‘जितेपछि वाचा नबिर्सनू’

‘जितेपछि वाचा नबिर्सनू’

सुर्खेत : वीरेन्द्रनगर–५ निवासी मनरुपा मगर मतदान गरेपछि मुस्कुराउँदै मतदान केन्द्रबाट बाहिरिन्। आइतबार मतदान गरेर फर्किंदै गरेकी उनको अनुहारमा खुशी झल्किन्थ्यो। हर्षित मुहारमा उनले भनिन्, ‘मैले विगतमा पनि धेरै पटक भोट दिएँ। यसपालि भने धेरै खुशी छु। मेरो भोटले देशमा राम्रो हुनेछ। नेताले पहिलेजस्तो यसपटक आफ्नो वाचा बिर्सने छैनन्।’

१९९१ सालमा जन्मिएकी मनरुपाले मतदान गरेको यो पहिलो पटक भने होइन। आफ्नो जीवनमा धेरैपटक मतदान गरेकी उनले यसपालि दिएको भोटले देशमा परिवर्तन आउने विश्वास गरिन्। ‘सबैले यसपालि त काम गर्छौं भनेका छन्। सायद नेताहरूले अब गल्ती नगर्लान्’, उनले भनिन्, ‘यसपालि मेरो भोट खेर जानेछैन। चुनाव जितेपछि नेताले आफ्नो वाचा नबिर्सुन्।’ नातिनीको सहयोगमा मतदान केन्द्रसम्म पुगेकी उनले देशमा विकास हुने अपेक्षासहित आफूले मतदान गरेको बताइन्।

वीरेन्द्रनगरकै खगिसरा भण्डारीले पनि आइतबार मतदान गरिन्। उनको पनि एउटै अपेक्षा छ, ‘नेताले चुनाव जितेपछि विगतको जस्तै गल्ती नदोहोर्‍याउन्।’ ७४ वर्षीया उनले विगतमा नेताहरूले वाचा पूरा नगरेको भन्दै यसपालि वाचा पूरा नगरे पाँच वर्षपछि हिसाब खोज्ने बताइन्। ‘हाम्रो भोटले हिजो धेरै जना मन्त्री बने’, उनले भनिन्, ‘हामीले गाउँमा विकासको अनुभूति नै गर्न पाएनौं। नेताहरूले आश्वासन मात्र दिएर ढाँटे। यसपालि पनि विकास गर्छौं भनेका छन्। यसपटक वाचा भुल्नेहरूले अब पाँच वर्षपछि भोट माग्न नआए हुन्छ।’ 

नेता र उम्मेदवारहरूले चुनाव जितेपछि आफ्नो प्रतिबद्धता र जनतालाई नै बिर्सने गरेको सर्वसाधारणको दुखेसो छ। वीरेन्द्रनगरका डिल्लीप्रसाद आचार्यले भने, ‘नेता र दलप्रति गुनासो त धेरै नै थियो। तर, यसपालि नेताहरू सुध्रिन्छन् भन्ने आस छ। चुनावको बेलामा हाम्रासामु गरेका प्रतिबद्धताहरू नेताहरूले जितेपछि नभुले हुन्थ्यो। देशको विकासका लागि पनि नेताहरू इमान्दार हुनैपर्छ।’ उनले आफूहरूले गाउँमा सडक कालोपत्रे, बिजुलीको व्यवस्था, खानेपानी र स्वास्थ्यलगायतका पूर्वाधारको विकास हुने यो निर्वाचनबाट अपेक्षा गरेको सुनाए। विकास गर्ने नेता र दल आफूहरूको चाहना रहेको भन्दै उनले यसपटक जितेपछि वाचा भुल्नेहरूले अर्कोपटक सजाय पाउने बताए।

वीरेन्द्रनगर–१२ का विश्वास नेपालीले भने अब नेताहरूको आश्वासनले मात्र नहुने बताए। अब रोजगारी र आयआर्जनतर्फ नेताहरू गम्भीर बन्नुपर्ने उनको भनाइ छ। ‘नेताहरूले चुनावका बेला ठूला सपनाहरू बाँड्छन्’, उनले भने, ‘जितेर गएपछि गाउँमा फर्कदैनन्। जनताका अपेक्षाहरू पूरा गर्दैनन्। 

मुख्य समस्या भनेको दलहरूको यही हो। अब भने दलका नेताहरू सच्चिनै पर्छ।’ उनले चुनाव जित्नेहरूले आफूहरूको मतको सम्मान गर्दै भौतिक विकास र रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए। नेताहरू विकास निर्माणका काममा गम्भीर भए जनताको मत खेर नजाने उनको भनाइ छ।

सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सिटका लागि आइतबार मतदान भएको छ। आइतबारको निर्वाचनमा सुर्खेतमा सत्ता गठबन्धन एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। सुर्खेतको क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट धु्रवकुमार शाही उम्मेदवार छन्। यस्तै, जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता हृदयराम थानी र एमालेका जिल्ला अध्यक्ष अमृतकुमार विसी उम्मेदवार छन्। प्रदेशसभाका चार सिटमा पनि गठबन्धन र एमाले उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.