सहकारी सिद्धान्त  :  विधि र व्यवहार

सहकारी सिद्धान्त  :  विधि र व्यवहार

अधिकांश सहकारी संस्थाका सञ्चालकहरूको सोच सकारात्मक छ। तर, सैद्धान्तिक विषयसँग जानकार नै छैनन्।

सहकारीलाई सदस्यको सामूहिक स्वामित्वमा सञ्चालन हुने अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा विश्वव्यापी स्वीकार्यता प्रदान गरिएको छ। स्वायत्तताको बुझाइमा समस्या उत्पन्न हुँदै गरेको छ। नेपालको सहकारी अभियानलाई मार्गदर्शन गराउन पनि सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यताहरूको व्यावहारिक पक्षहरूको चर्चा गर्ने प्रयास गरिएको छ। 

सिद्धान्त भनिने वा लेखिने विषयमात्र हुन् कि ? भन्ने प्रश्न उठिरहेको छ। विश्वप्रसिद्ध अक्सफोर्ड डिक्सनरीले ‘एक आधारभूत सत्य वा प्रस्ताव जसले विश्वास वा व्यवहार वा तर्कको शृंखलाका लागि आधारका रूपमा काम गर्छ’, नि परिभाषित गरेको छ। क्याम्ब्रिज डिक्सनरीले ‘एक आधारभूत विचार वा नियम जसले कसरी केही काम वा व्याख्या वा नियन्त्रण हुन्छ वा गर्छ’, भनेको छ। कोलिन्स डिक्सनरीमा सिद्धान्त भनेको तपाईंले व्यवहार गर्ने तरिकाका बारेमा रहेको सामान्य विश्वास हो, जसले तपार्इंको व्यवहारलाई प्रभाव पार्छ भनी उल्लेख गरिएको छ। त्यस्तै नेपाली बृहत् शब्दकोषले ‘विचार, तर्क र अनुभवद्वारा स्थापित मत। साधारण व्यवहारमा प्राय :  एकरूपता ल्याउन स्थापित कुनै नियम’ भनेको छ। यसरी हेर्दा सिद्धान्त भनिने वा लेखिने विषय मात्र होइनन् यी त व्यवहारमा अनुशरण गरिने मार्गदर्शन हुन् भन्न सकिन्छ। त्यसैले सहकारी संस्थाहरूले सिद्धान्तहरूप्रति समान बुझाइ र व्यवहार गर्नु आवश्यक छ। तर, हाल सहकारीका विभिन्न तहका जिम्मेवारीमा रहेका व्यक्तिहरूमा सिद्धान्तको बुझाइमा विविधता र अनूकरण गर्नुपर्छ भन्ने स्वीकारोक्ति कमजोर हुँदा विचलन देखिन थालेको छ।

सहकारीको अवधारणा, मूल्य र सिद्धान्तको बुझाइ अँध्यारोमा हात्ती छामेजस्तै भएको छ। जसले अनुगमन तथा नियमन प्रभावकारी हुन सकिरहेको छैन। अन्तर्राष्ट्रिय सहकारी महासंघका अनुसार ‘आफ्ना समान आर्थिक, सामाजिक एवम् साँस्कृतिक आवश्यकता र आकांक्षाहरूलाई संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण रहने संस्थामार्फत परिपूर्ति गर्नका लागि स्वेच्छिकरुपमा एकीकृत भएका व्यक्तिहरूको एक स्वायत्त संस्था नै सहकारी हो।’ तर, सहरी क्षेत्रमा सञ्चालित केही संस्थाहरूमा संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणको अभ्यास कानुनको बचाउका लागि गरिएको औपचारिकतामा सीमित हुँदै गइरहेको छ। मानौं पित्तलको गहनामा सुनको जलप लगाएर शोकेसमा राखिएको छ।

