बोइङको परिचारिका बन्दै थिइन् सिर्जना

शोकमा परिवार

बोइङको परिचारिका बन्दै थिइन् सिर्जना

बुटवल : रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन्। यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन्। मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो।

‘बोइङको परिचारिका बन्ने लिष्टमा उनी छनौट भइसकेकी थिइन्, पासपोर्ट पनि बनाएकी थिइन्', नातामा भिनाजु पर्ने रेवन्तबहादुर सिंजालीले भने। 

सिर्जना तीन दाजुभाईकी एक्ली बहिनी थिइन्। २९ वर्षीया उनी गएको दशैंमा सैनामैना आएकी थिइन्। शनिबार राति परिवारका सबै सदस्यसँग गफिँदै उनले भोलि (आइतबार) पोखरा जान लागेको सुनाएकी थिइन्।

उनलाई एयरलाइन्सले छोटो समयमै ७२ सिटे विमानमा काम गर्ने अवसर दिएको उनले बताउने गरेकी थिइन्। विमान दुर्घटनाको खबरपछि परिवारमा चिन्ता छ। सोमबार साँझसम्म उनको मृत्यु बारे जानकारी दिइएको थिएन। 

दुर्घटनाको खबर पाएकी आमा खिमिसरा थापाले छोरीप्रति विलौना गरिन्। माघे संक्रान्तिको बटुक बनाएर पाहुर पठाउने योजना थियो। काठमाडौंमा बस्दै आएकी सिर्जुकी भाउजु पाहुर बोकेर जाने तयारी गरिरहँदा विमान दुर्घटनाको खबर आएको थियो। खबरले घर छिमेकी शोकमा छन्।

पाल्पाको बगनासकाली–९ मा जन्मिएकी उनी परिवारको बसाइसराईसँगै सैनामैना आएकी थिइन्। उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङमा अध्ययन गरेकी थिइन्। 

उच्च शिक्षा भने बुटवलको सिसिटी कलेजबाट लिइन्। एयर होस्टेजको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन्। ‘जागिरका लागि पनि धेरै कुर्न परेन,' भिनाजु सिंजालीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.