ऐतिहासिक ठूलोआँगन खन्न अवरोध
गोरखा : पुरातत्व विभागले निर्माण गरेको ऐतिहासिक ठूलोआँगन खनिएको भन्दै स्थानीयवासीले काममा अवरोध गरेका छन्।
पृथ्वीनारायण शाहको सालिक राख्न भन्दै गोरखा नगरपालिकाले ठाउँ तयार गरिरहेको ठाउँमा भेला भएका स्थानीयवासीले खाल्डो पुरेका हुन्।
गोरखा नगरपालिका-५ सतिपिपल, गैरीकुवा, गोरखा दरबार क्षेत्र र वडा नं. ३ नारेश्वर क्षेत्रका बासिन्दा मंगलबार भेला भई खाल्डो पुरेका हुन्।
ऐतिहासिक ठूलोआँगन खनेर त्यहाँ नयाँ संरचना बनाउँदा त्यहाँ हुँदै आवतजावत गर्न असहज हुने भन्दै ५० जना भन्दा धेरै समूहमा भेला भएकाहरूले खाल्डो पुरेका हुन्।
पुरातत्व विभागले करिब ४० वर्षभन्दा अघि बिछ्याएको ढुंगा हटाएर गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँको लागतमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्न लागेको थियो। सुरुदेखि नै विवादित बन्दै आएको सो कार्यक्रममा स्थानीयवासीले अवरोध गरेका हुन्।
नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रूपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिने कार्यक्रम तय भएको थियो।
नगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो। सो कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ।
तर कतिपय स्थानीयवासीले भने पुरातात्विक सम्पदामा आँच आउने गरी नयाँ संरचना बनाउन लागेको भनेर विरोध गरिरहेका छन्। विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो।
यसअघि २०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो।
त्यसैअन्तर्गत तल्लो दरबारलाई गोरखा संग्रहालय, आसपासका क्षेत्रलाई गोरखा पार्क, पृथ्वीनारायण शाहको सालिक निर्माण गरेको छ। साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ।
केही स्थानीयवासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातात्विक नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा संग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो।
पुरातात्विक क्षेत्रबाट मुक्त भएपछि यसअघि बिछ्याइएको ढुंगा फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालिएको हो।
प्रतिक्रिया दिनुहोस !