सुर्तीजन्य क्यान्सरमा सजगता

सन् २०२० मै श्रीलंकामा ७७ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तानमा झन्डै ६१ प्रतिशत र भारतमा ५८ प्रतिशत कर चुरोटमा थियो। दक्षिण एसियामा नेपाल सुर्तीजन्य पदार्थमा कम कर लिने मुलुकमध्ये पर्छ।

सुर्तीजन्य क्यान्सरमा सजगता

फेबु्रअरी ४ मा विश्व क्यान्सर दिवस ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारमा हुने असमानताको अन्त्य गरौं’ भन्ने नाराका साथ मनाइँदै छ। यो विषयवस्तु सन् २०२२ को निरन्तरता हो। प्रत्येक वर्षका लागि निर्दिष्ट उद्देश्यहरूसहित सन् २०२४ सम्म रहनेछ। क्यान्सर विश्वव्यापी मृत्युको प्रमुख कारण हो, सन् २०२० मा लगभग १० लाख मृत्यु क्यान्सरकै कारण भएको देखिन्छ, जुन प्रत्येक ६ मध्ये एक मृत्‍यु हो। विश्वमा देखिने क्यान्सरमध्ये सबैभन्दा धेरै देखिएका क्यान्सरमा स्तन, फोक्सो, कोलोन, मलाशय र प्रोस्टेट छन्। प्रत्येक वर्ष संसारभर लगभग ४ लाख बालबालिकामा क्यान्सर हुने गरेको अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य संगठनले २०२० मा नेपालमा गरेको अध्ययनले त्यस वर्ष २० हजार ५ सय ८ नयाँ क्यान्सरका बिरामी थिए भन्ने देखाएको छ। अध्ययनअनुसार नेपालमा कुल ३६ हजार ९ सय ६ बिरामी रहेको देखाएको छ, जसमध्ये नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष १३ हजार ६ सय २९ मानिसको मृत्‍यु हुने गरेको छ। नेपालमा फोक्सोमा हुने क्यान्सरका बिरामी धेरै छन्, जुन कुल क्यान्सर बिरामीमध्ये १२.२ प्रतिशत हो। पुरुषमा फोक्सोमा हुने क्यान्सर अझ धेरै (१८ प्रतिशत) छ। पुरुषमा ओठ र मुखको क्यान्सर कुल क्यान्सरको ६.८ प्रतिशत हुने गरेको पाइन्छ। महिलामा सबैभन्दा धेरै पाठेघरको क्यान्सर (१९.१ प्रतिशत), स्तन क्यान्सर (१७.९ प्रतिशत) र तेस्रोमा फोक्सोमा हुने क्यान्सर (७.७ प्रतिशत) देखिएको छ।

सुर्तीजन्य पदार्थको प्रयोग, मदिरा सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, वायु प्रदूषण क्यान्सर र अन्य नसर्ने रोगको जोखिम कारक हुन्। क्यान्सरको बोझ र जोखिम कारकबीचको अध्ययनअनुसार विश्वव्यापी रूपमा क्यान्सरको मृत्युको लगभग ५० प्रतिशत रोक्न सकिने देखिन्छ। यसका लागि जोखिम कारकहरू धूमपान र रक्सीको प्रयोगबाट अलग हुनुपर्छ। विभिन्न अनुसन्धानअनुसार विश्वमा हुने फोक्सोको क्यान्सरमध्ये ९० प्रतिशत धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन हो। चुरोट र सुर्तीको धुवाँबाट निस्किने निकोटिन, टार, कार्बन मनोअक्साइड, लिड, बेन्जोपाइरिन, हाइड्रोजन साइनाइड, कार्बन मोनोअक्साइड, अमोनिया, नाइट्रोसोमाइनजस्ता सात हजारभन्दा बढी रसायन छन्। जसमध्ये कम्तीमा २ सय ५० हानिकारक मानिन्छन्। सुर्तीजन्य पदार्थको धुवाँमा रहेका २ सय ५० हानिकारक रसायनमध्ये कम्तीमा ६९ वटाले क्यान्सर निम्त्याउन सक्छन्।

अध्ययन अनुसन्धानले धूमपानका साथै धुवाँरहित सुर्ती सेवनले मुख, ओठ, घाँटी, फोक्सो र खानानलीको क्यान्सर गराउँछन्। मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोध, दमखोकीजस्ता २५ भन्दा बढी घातक रोग लाग्न सक्छ। सुर्तीले २० प्रकारका क्यान्सर गराउने तथ्य अनुसन्धानहरूले देखाएको छ। सुर्तीजन्य पदार्थको प्रयोगले जुनसुकै भागमा पनि क्यान्सर हुन सक्छ। सुर्तीजन्य पदार्थको प्रयोगले मुख र घाँटी, अन्ननली, पेट, आन्द्रा, मलद्वार, कलेजो, प्यान्क्रियाज, भ्वाइसबक्स (गला), श्वासनली, ब्रोन्कस, मिर्गाैला, पिसाब थैली र पाठेघरको क्यान्सर निम्त्याउँछ।

