राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो, कार्यविधि बदलौं : गगन थापा
थापाले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास हटाउनुपर्ने बताएका छन्।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति जनताको धारणा नकारात्मक बन्दै गएको टिप्पणी गरेका छन्। उनले राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले परम्परागत शैली बदल्नुपर्ने बताएका छन्।
‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।’थापाले भने।
राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाई छ। थापाले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास हटाउनुपर्ने बताएका छन्।
‘हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ ।’ उनले भनेका छन्, ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास 'परम्परा' को नाममा चलिरहेको छायो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।’
थापाले भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।’
प्रतिक्रिया दिनुहोस !