सिद्धान्त भनेको कुनै अपरिवत्र्य परिभाषा वा आधार नभई समयसापेक्ष गतिशिल एवम् परिवर्तनशील आधार हो। सिद्धान्त विमुख हुनु वा सिद्धान्तको अनुपालना नगर्नु भनेको दुर्घटनाको खोजी गर्नु जस्तै हो। सिद्धान्तले विश्वास आर्जन गर्दै मौलिक सत्य स्थापित गर्छ। त्यसैले सिद्धान्त सामान्य कानुनभन्दा धेरै माथि र शक्तिशाली हुन्छ। यसलाई उच्चस्तरको कानुनी आधार हो भन्ने अर्थमा बुझ्नु अझ श्रेयस्कर हुन्छ। कानुनसँग असहमति राख्नु वा सामान्य दायराभन्दा बाहिर जाने प्रयासले तत्कालीन प्रभाव मात्र पार्छ। तर, सिद्धान्तको पालना नगर्दा दीर्घकालीन प्रभाव पार्नुका साथै ठूलो दुर्घटना निम्त्याउँदछ। त्यसैले कुनै पनि कार्य वा जिम्मेवारी पूरा गर्दा उक्त कार्य वा जिम्मेवारीसँग सम्बन्धित सैद्धान्तिक ज्ञान हुनु आवश्यक छ। सहकारी संस्था सञ्चालनमा यसका सिद्धान्तको प्रयोग मुख्य आधार हो।

सन् १८४४ मा स्थापित रोचडेल समतामूलक अग्रणी संस्था आधुनिक सहकारीका रूपमा पहिलो संस्था हो। सुरुवातमा यसले गरेका निर्णय र अभ्यासलाई समयक्रममा सिद्धान्तका रूपमा अबलम्वन गर्दै आएको पाइन्छ। रोचडेल अग्रणी संस्थाले सन् १८४५ मा व्यवसायको समीक्षासहित मुख्य पाँचवटा नीतिगत विषयमा निर्णय गरेपश्चात् तीनै पाँच नीतिगत निर्णयहरूलाई पाँच सिद्धान्तका रूपमा अवलम्बन गरियो। सुरुवातमा रोचडेल अग्रणी संस्थाले आफ्नो सञ्चालनको क्रममा अवलम्बन गरेका अभ्यासहरूलाई नै सिद्धान्तका रूपमा व्याख्या गरे तापनि विस्तारै अन्य मुलुकहरूमा पनि सहकारीको अभियान फैलिँदै जाँदा फरक–फरक अभ्यासहरू गरिन थाल्यो।

सन् १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघको स्थापना भएपश्चात् सहकारीका सिद्धान्तहरूको पुनरावलोकन एवम् अद्यावधिक गर्ने कार्य महासंघले गर्दै आइरहेको छ। प्रथमपटक सन् १९३७ मा सहकार्यको रोचडेली सिद्धान्तका रूपमा ७ वटा सिद्धान्त अन्तर्राष्ट्रिय सहकारी महासंघले स्वीकार एवम् व्याख्या गर्‍यो। सो को समीक्षा गरी सन् १९६६ मा अन्तर्राष्ट्रिय सहकारी महासंघले ६ वटा सिद्धान्त प्रतिपादन गर्‍यो। सहकारीको विश्वव्यापी लहर एवम् सञ्जाल विस्तार हुँदै जाँदा सिद्धान्तलाई नयाँ आवश्यकता र परिवेश अनुकुल परिमार्जन गर्नुपर्ने आवश्यकता बोध गरियो। सन् १९९५ मा सहकारीका ७ वटा सिद्धान्तको व्याख्या गरियो। जसको संक्षिप्त व्याख्या र व्यावहारिक अभ्यास यहाँ उल्लेख गरिएको छ।

