कर्णालीमा कम उमेरमा गर्भवती हुने युवतीको संख्या धेरै
![कर्णालीमा कम उमेरमा गर्भवती हुने युवतीको संख्या धेरै](https://annapurnapost.prixacdn.net/media/albums/1111-1_20221228124032_7A8mvs9OFi.jpg)
सुर्खेत : कर्णालीका १५ देखि १९ वर्षका २१ प्रतिशत युवतीहरु कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ। सुरक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले सुर्खेतमा आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवतीहरु कुनै न कुनै बेला गर्भवती भइरहेको बताइन्।
कम उमेरमा गर्भवती हुने युवतीको संख्या सबै भन्दा बढी कर्णालीमा देखिएको छ। यसबाट असुरक्षित गर्भपतनको संख्या व्यापक भएको अधिकारीहरुले बताएका छन्। सरकासमक्ष सुरक्षित रुपमा हुने गर्भपतन त्यसमा पनि सुचीकृत स्वास्थ्य सस्थाको मात्रै तथ्यांक उपलब्ध छ। तर, असुरक्षित रुपमा भएको र सुचीकृत स्वास्थ्य सस्था बाहिर भएको गर्भपतनको कुनै पनि तथ्यांक सरकारसमक्ष छैन।
निमित्त निर्देशक दीपा भट्टराईले परिवार नियोजनका साधन प्रयोग गर्ने दर बढाउन नसकेको बताइन्। देशका सुगम प्रदेशहरुमा दातृ निकायको सहयोग फालाफाल रहेको छ तर, कर्णाली प्रदेशमा स्वास्थ्यमा दातृ निकायको सहयोग शुन्य रहेको छ।
सरकारको नारा छ, ‘बिहेवारी बीस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्या वृद्धि हुँदै छ भट्टराईले भनिन्।’ नेपालमा सुरक्षित गर्भपतन गराउनका लागि १५ सय स्वास्थ्य संस्था सुचिकृत छन्। कर्णालीमा ७० वटा सुचिकृत रहेको भट्टराईले बताईन्। उनका अनुसार गत वर्ष चार हजार ८ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए।
जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन्। निमित्त निर्देशक दीपा भट्टराईले बताए अनुसार प्रदेशमा सुरक्षित गर्भपतनबारे एक वटा मात्रै तालिम भएको छ। नेपालमा प्रति वर्ष १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित गर्भवती हुने गरेको छ। त्यसमध्ये एक लाख २८ हजार अनिच्छित जन्म हुन्छ। तीन लाख ५१ हजार गर्भपतन हुने गरेको छ। बाँकी ६१ हजार आफैँ खेर जाने गर्छन्।
निमित्त निर्देशक दीपा भट्टराईले सकेसम्म मगर्भपतन नगराउन अनुरोध गरेकी छन्। यदी गराउनै परेको खण्डमा कानुन र स्वास्थ्यका हिसाबले सुरक्षित रुपमा गराउन आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)