सुत्केरीले पाएनन् भत्ता

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले असारदेखि भत्ता पाएनन्

सुत्केरीले पाएनन् भत्ता

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ की मनीषा गिरी गएको साउनमा सुत्केरी भइन्। उनले प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन् तर स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच गरेबापतको भत्ता नदिएरै बिदा गर्‍यो। भत्ता लिनका लागि उनी तीन पटकसम्म स्वास्थ्य केन्द्रमा पनि पुगिन् तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै उनलाई रित्तो हात फर्काइयो। उनले हालसम्म सुत्केरी भत्ता पाएकी छैनन्।

गत पुस २२ गते जुनीचाँदे गाउँपालिका–४ कि विमला विष्ट पनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन्। उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन्। स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो। 

मनीषा र विमलामात्रै होइनन्, गत असारदेखि जुनीचाँदेका कुनै पनि सुत्केरीले भत्ता पाउन सकेका छैनन्। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमालाई दुई हजारका दरले प्रोत्साहन भत्ता, पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता उपलब्ध गराउँदै आएको छ। 

एक जना सुत्केरीलाई कुल ४ हजार ८ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सकेका छैनन्। गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसकेका हुन्। आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भत्ता पाउन सकेका छैनन्। सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाएका छैनन्। 

सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेबापत भत्ता दिने व्यवस्था गरेको छ। राज्यबाट गर्भवतीलाई प्रसूति गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरूप विभिन्न भत्ताको व्यवस्था गरेको हो तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ। सुत्केरी भएको समयमा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रमअनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन।

‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्यचौकीमा जान्छौं तर भत्ता नआएको भन्दै फकाइदिन्छन्’, जुनीचाँदेकी सन्तोषी गिरीले भनिन्, ‘घरआँगनको सरकार भएर के गर्नु ? गाउँपालिकाले हाम्रो पीडा नै बुझेन।’ असारमै सबै कागजात पेस गर्दा पनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ। समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधीखोजी गर्ने गरेका छन्। 

कतिपयले पटक–पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। चालू २०७९/०८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.