दिई भाषा, धर्म र संस्कृतिको रक्षा गर्न सबैलाई अपिल गरिन्।
प्रतिक्रिया दिनुहोस !