लुम्बिनीको पर्यटनमा सुधार
![लुम्बिनीको पर्यटनमा सुधार](https://annapurnapost.prixacdn.net/media/albums/lumbini-tourist_20221123122541_hdC5suCRoQ.jpg)
बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको चहलपहल बढ्दै गएको छ। विगतका दुई वर्षको तुलनामा दोब्बर पर्यटक लुम्बिनी घुम्न आएका छन्। पर्यटकको संख्या बढेसँगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित छन्।
यस वर्ष ६ लाख २६ हजार ४ सय ५२ पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन्। राईका अनुसार गएको वर्ष सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्यगरी २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेका थिए। यो वर्ष तेस्रो मुलुकबाट पर्यटक आउने क्रम बढेको छ। गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन्।
त्यस्तै गत वर्ष १८ हजार ६ सय ६८ जना भारतीय पर्यटक आएकामा यो वर्ष १ लाख ४९ हजार ६ सय ९ आएका छन्। कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वाभाविक भएको प्रमुख राईले बताए। तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटकसमेत लुम्बिनी आउने क्रम क्रमशः वृद्धि हुन थालेको छ। लुम्बिनी विदेशीभन्दा नेपाली अर्थात् आन्तरिक पर्यटकको प्रमुख गन्तव्यस्थल पनि हो।
गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४ सय २२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर ४ लाख ६३ हजार ६ सय ७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ। कात्तिक अन्तिम सातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिति हुन थालेको छ। त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनी भ्रमणमा आउनेहरू वृद्धि भएका छन्।
पर्यटकलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुंगा यात्राले आकर्षित गरेको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ। लुम्बिनीमा बौद्ध सांस्कृतिक वातावरण वृद्धि गर्न मोन्लाम पूजासमेत आयोजना गरिएको छ। मंसिर १२ गतेदेखि शाक्य मोन्लाम पूजा हुन लागेको हो। कोरोना महामारीपछि यो पूजा लुम्बिनीमा हुन नसकी भारतमा भइरहेको छ। त्यो मूल पूजालाई लुम्बिनीमै ल्याउन लागिएको हो।
भैरहवाबाट तीन अन्तर्राष्ट्रिय उडान
लुम्बिनीमा पर्यटक बढ्नुमा भैरहवाको गौतमबुद्ध विमानस्थलबाट भइरहेको अन्तर्राष्ट्रिय उडान पनि हो। भैरहवा विमानस्थल जेठमा उद्घाटन भएको थियो। विमानस्थलमा मंसिर १२ गतेदेखि तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दैछन्।
भैरहवाबाट एयर जजिराले साताको तीन दिन उडान गरिरहेको छ। अहिले हिमालयन एयरलायन्सले चार्टर्ड उडान भरिरहेको छ। अब नेपाल एयरलायन्सले पनि भैरहवा दिल्ली उडान गर्न लागेको हो। यो उडानले अन्तर्राष्ट्रिय तीन मुलुकसँग विमानस्थल जोडिनेछ। दिल्ली उडानबाट पर्यटकहरूको आवागमन बढ्ने विश्वास पर्यटन व्यवसायीले गरेका छन्।
पर्यटन क्षेत्रका प्रवर्तक चेतन पन्त भैरहवा विमानस्थलबाट जति धेरै अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यति धेरै पर्यटक भित्रिने बताउँछन्। बौद्ध मुलुकमा उडान भर्दा लुम्बिनी आउने पर्यटकको संख्या वृृद्धि हुने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दाहालका अनुसार एयर अरेबियालगायतका विदेशी विमान कम्पनी भैरहवाबाट उडान भर्न इच्छुक छन्। भैरहवामा विदेश जाने श्रमिकका लागि आवश्यक पूर्वाधार तयार हुनुपर्ने माग उठिरहेको छ। पर्यटन व्यवसायीले भने श्रमिक ल्याउने लैजानेमा केन्द्रित हुनुभन्दा पर्यटक बोक्नकै लागि विमानस्थल सञ्चालन हुनुपर्ने उनी बताउँछन्।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले विदेशी पर्यटक भित्र्याउनका लागि बाह्य देशहरूमा लुम्बिनी तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए। ‘सरकारले प्रवद्र्धनात्मक कार्यक्रम बनाएर विदेशमा लैजानुपर्छ, तव न पर्यटक आउँछन्,’ उनले भने। अहिले वृद्धि भइरहेको आन्तरिक र बाह्य पर्यटकको संख्याले भने संकटमा रहेको पर्यटन क्षेत्रमा केही उत्साह थपेको छ। लुम्बिनी क्षेत्रमा रहेका होटलहरू कोरोनाकालमा बन्द भएका थिए भने कैयांै व्यवसायीहरू विस्थापित भएका छन्। होटलमा लगानी थपेर सुविधा वृद्धि गर्न लागिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)