मुस्ताङका कृषकलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइ नभ्याइ
![मुस्ताङका कृषकलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइ नभ्याइ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20221223154659_8aurYNpQVD.jpg)
जोमसोम : स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमालपारिको जिल्ला मुस्ताङमा कृषकहरूलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइ नभ्याइ भएको छ।
स्याउ बगैंचामा रहेका स्याउ बोटका सबै पात झरेर नांगो पतझड बनेपछि मुस्ताङमा स्याउको हाँगाबिगा काँछाटसहित समग्र स्याउ बगैंचा व्यवस्थापन गर्ने कार्य सुरु हुन्छ।
बर्सेनि भदौदेखि कार्तिक मसान्तसम्म मुस्ताङका स्याउ बगैंचामा स्याउ टिप्ने काम हुन्छ। यसरी बगैंचाबाट टिपिएका स्याउ संकलन गरी बजारीकणका लागि स्थानीय बजार र पोखरा/काठमाडौंसम्म निर्यात गरिन्छ।
अहिले जिल्लाका पाँचवटै स्थानीय तहमा उत्पादन भएका स्याउ बजारमा बिक्री भइसकेको छ। बोटबाट स्याउ टिपेर रिक्तिएपछि यहाँका स्याउ बगैंचा उजाड बनेका हुन्।
अक्सर हिउँदयामको पुस र माघ महिना हिउँ पर्ने सिजन मानिन्छ। हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन हुनसक्यो भने गुणस्तरीय फल र राम्रो आम्दानी लिन सकिन्छ।
मुस्ताङमा बर्सेनि पुसको पहिलो सातादेखि माघ महिनाको अन्तिम महिनासम्म स्थानीय कृषकले धमाधम आफ्नो स्याउ बगैंचामा बोट अनाधिकृत फैलिएका हाँगाबिगा काटछाट, प्रकोप नियन्त्रणका लागि सर्वो आयल र बोरो पेस्ट लगाउने गर्छन।
फलविहीन रित्ता र उजाड स्याउ बगैंचामा कृषकले गोरु, झोपा र भेडा/च्यांग्राको मल हालेर मलजल गर्छन। यसरी बगैंचा व्यवस्थापन गर्दा हिउँ पर्यो भने स्याउका लागि झनै बरदान हुन्छ। हिउँदयामको हिउँ स्याउ बोटका लागि बरदाननै सावित हुने गर्छ।
हिउँदयामको समयमा स्याउ बगैंचामा अनाधिकृत रूपमा फैलिएका हाँगाबिगा काँटछाट नगर्दा बोटमा स्याउ धेरै फल्ने तर साना दाना र कम गुणस्तरको स्याउ फल्ने भएकाले स्याउ बोटको हाँगा काँटछाट गर्नपर्ने हुन्छ।
स्याउ बोटमा पालुवा र कोपिला पलाउनु अगावै स्याउ बोटको अनाआवश्यक बाँक्लो हाँगाबिगा काँटछाँट गर्नुपर्ने भएकाले मुस्ताङका कृषक यतिखेर स्याउ काँटछाँटमा जुटेका हुन्।
मुस्ताङमा स्याउ बगैंचा व्यवस्थापनकार्यसंगै खेर गएका र बाँझो जग्गामा समेत स्याउ बिरुवा लगाउन थालेका छन्। स्याउ बिरुवामा अन्य जातका स्याउ बिरुवालाई ग्राफ्टिङ गर्ने गरेको पाइएको छ। यसरी स्याउ बिरुवा ग्राफ्टिङ गर्दा स्याउ बोटमा फरक /फरक जातका स्याउ फल्ने गर्छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको कृषि शाखाले पालिकाको पाँचवटै वडाका स्याउ कृषकहरूलाई बिहीबारदेखि स्याउ काँटछाट तथा स्याउ बगैंचाको उपयुक्त व्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरेको छ।
स्थानीय स्याउ कृषकलाई बगैंचामा गएर स्याउ विज्ञहरूले बगैंचा व्यवस्थापन सम्वन्धित तालिम दिन सुरु गरेको घरपझोङ गापाका कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिए।
घरपझोङले स्याउ तथा फलफुल विज्ञ डा. खेमबहादुर शाहीलाई मुस्ताङ झिकाएर तालिम दिइरहेको शाखा प्रमुख थकालीको भनाइ छ।
घरपझोङले पालिकाका कृषकलाई स्याउ सम्वन्धित विभिन्न औषधि अनुदानमा उपलब्ध गराउँदै आइरहेको उनले जनाए। स्याउ बोटका बिना तालिम र अनुभव बिना जथाभावी हाँगाबिगा काँटछाँट गरेमा उत्पादन क्षमता र गुणस्तरमा समेत हस आउनसक्ने कृषि शाखा प्रमुख थकालीले बताए।
स्याउ बगैंचाको बोटमा अनावश्यक हाँगाबिगा फैलिएमा सूर्यको प्रकाश सिधै स्याउ बोटमा सर्कुलर नहुनु भएकाले स्याउ बोटको काँछाट अनिवार्य रहेको घरपझोङका स्याउ कृषक अजित थकालीले बताए।
उनले योसमय स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न सर्वोआयल डर्मिन आलय छर्किने र बोटको फेंदमा बोरो पेष्ट लगाउनुपर्ने थकालीको भनाइ छ।
मुस्ताङको मार्फामा पनि स्याउ बगैंचा व्यवस्थापन गर्ने कार्य भइरहेको मार्फाका स्याउ कृषक दिपक लालचनले बताए। मार्फा स्याउको मुख्य राजधानी समेत हो।
त्यहाँका अधिकांश घरधुरीले स्याउ खेती गरेका छन्। बगैंचामा स्याउ रित्तिएसँगै मार्फाका कृषक पनि अहिले धमाधम स्याउ बगैंचा व्यवस्थापनमा जुटेका कृषक लालचनले बताए। मार्फामा प्रत्येक घरधुरीले बर्सेनि ५ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्ने गरेको कृषक लालचनले जानकारी दिए।
चालु वर्ष किसानले स्याउ बिक्री गरेर समग्रमा ५९ करोड रुपैयाँ आम्दानी लिएका छन्। यसवर्ष मुस्ताङमा १८ प्रतिशत स्याउ उत्पादन वृद्धि भई ६ हजार ५९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञानकेन्द्र मुस्ताङले जनाएको छ।
मुस्ताङका ५ स्थानीय तहमा कुल १ हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ। जसमध्ये ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले मात्र उत्पादन दिने गरेको छ। मुस्ताङमा ३८ हेक्टर जमिनमा ईटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ विरुवा लगाइएको थियो।
जसबाट यसवर्ष ४ सय ४० मेट्रिक टन उच्चघनत्व प्रविधिमा आधारित स्याउ फलेको थियो। थोरे जमिनमा धेरै र छिटो छरितो रूपमा स्याउ उत्पादन गर्न सकिने भएकाले मुस्ताङका कृषक उच्चघनत्व प्रविधिको स्याउ खेतीतर्फको आर्कषण बढेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)