देउवालाई भेटेर प्रचण्डले भने- म प्रधानमन्त्री बन्छु, सहयोग गर्नुहोस्

देउवालाई भेटेर प्रचण्डले भने- म प्रधानमन्त्री बन्छु, सहयोग गर्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन्। सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन्। 

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएका हुन्। देउवा र प्रचण्डबीच भएको भेटलाई उदृत गर्दै कांग्रेसका एक उच्च नेताले अन्नपूर्णलाई भने, ‘प्रचण्डजीले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री देउवाज्यूसँग औपचारिक प्रस्ताव गर्नुभयो। दाहाल र देउवाबीच झण्डै ४५ मिनेट बालुवाटारमा भेटवार्ता भएको हो।’

देउवा निकट ती नेताका अनुसार, प्रधानमन्त्री देउवाले प्रचण्डलाई कुनै जवाफ दिएनन्। देउवाले प्रचण्डलाई आफूले पार्टीमा कुरा राख्ने मात्र बताएको उनले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्न सक्दैन। उनले भने,‘ तेस्रो दलको व्यक्तिलाई कांग्रेसले कसरी प्रधानमन्त्री बनाउँछ। देउवाको विकल्पमा प्रधानमन्त्रीका लागि कांग्रेसले कसैसँग छलफल गर्दैन। केही दिनमा देउवा पुन : प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’

निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए। निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन्। प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए। 

प्रचण्ड निकटका एक नेताका अनुसार, केही दिनदेखि आँफै प्रधानमन्त्री बन्ने तयारीमा प्रचण्डले गृहकार्य थालेका छन्। त्यसका लागि प्रचण्डले पार्टीभित्र आन्तरिक छलफलाई तीब्रता दिएका छन्। 

छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेका कांग्रेस सभापति देउवा, प्रचण्डको प्रस्तावले झस्किएका छन्। वर्तमान सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने तयारी गरिरहेका देउवा पनि एमाले–माओवादी केन्द्रबाहेक सरकार बनाउने विकल्पबारे समेत छलफलमा छन्।

कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र गगन थापाले तयारी गरिरहेका छन्। देउवालाई संसदीय दलको नेता बन्नबाट रोक्न महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तीब्र लबिङमा जुटेका छन्। 

प्रचण्डले मंसिर २९ गते गृहमन्त्री बालकृष्ण खाणसँग छलफल गरेका थिए। सो क्रममा समेत नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने बताएका थिए। पछिल्लो समय आँफै प्रधानमन्त्री बन्ने आसयले प्रचण्डले एमालेलगायत साना र स्वतन्त्रबाट निर्वाचित सांसदहरुसँग परामर्श गरिरहेका छन्।

एमाले नेता रघुवीर महासेठ पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड मिलाउन सक्रिय रुपमा लागेका छन्। महासेठले ओली र प्रचण्डलाई पटक-पटक भेटेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउन महासेठले एमाले अध्यक्षसँग समेत धेरैपटक छलफल गरेको स्रोतले बताएको छ।

जेठ २८ मा प्रचण्डले स्वतन्त्रबाट जितेका अमरेश कुमार सिंहसँग समेत छलफल गरेका थिए। प्रचण्डले मंसिर २७ गते राती आफ्ना महासचिव देव प्रसाद गुरुङलाई ओली भेट्न बालकोट पठाएका थिए। ओली र गुरुङबीच झण्डै दुई घण्टा छलफल भएको थियो।

एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताले ओली र प्रचण्डलाई मिलेर अघि बढ्न दबाब दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.