खुला तथा स्वेच्छिक सदस्यता  :  सहकारीमा समुदायमा विद्यमान जातीय, धार्मिक, जनजातीय, लैंगिक पहिचान, शारीरिक सक्षमता, वर्गीयजस्ता कुनै पनि विभेदको आधारमा सदस्यताबाट बञ्चित गरिनु हुँदैन। सदस्यताका लागि विभिन्न प्रकारका उत्प्रेरणा र पुरस्कारको व्यवस्थाहरूसमेत गर्नुपर्छ। उत्प्रेरणामा वित्तीय, गुणस्तरीय जीवन, अरुलाई लाभ प्रदान गर्ने, समुदायको जिम्मेवारी निर्वाह, वृत्ति विकासको अवसर जस्ता विषयहरू सहकारीले सुनिश्चित गर्नुपर्छ। समुदायमा सहकारी शिक्षाका माध्यमबाट सहकारी सचेतना जागृत गर्नुपर्छ। कानुनबमोजिम न्यूनतम एक अंश (कित्ता) सेयर खरिद गरी सदस्यता प्राप्त गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्छ। सदस्यता प्राप्तिमा रोक नलगाउनु मात्र खुला सदस्यताका रूपमा लिनुहुँदैन।

प्रजातान्त्रिक नियन्त्रण  :  सदस्यहरूले योजना तर्जुमा, नीति निर्माण र निर्णय प्रक्रियामा आफ्नो अभिमत प्रकट गर्न साथै नेतृत्वमा चुन्ने र चुनिने अधिकार प्राप्त गर्ने सुरक्षित हुनुपर्छ। सहकारी संस्थामा पुँजीको आधारमा नभई एक व्यक्ति एक मतको आधारमा सदस्यहरूद्वारा निर्वाचित प्रतिनिधिहरूमार्फत सदस्यप्रति जवाफदेही प्रतिनिधिमार्फत सञ्चालन गर्ने। योजना निर्माण, समीक्षा र नीति निर्माणमा दोहोरो सम्वादको आधारमा सदस्यहरूको अभिमतबाट निर्देशित रहने हुन्छ। साधारणसभा र विस्तारित मञ्चहरूमा सदस्यहरूलाई प्राथमिकता सहित समय प्रदान गर्नुपर्छ।null

सदस्यहरूको आर्थिक सहभागिता  :  कुनै पनि व्यक्तिले तोकिएको न्यूनतम अंशधन (सेयर) सहभागिताबिना सदस्यता प्राप्त गर्न सक्दैनन् भने उनीहरूको व्यावसायिक सक्षमता र सहभागिताको आधारमा अंशधन (सेयर) वृद्धि गर्नुपर्छ। संस्थाले कमाएको नाफाबाट कम्तीमा एकवटा अविभाज्य (जगेडा) कोष छुट्याई बाँकी नाफाको कानुनले तोकेको सीमाको अधिनमा रही समानुपातिक लाभ (सेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष) वितरण गर्नुपर्छ।

सहकारीको अवधारणा, मूल्य र सिद्धान्तको बुझाई अँध्यारोमा हात्ताी छामेजस्तै भएको छ। जसले गर्दा अनुगमन तथा नियमन प्रभावकारी हुन सकिरहेको छैन। 

वित्तीय सहकारीको सन्दर्भमा प्रत्येक सदस्यले मासिकरुपमा आफ्नो कमाईको निश्चित अंश नियमित बचतकोरुपमा बचत गर्नुपर्छ भने सोको भार धान्न सक्ने गरी वार्षिकरुपमा अनिवार्य अंशधन वृद्धि गर्नुपर्छ। सहज ऋण प्राप्त गर्ने वा निक्षेपमा उच्चदरको ब्याज प्राप्त गर्ने 
मनसायले गरिएको कारोबारलाई सदस्यहरूको आर्थिक सहभागिताकोरुपमा बुझ्नु हुँदैन।

