सप्तरीमा असईको हत्या गर्ने प्रहरी जवान खत्रीलाई जन्मकैद

राजविराज : कार्यालयभित्रै सशस्त्र प्रहरीका असईको हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैदको सजाय तोकिएको छ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो। अदालतले सोमबार अभियुक्त खत्रीलाई जन्मकैदका साथै तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला गरेको हो ।
सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ नरहाका असई यादव र ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ निवासी खत्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत थिए ।
बयानका क्रममा अभियुक्त खत्रीले २०७९ असोज १९ गते राति असई यादवको हत्या गरेको स्वीकारेका थिए । खत्रीले वियर खाएर यादवले आफूमाथि लाठीले हिर्काएको बताएका थिए । रिस थाम्न नसकी हुत्याउँदा यादवको टाउकोमा चोट लागेको र दोहोर्याएर धकेल्दा टाउको पछाडि ठोक्किएर घ्यार घ्यार गर्न थालेपछि घाँटी थिचेर हत्या गरेको खत्रीले बयानमा भनेका थिए।
बीओपीभित्रै हत्या गरिएका यादवको शव भने नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा असोज २० गते फेला परेको थियो ।
अभियुक्तले यादवको शव समेत घिसार्दै लगेर खोलामा मिल्काएको बयान दिएका थिए। घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको मृतक परिवारले बताएका छन्।
शव फेला परेको एक सातापछि असोज २६ गते अभियुक्त खत्रीलाई पक्राउ गरिएको थियो । खत्रीले हत्यादेखि शव लुकाउने,छिपाउनेसम्मका काम आफू एक्लै गरेको बयान दिएका थिए।
भारतीय प्रहरीले शव बुझाउन खोज्दा सुरुमा छिन्नमस्ता बीओपीका इञ्चार्ज सई कृष्णबहादुर मगरले आफ्नो मान्छे नभएको भन्दै शव बुझ्न अस्वीकार गर्दै घटना लुकाउन खोजेका थिए ।
मृतकका छोरा अमोदकुमार यादवले प्रहरीले आफूहरूलाई घटनास्थल समेत जान रोकिएको बताएका थिए । रोक्दारोक्दै जबरजस्ती भारत गएर शव पहिचान गरेपछि स्थानीयबासी र भारतीय प्रहरीको दबाबमा मात्र शव नेपाल ल्याइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
