‘भोट हाल्नै सिकाएनन्’
इलाम : सोममाया राईले १७ वर्षको उमेरदेखि नै इलामको कन्याम चिया बगानमा चिया टिप्न थालेकी हुन्। अहिले ६० वर्ष लागिन। तर, पिठ्यूँमा चियाको डोकोले अझै छाडेको छैन।
मेची राजमार्गको आडमा बिहानैदेखि चिया टिप्छिन्। न कसैले उनीसँग भोट मागेको छ, न त उनलाई भोट हाल्न नै सिकाएको छ। ‘कसरी भोट हाल्ने ? कसैले सिकाएको छैन,’ अन्नपूर्णसँग उनले दुःखेसो पोखिन्। राईमात्र होइन, चिया बगानका १ सय ५० श्रमिकसँग कसैले मत पनि मागेका छैनन्। पार्टीका झण्डा बोकेका गाडीहरू चिया बगान भएरै यताउता कुदिरहेका हुन्छन्। ‘अहिलेसम्म भोट माग्न कोही आएको छैन,’ राईले भनिन्। 
अघिल्ला निर्वाचनहरूमा उम्मेदवारको पहिलो गन्तव्य बन्ने गरेका इलामका सरकारी स्वामित्वका चिया बगानमा अहिले उम्मेदवारको प्राथमिकता घटेको श्रमिकहरूको अनुभव छ। राईले सुनाइन् ‘जो आए पनि हाम्रा लागि कसैले केही गर्ने हैन।’ दशकदेखिको वेतन वृद्धि र सुविधाका मागहरू पूरा गर्न नसकेका राजनीति दलहरूलाई आश्वासनको नयाँ एजेन्डा नथपिएकाले पनि ‘भोट बैंक’ मानिने चिया मजदुरसामु पुग्न हिच्किचाएको श्रमिकहरू बताउँछन्।
कन्याम, इलाम, शोक्तिम र चिलिमकोट चिया बगानका मजदुरले सरकारले राजपत्रमा प्रकाशन गरेको ज्यालासमेत नपाएको अवस्थामा उम्मेदवारहरू एजेन्टहरूमार्फत नै भोट फकाउने रणनीतिमा देखिएको मजदुर नेताहरू बताउँछन्। दलका केही स्थानीय कार्यकर्ताले आफ्नो पार्टीको चिह्नमा मत हाले माग पूरा गर्ने आश्वासन सुनाए पनि इलामका चारबटै बगानमा उम्मेदवारको चाप पूरै घटेको श्रमिक नेताहरू बताउँछन्। 
बगानमा श्रमिकका लागि स्वास्थ्य, शिक्षा, बसोबासको सामान्य प्रबन्धसमेत नगरेकोप्रति मजदुरको गुनासो छ। बगान व्यवस्थापनले श्रम ऐनमा तोकिएको ज्यालासमेत दिएको छैन। एक श्रमिकले भने ‘दशकौंदेखि हामीलाई भोकै भोटबैंक बनाएका छन्, कसरी आउन सक्छन् हामीमाझ।’ सरकारले तोकेको ज्याला झापाका बर्ने, टोक्ला र बाह्रदशी चिया बगानका मजदुरले मात्र पाएपछि पहाडका मजदुरमाथि भएको विभेदको समाधान गर्न सबै दल असक्षम भएको मजदुरहरूको गुनासो छ।
चिया विकास निगमअन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएपछि मजदुरका पक्षमा बोल्ने क्षमता सरकारले पनि गुमाएकोले मजदुर नेताहरूमा निक्कै आक्रोश छ। लामो समयदेखि काम गर्ने मजदुर पनि अरू विकल्प नपाउँदा जीवनका अन्तिम प्रहरहरू चिया बगानका बुट्टाहरूमा बिताइरहेका छन्। कन्याम चिया कारखाना बनाउँदा गिटी बोक्ने श्रमिकहरू अहिले पनि त्यही चिया टिप्छन् तर, उनीहरूको जीवन फेरिएको छैन।
प्रतिक्रिया दिनुहोस !