स्वायत्तता र स्वतन्त्रता  :  हाल नेपालको सहकारी अभियानमा सबैभन्दा बढी प्रयोग गर्न रुचाइएको र स्वामित्व लिइएको सैद्धान्तिक क्षेत्र हो यो। सहकारी संस्था सदस्यहरूबाट नियन्त्रित संस्था हुने भएकाले आफ्नो लागि आवश्यक निर्णय गर्न, नीति निर्माण गर्न, योजना निर्माण गर्न र नेतृत्व चयन गर्न स्वायत्त र स्वतन्त्र हुन्छन्। संस्थाले आफ्नो स्वायत्तता र स्वतन्त्रताको उपयोग गर्दा अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्यका साथै देशको विद्यमान कानुन प्रतिकूल नहुने गरी उपयोग गर्नुपर्छ। स्वतन्त्र परीक्षकहरूबाट परीक्षण गराउने र प्राप्त पृष्ठपोषणहरूको कार्यान्वयन गर्ने। वित्तीय कारोबार गर्ने संस्थाहरूले स्थापित स्तरीय मानदण्डहरूको पालना गर्ने र सोको लागि अनुगमनको अपेक्षा गरिएको हुनुपर्छ। नेपालको कानुनबमोजिम प्रत्येक सहकारी संस्थाले आफू आबद्ध संघ र नियामकबाट अनुगमनको अपेक्षा गरिएको हुनुपर्छ।

निरन्तर शिक्षा, तालिम र सूचना  :  सहकारी संस्थाले आफ्ना सञ्चालक, व्यवस्थापक र अन्य कर्मचारीहरूका साथै सदस्यहरूलाई गुणस्तरीय एवम् प्रभावकारी सेवा विकास, प्रवाह र सहभागिता सम्बन्धमा आवश्यक तालिम तथा शिक्षा दिनुपर्छ। विचार निर्माण गर्ने युवा एवम् नेतृत्व वर्गलाई सहकार्यको महत्वको बारेमा र सदस्यहरूलाई सहकारी अवधारणा, मूल्य, कानुनी प्रावधानका साथै व्यवसायिक शिक्षा र उद्यमशिलता विकाससम्बन्धी तालिमहरू सञ्चालन गरी जीवनस्तर परिवर्तनमा भूमिका निर्वाह गर्नुपर्छ। प्रत्येक संस्थाले वार्षिक कम्तीमा २५ प्रतिशत सदस्यहरूलाई शिक्षा प्रदान गर्नुपर्छ।

सहकारी संस्थाले आफ्नो नाफाबाट तोकिएबमोजिम सदस्य शिक्षा कोषमा विनियोजन गरी खर्च गर्नुपर्दछ। उक्त कोषबाट नपुग रकम सञ्चालन खर्च जनाई कार्यक्रम सञ्चालन गर्न सकिन्छ। शिक्षा र तालिमलाई प्रभावकारी बनाउने उनीहरूको उमेर, लिङ्ग, पेसा, शैक्षिक योग्यता आदिको आधारमा वर्गीकरण गर्नु सान्दर्भिक हुन्छ। सहकारी संस्थाले सदस्यहरूको व्यक्तिगत सूचनाहरूको गोपनीयता कायम गर्ने र संस्थागत सूचनाहरू (सदस्य संख्या, कारोबारको रकम, बचत र ऋणको रकम, सेयर पुँजी, बाह्य ऋण, अनुदान, कोषहरू, लगायत) को अग्रतापूर्ण खुलासा गर्नुपर्छ। अग्रतापूर्ण खुलासाले संस्थाप्रति जनविश्वास वृद्धि गर्छ।

