विद्युत् आयोजनाले मापदण्ड पालना नगर्दा सोलुखोला बगरमा परिणत

विद्युत् आयोजनाले मापदण्ड पालना नगर्दा सोलुखोला बगरमा परिणत

सोलुखुम्बु : सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत भएको छ। 

विद्युत् उत्पादन सुरु गरेको ९.५ मेगावाटको मध्य सोलुखोला जलविद्युत् आयोजनाले मापदण्ड पालना नगर्दा अहिले सोलुखोला नै सुख्खा बगरमा परिणत भएको हो। 

सधैं खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदूधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुख्खा बनेको छ। विद्युत् विकास विभागको नियम अनुसार आयोजनाहरू निर्माण गर्दा कम्तिमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने मापदण्ड भएपनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन्। 

जसका कारण सोलुखोलाको जलप्राणीहरूको अस्थित्व नै गम्भीर संकटमा परेको छ भने पर्यावरणमा समेत असर गरेको स्थानीय दावा तामाङको गुनासो छ। घरकै छेउबाट सधै छङ्छङ् बगिरहने खोला अहिले बगरमा परिणत भएपछि उराठलाग्दा भएको सोलुदूधकुण्ड नगरपालिका-४ बोल्दोका स्थानीय बताउँछन्। 

दूधकुण्डबाट आउने पानी भएकाले सधै दूध जस्तै सेतो बगिरहने सोलुखोला सुख्खा हुँदा बटुवाहरूले समेत सोध्ने गरेको अर्का स्थानीय दावा शेर्पाले बताए। 

अहिले खोलाका माछा, पाहा लगायतका जलप्राणीहरू सबै मरेको स्थानीय दावा तामाङको भनाइ छ। खोलाकै नजिक बस्ती भएकाले विगतमा आफूहरूको दैनिकी माछा मार्नमा बित्ने गरेपनि अहिले त्यही खोला देखेर निकै बिरक्त लाग्ने गरेको स्थानीय रमन तामाङ बताउँछन्। 

जिल्लामा तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, बेनी, लिखुखोला लगायत आधा दर्जनभन्दा बढी विद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। अधिकांश आयोजनाहरूले खोलामा मापदण्ड अनुसारको पानी छाड्ने सवालमा आनाकानी गरिरहेको सर्वसाधारण बताउँछन्।

सोलुखोला ढुंगा उत्खननको थलो बन्दै

सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भएपनि अहिले सोलुखोला नै  क्रसरहरूको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ। खोलामा पानी नभएपछि क्रसर उद्योगहरूले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन्। 

अहिले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकाल्न थालिएको र ती ढुंगाहरू क्रसरमा ढुवानी हुने गरेको स्थानीय रमन तामाङले बताए। रोजगार दिने भन्दै क्रसर उद्योगीहरूले आफूहरूलाई खोला भित्रको ढुंगा निकाल्न लगाएको तामाङ बताउँछन्। यसले नजिकका बस्तीहरूमा समेत असर गर्न सक्ने स्थानीयको चिन्ता छ। 

विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु र खोलाको ढुंगा गिटीहरू समेत क्रसरले धमाधम उत्खनन गरिरहँदा समेत स्थानीय सरकारदेखि प्रशासन समेत मौन छ। 

खोलामा पानी नहुँदा वातावरणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरण विज्ञ राजन थापाले चिन्ता व्यक्त गरे। जंगली जनावर तथा जल प्राणीहरूको अस्थित्व जोगाउन समेत खोलामा कम्तीमा १० प्रतिशत पानी छाड्नै पर्ने थापाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.