धूमपान र धुवाँरहित सुर्तीजन्य पदार्थ दुवै उत्तिकै हानिकारक छन्। यिनको प्रयोगले प्रयोगकर्ताको अकाल र पीडादायी मृत्यु हुने सम्भावना अधिक हुन्छ। विश्वभर क्यान्सरबाट मृत्यु हुनेको संख्यामध्ये करिब २५ प्रतिशत मृत्युको कारण सुर्ती सेवन देखिन्छ। धूमपान नगर्नेभन्दा गर्नेलाई जीवनकालमा फोक्सोको क्यान्सर हुने सम्भावना २२ गुणा बढी हुन्छ। विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमा दुईतिहाइ धूमपानकै कारणले हुने गरेको छ। हाल देखिने क्यान्सरमध्ये ३०–५० प्रतिशत क्यान्सरलाई जोखिम कारक कम र प्रमाणमा आधारित रोकथाम रणनीति लागू गरेर रोक्न सकिन्छ। क्यान्सरको प्रारम्भिक पहिचान र क्यान्सर भएका बिरामीको उचित उपचार र हेरचाह गरेर पनि क्यान्सरको बोझ कम गर्न सकिन्छ। प्रारम्भिक निदान र उचित उपचार गरेमा धेरै क्यान्सर निको हुने उच्च सम्भावना रहन्छ।

क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी उपचार गरेमा मृत्युदर कम गर्न सकिन्छ। प्रारम्भिक पहिचानका दुई भाग छन् ः प्रारम्भिक निदान र स्क्रिनिङ। प्रारम्भिक रूपमा पहिचान गर्दा, क्यान्सरले उपचारमा प्रतिक्रिया दिने सम्भावना बढी हुन्छ र कम खर्चिलो उपचारका साथै बाँच्ने सम्भावना बढी हुन्छ। स्क्रिनिङको उद्देश्य क्यान्सर वा प्रि–क्यान्सरका लक्षण देखा पर्नुअघि पहिचान गर्नु हो। जब स्क्रिनिङको क्रममा असामान्यताहरू पहिचान गरिन्छ। निश्चित निदान स्थापित गर्न थप परीक्षण गर्नुपर्छ, यदि क्यान्सर भएको प्रमाणित भएमा उपचारको लागि प्रेषण गरिन्छ। क्यान्सर रोकथाम र नियन्त्रणमा राजनीतिक प्रतिबद्धताको आवश्यकता हुन्छ। सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारी र गैरसरकारी निकायबीच दृढ राजनीतिक प्रतिबद्धता र अन्तरक्षेत्रीय समन्वय सर्वोपरी हुन्छ। प्रभावकारी क्यान्सर नियन्त्रणमा सुर्तीजन्य पदार्थको प्रयोगजस्ता जोखिम कारक सम्बोधन गर्नु अनिवार्य छ।

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संगठन फ्रेमवर्क कन्भेन्सन २००५ मा लागू भयो। जसलाई १ सय ८२ पक्षद्वारा अनुमोदन गरिएको थियो। यसले क्यान्सरलगायत धूमपान र सुर्तीजन्य रोगहरू रोक्न उपलब्ध सबैभन्दा लागत–प्रभावी उपायहरू लागू गर्न देशहरूलाई दिशानिर्देश र आवश्यकता प्रदान गर्छ। आवश्यक उपायहरूमा सुर्तीजन्य पदार्थको विज्ञापनमा व्यापक प्रतिबन्ध, सुर्ती प्याकेजिङमा कडा स्वास्थ्य चेतावनी, भित्री क्षेत्रमा सेकेन्डह्यान्ड धुवाँबाट सुरक्षा र सुर्तीको तस्करी कम गर्ने उपाय समावेश छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर सिफारिस गरेको छ। नेपालमा भने चुरोटमा यस्तो कर ४१ प्रतिशतमात्र छ। चालू आर्थिक वर्षको बजेटमा २० प्रतिशत कर थपिएको छ। यस्तो कर सन् २०२० मै श्रीलंकामा ७७ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तानमा झन्डै ६१ प्रतिशत र भारतमा करिब ५८ प्रतिशत थियो। दक्षिण एसियामा नै नेपाल सुर्तीजन्य पदार्थमा कम कर लिने मुलुकमध्येमा पर्छ।

नेपालले सुर्तीजन्य पदार्थमा लाग्ने कर थप वृद्धि गर्दै नागरिकलाई क्यान्सरजस्ता प्राणद्यातक रोग लाग्नबाट जोगाउनु अपरिहार्य छ। सुर्तीजन्य पदार्थमा लाग्ने कर सरकारका लागि एक अवसर हो। यसका थुप्रै फाइदामध्ये धूमपान छोड्न प्रोत्साहित गर्नु र युवालाई सुरु गर्नबाट रोक्न मद्दत गर्नु मुख्य हो। सार्वजनिक स्वास्थ्य कोषमा प्रयोग गर्न सकिने राजस्व संकलन गरेर स्वास्थ्य क्षेत्रमा लगानी सिर्जना गर्नु पनि हो। सुर्तीजन्य पदार्थबाट हुने हानि कम गर्न र नागरिकको जीवन रक्षा गर्न तीनवटै तहका सरकार गम्भीर भई आआफ्ना ठाउँबाट सक्रियतापूर्वक लाग्नु आवश्यक छ। तीनै तहका सरकारले सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण र निषेधसम्बन्धी ऐन, कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।

सुर्तीजन्य पदार्थमा लाग्ने कर सरकारका लागि एक अवसर हो। यसका थुप्रै फाइदामध्ये धूमपान छोड्न प्रोत्साहित गर्नु र युवालाई सुरु गर्नबाट रोक्न मद्दत गर्नु मुख्य हो। सार्वजनिक स्वास्थ्य कोषमा प्रयोग गर्न सकिने राजस्व संकलन गरेर स्वास्थ्य क्षेत्रमा लगानी 
सिर्जना गर्नु पनि हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.