सहकारीहरूबीच सहकार्य  :  सहकारीले आफ्ना सदस्यहरूलाई प्रभावकारी रूपमा सेवा प्रवाह, संस्थागत सशक्तिकरण र स्रोतको आदानप्रदान गर्नको लागि स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संरचनाहरूमा आवद्ध भई सहयोग गर्नुपर्छ। आफुसँग भएको स्रोत (गैरवित्तीय) र साधन अन्य संस्थाहरूलाई उपलब्ध गराउनुपर्छ। अन्य संस्थासँग भएको आफूले उपयोग गर्ने साथै सञ्जाल संरचना मार्फत सम्पूर्ण किसिमका स्रोत र साधनको आदानप्रदानमा सहकार्य गर्नुपर्छ। वित्तीय सहकारीहरूमा यस सिद्धान्तको गलत बुझाइको कारण समान तहको संस्थाहरूबीच वित्तीय कारोबार नै गर्ने गरिएको छ। जसले गर्दा उक्त कारोबारमा संलग्न सबै संस्थाहरूमा एकैपटक समस्या देखिन्छ। त्यसैले गैरवित्तीय स्रोतहरू, सामाजिक एवम् साँस्कृतिक र पर्यावरणीय कार्यहरूमा प्रत्यक्ष सहकार्य गर्ने र वित्तीय कारोबारको सन्दर्भमा आबद्ध माथिल्लो तहको सञ्जाल प्रयोग गर्नुपर्छ। यस प्रयोजनका लागि सहकारीको पहुँच नपुगेको वा व्यावसायिकता विकास कमजोर भएका स्थानमा सहकारी प्रबद्र्धन र विकासका लागि सहकारी विकास कोषको रकम प्रयोग गरी सहकार्य गर्न सकिन्छ।

समुदायप्रति चासो  :  सहकारीले नीतिगत व्यवस्थामार्फत समुदायको दिगो विकासमा टेवा पुर्‍याउनु पर्छ। आफ्ना प्रत्येक निर्णय एवम् योजनाले समुदाय र पर्यावरणमा पार्ने प्रभाव बिचार गरी सकारात्मक योगदान गर्ने किसिमका निर्णय र योजना निर्माण गर्नुपर्छ। आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय प्रभावको बिचार गरी सकारात्मक कार्यमा केन्द्रित हुनुपर्छ। सहकारी संस्थाले सामुदायिक विकास कोषको रकम यस प्रयोजनको लागि प्रयोग गर्न सक्छन्।

माथि उल्लेखित सैद्धान्तिक व्याख्याको आधारमा हाल नेपालमा सञ्चालित ३० हजार सहकारी संस्थाको अवस्थाको विश्लेषण गर्ने हो। अधिकांश संस्थाका सञ्चालकहरूको सोच सकारात्मक छ। तर, यी सैद्धान्तिक विषयसँग जानकार नै छैनन्। १५ देखि २० प्रतिशत संस्थाका सञ्चालकहरूमा सैद्धान्तिक विषयकोे जानकारी छ। तर, त्यसको कार्यान्वयन पक्षसँग क्षमता र दक्षताको तालमेल मिलेको छैन। अर्को १५ प्रतिशत हाराहारी संस्था सञ्चालकहरूले सैद्धान्तिक सन्तुलन मिलाएर संस्था सञ्चालन गरेका छन्। १० प्रतिशत हाराहारी संस्थाका सञ्चालकहरू सैद्धान्तिक विषयमा राम्रो जानकारी र दखल राख्दछन्। निहित स्वार्थको कारण सोको कार्यान्वयन गर्दैनन्। जोखिममा पर्ने संस्थाहरू अधिकांश यसै वर्गमा पर्छन्।

एकका लागि सबै र सबैका लागि एक भन्ने दर्शनमा आधारित सहकारी संस्थाहरू सञ्चालनमा मूल्यहरू अवलम्बन हुनुपर्छ। आत्मसहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय, ऐक्यावद्धता, इमान्दारिता, खुल्लापन, सामाजिक उत्तरदायित्व, अरुको हेरचाह जस्ता मूल्यहरू अवलम्बन गरिएको हुनुपर्छ। वित्तीय सहकारीहरूको सन्दर्भमा विश्व ऋण परिषद्ले विशिष्ट सिद्धान्तहरू प्रतिपादन गरेको छ। जसका बारेमा वित्तीय सहकारीका अधिकांश सञ्चालकहरू बेखबर जस्तै रहेको पाइन्छ। सिद्धान्त गन्तव्यमा पुग्ने गोरेटो मात्र हो। नीति र योजनाले पीच बनाएर कार्यान्वयनको साधन तीव्र गतीमा कुदाउँदै सहकारी मार्फत समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यावरणीय गन्तव्य छिचोल्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.